काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई महामन्त्री धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले बुधबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन्। उनीहरूले पार्टी नेतृत्वलाई सम्बोधन गर्दै चार बुँदे माग अघि सारेका छन्।
मागपत्रमा महाधिवेशनको मिति तत्काल तोक्नुपर्ने, विधानविपरीत भएका निष्कासन र कारबाहीका निर्णय फिर्ता गर्नुपर्ने, निर्वाचन समिति र पर्यवेक्षक टोलीमा सन्तुलन कायम गर्नुपर्ने, र दुई पूर्वअध्यक्षसहितको समाधान समिति गठन गर्नुपर्ने उल्लेख गरिएको छ।
महामन्त्रीद्वयले आफ्ना मागसहित अध्यक्षलाई औपचारिक पत्र बुझाएर बैठक बहिष्कार गरेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्। यसबीच, राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा पार्टीको धारणा, स्थानीय तह र जिल्ला अधिवेशनको प्रगति, साथै संगठन सुदृढीकरणलगायत विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको छ।
बैठकमा सहभागी अन्य नेताहरूले भने आन्तरिक विवाद समाधान र महाधिवेशन तयारीमा सहमति खोज्ने प्रयास भइरहेको बताएका छन्।




