झापा । प्रख्यात भएपछि धेरैले गाउँ भुल्छन् । सहर ताक्छन् । आफ्नो संस्कृति र संस्कार बिर्सन्छन् । तर, ‘गौरादहको बजारैमा….’ गीत गाएर सदाबहार चर्चित राष्ट्रिय कलाकार सीताराम ताजपुरियाले आफ्नो गाउँ गौरादह र नेपाली संस्कृतिलाई उत्तिकै माया गर्दै आएका छन् ।
रेडियो नेपालको गायक अधिकृत पदबाट २०७१ भदौ १७ गते अवकास पाएपछि काठमाडौँको लामो बसाइ टुङ्ग्याएर उनि पत्नी लक्ष्मी ताजपुरियासँग गौरादह फर्किए । बुबाको पालामा बनेको झुपडी घर मक्किएको हुँदा जागिरबाट बचेको पैसाले गौरादह नगरपालिका–२ मा सानो नयाँ घर बनाएका छन् । अहिले त्यही घरमा ताजपुरिया दम्पती बस्दै आएका छन् ।
“धेरै गीत गाएँ, धेरै दाम चाहिँ कमाउन सकिनँ,” काठमाडौँबाट गाउँ फर्किर अवकास जीवन बिताइरहेका उनि भने, “तर धेरै नाम कमाउन पाएकोमा खुशी छु । गौरादहकै गीत गाउँदा सबैले चिने । गौरादह नै प्यारो लाग्छ ।”
झापामा राजवंशी र ताजपुरिया बढी जनसङ्ख्या भएको आदिवासी समुदाय हो । उनीहरुको आफ्नै मातृभाषा, वेशभुषा र संस्कृति छ । मातृसंस्कृति जोगाउँदै उहाँले नेपाली भाषा र लोकलयमा गीत गाएर पुर्याउनु भएको योगदान अद्वितीय छ ।




