काठमाडौँ । सरकारले राष्ट्रिय सभा निर्वाचनको प्रयोजनका लागि कूल जनसङ्ख्याको शून्य दशमलव ५ प्रतिशत भन्दा कम जनसङ्ख्या भएका जातजातिलाई मात्रै अल्पसङ्ख्यकको रुपमा तोक्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कलाई आधार मानी कूल जनसङ्ख्याको शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका दलित बाहेकका जातजातिलाई अल्पसङ्ख्यकको रुपमा तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।यस्तै आजको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८०, अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०७९ र राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।




