मुख्य समाचार

स्थानीय तह निर्वाचनबारे सरोकारवाला निकायबीच गृहमा छलफल


काठमाडौँ।गृह मन्त्रालयमा सोमबार स्थानीय तह निर्वाचन पूर्वका सुरक्षा सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे छलफल भएको छ ।


गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थ सचिव मधु मरासीनी, संघीय मामला तथा सामान्य प्रशासन सचिव सुरेश अधिकारी, परराष्ट्र सचिव भरत शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश प्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, गृहको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख मुकुन्द प्रसाद निरौला, प्रवक्ता प्रदीपकुमार कोइराला र नीति योजान अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसाललगायतको उपस्थितिमा स्थानीय तह निर्वाचनका सम्बन्धमा छलफल भएको हो ।


गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बैठकमा आसन्न राष्ट्रिय सभानिर्वाचन र आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सुरक्षा सरोकार र आवश्यक पर्ने स्रोत साधनबारे छलफल भयो । ‘आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गरिने सुरक्षा व्यवस्था र आउँदै गरेको स्थानी यतहको निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे छलफल भयो,’ प्रवक्ता कोइरालाले भने ।
बैठकमा स्थानी यतह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्ने कि दुई पटक गरेर गर्ने भन्ने विषयमा छलफल भयो । गृहमन्त्रीले र सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनमा मतदाता र मत पेटिकाको सुरक्षाबारे धारणा राखेका थिए । अर्थसचिव मरासीनीले निर्वाचनका लागि आवश्यक पर्ने बजेट र सरकारसँग रहेको बजेटबारे जानकारी गराएका थिए । संघीय मामला मन्त्री श्रेष्ठ र सचिव अधिकारीले निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी र मन्त्रालयका तर्फबाट उपलब्ध गराउन सकिने कर्मचारीबारे छलफलमा धारणा राखेका थिए ।

आइतबार १२ माघमा हुनगइरहेको राष्ट्रिय सभाका १९ पदको निर्वाचनमा सुरक्षाबारे गृहमन्त्री खाणले सुरक्षा समितिको बैठकमा छलफल गरेका थिए । आज आउँदै गरेको स्थानीय तहको निर्वाचनबारे सरोकारवाला मन्त्रालयसँग छलफल गरेका हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *