काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये तीन जनाको पहिचान खुलेको छ । उक्त बस दुर्घनामा मृत्यु हुनेमा ६ पुरुष र दुई महिला रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सन्तुलालप्रसाद जैसवालका अनुसार दुर्घटनामा मृत्यु भएका म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा र धादिङको गजुरी गाउँपालिका–८ बस्ने २५ वर्षीय सविन रम्तेलको परिचय खुलेको छ । दुर्घटनामा घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जैसवालले जानकारी दिए ।
काठमाडौंबाट म्याग्दीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–२, चालिसेबाट त्रिशूली नदीमा खसेको थियो ।




