काठमाडौं । गत वर्ष भदौ २४ गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण जलेका छ हजार १२६ थान मिसिलमध्ये तीन हजार ३०७ थान मिसिल पुनः प्राप्त भएका छन् । उच्च अदालत पोखरामा जलेर नष्ट भएका २५७ मध्ये २५० थान र कास्की जिल्ला अदालतमा नष्ट भएका दुई हजार ६५ थान मिसिलमध्ये एक हजार ९८९ थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ ।
तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका तीन हजार ८०४ थान मिसिलमध्ये एक हजार ६८ थान पूर्णरुपमा र १५ थान मिसिल आंशिक रुपमा प्राप्त भएको उच्च अदालतका उप–रजिष्ट्रार निलप्रसाद पनेरुले जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उनको भनाइ छ । उच्च अदालतका सात, कास्की जिल्ला अदालतका ७६ र तनहुँ जिल्ला अदालतका दुई हजार ७५१ थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ । मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ ।
“आगलागीका कारण नष्ट भएका मिसिलका कागजात बुझाउन आह्वान गरेको छौँ, चालु मुद्दामा मिसिल नभई फैसलाको प्रक्रिया नै अगाडि बढ्दैन”, उनले भने , “फैसला भइसकेका मुद्दाका पनि मिसिल प्राप्त गरी त्यसको सत्यसत्य छानबिन गरी प्रमाणीकरण गरेर राख्ने गरिएको छ ।”
उनले मिसिल पुनः प्राप्त हुने क्रम जारी रहेकाले सङ्ख्यामा केही घटबढ हुन सक्ने बताउनुभयो । पुनरावेदनका लागि सर्वोच्च पठाइएका मुद्दाका मिसिल सर्वोच्च अदालतमै जलेका कारण नष्ट भएका उच्च अदालतमा मिसिलको सङ्ख्या थप बढ्ने देखिएको उप–रजिष्ट्रार पनेरुको भनाइ छ ।
आगजनीमा परी नष्ट भएका मिसिल प्राप्तिका लागि सर्वोच्च अदालतले बनाएको मिसिल कागजातको प्राप्ति र प्रमाणीकरणसम्बन्धी निर्देशिकाअनुसार मिसिल पुनः प्राप्त गरिएको हो । गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा अदालतहरुमा आगजनी हुँदा मुद्दाका मिसिलसहित महत्त्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए ।




