नेपालगन्ज । काठमाडौँबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ ।
बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहले दिएको जानकारी अनुसार बुधवार बिहान काठमाडौँबाट करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौँ फर्किएको हो ।
उनले नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुनः काठमाडौँ फर्काइएको जनाउँदै सो विमान काठमाडौँ विमानस्थलमा अवतरण गरिसकेको र इन्धन भरेर पुनः नेपालगन्ज उड्ने तयारीमा रहेको बताए ।
नेपालगन्ज विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै बुद्ध एअर नेपालगन्जले आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ ।




