कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन अन्तर्गत कञ्चनपुरका नौ स्थानीय तहका ९२ वटा वडामध्ये ३६ वडामा नयाँ नेतृत्व चयन गरिएको छ ।
शनिबारदेखि वडामा सुरु भएको सम्मेलनमा सहमतिका आधारमा नयाँ नेतृत्व चयन भएका हुन् । पार्टीका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार पुर्नर्वास नगरपालिकाका–७ र ८ बेलौरी नगरपालिका– २ र ३ बेलडाँडी गाउँपालिका–४ र २ लालझाडी गाउँपालिका–२ कृष्णपुर नगरपालिकाका–२, ३, ४, ५, ६, ७, ८ र ९ मा वडा सम्मेलनबाट नयाँ नेतृत्व चयन भएका छन् ।
यसैगरी शुक्लाफाँटा नगरपालिकामा वडा नं १, ४, ५, ८, १० र १२ बेदकोट नगरपालिकाको वडा नं २, ६ र १० भीमदत्त नगरपालिकाको वडा नं २, ३, ७, ८, ९, ११, १५ र १९ र दोधारा–चाँदनी नगरपालिकाको वडा नं ८ र १० मा वडा सम्मेलनबाट नयाँ नेतृत्व चयन भएका छन् ।
“नयाँ नेतृत्वमा महिला, दलित, जनजातिलगायत सबै वर्गको सहभागिता सुनिश्चित गरिएको छ”, नेता भट्टले भने, “वडाको नयाँ नेतृत्वमा कम्तीमा २७ जनादेखि ३५ जनासम्मको कमिटी चयन गरिएको छ ।”
बेलौरी नगरपालिका वडा नं १ मा सहमति जुट्न नसक्दा वडा सम्मेलन स्थगित गरिएको छ । सहमतिका आधारमा नयाँ नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । वडा सम्मेलन हुन बाँकी रहेका ५६ वडामा आइतबारदेखि निर्धारित समयभित्रै सम्मेलन सम्पन्न गरिसक्ने नेता भट्टले बताए ।
वडा सम्मेलनका लागि नौवटै स्थानिय तहका प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समितिसमेत गठन गरिएको छ । सहमति हुन नसकेका वडामा मात्रै निर्वाचन प्रक्रिया मार्फत पदाधिकारी चयन हुने भएका छन् । आगामी पुस ११ गतेदेखि १३ पुससम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने समय तय गरिएको छ ।
कालीकोटका सबै वडामा सम्मेलन
कालीकोट जिल्लाका सबै वडामा नेकपा(माओवादी केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । माओवादीले वडामा नयाँ नेतृत्व चयन गर्दै वडा सम्मेलन सम्पन्न गरेको हो ।
जिल्लाका नौ स्थानीय तहका ८२ वडामा नयाँ नेतृत्व चयन गर्दै वडा सम्मेलन सम्पन्न भएको जिल्ला अध्यक्ष धनजीत शाहीले जानकारी दिए ।
“पार्टी केन्द्रले तोके अनुसार नै शनिबार सबै वडामा वडा सम्मेलन सम्पन्न भएको छ”, उनले भने, “८२ वटा वडामा कुनैमा पनि निर्वाचन भएन । सबैमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।”
पार्टीको विधान अनुसार वडा सम्मेलनमा महिला, दलित र युवाको सहभागिता गरिएको अध्यक्ष शाहीले जानकारी दिए । “हरेक कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा र १५ प्रतिशत दलित सहभागिता रहेको छ ।” उनले भने, “त्यही आधारमा नेतृत्वमा सहभागिता रहेको छ ।”
त्यस्तै मङ्सिर ११ गते स्थानीय तहका पालिका सम्मेलन हुने अध्यक्ष शाहीले जानकारी दिनुभयो । “पालिकास्तरमा पनि हामी सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी रहेको छ”, उनले भने, “कुनै तहमा पनि चुनाव नगरेर सर्वसम्मत नेतृत्व चयनमा ध्यान दिइएको छ ।”
खोटाङका ६० वडामा माओवादीको नेतृत्व
नेकपा (माओवादी केन्द्र) खोटाङले जिल्लाको ७९ वडामध्ये शनिबार आयोजित वडा अधिवेशनमार्फत ६० वडामा नयाँ नेतृत्व चयन गरेको छ ।
माओवादी केन्द्र खोटाङले वडा अधिवेशन सम्पन्न गरिएका जिल्लाका ६० वटै वडामा सर्वसहमत नयाँ नेतृत्व चयन गरेको हो ।
जिल्लाका सबै वडामा शनिबार एकैसाथ वडा अधिवेशन सम्पन्न गर्ने भनिए पनि सम्बन्धित वडाका नेता तथा कार्यकर्ताको आफन्तको मृत्यु, विवाह, छेवर (ब्रतबन्ध) लगायतका कारण १९ वडामा स्थगित गरिएको माओवादीका जिल्लाका जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ले जानकारी दिए ।
“शनिबार १९ वडाबाहेक अन्य सबैमा सर्वसहत नयाँ नेतृत्व चयन गरिएको छ”, उनले भने, “नेताहरुको आफन्तको मृत्यु, विवाह, छेवर लगायतका कारण स्थगित गरिएका बाँकी १९ वटै वडामा आगामी मङ्सिर–९ गतेभित्रै अधिवेशन सम्पन्न गरिनेछ ।”
वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित हरेक वडामा २९ सदस्यीय वडा समिति चयन गरेको जनाइएको छ । अधिवेशन सम्पन्न भएका वडामा ३५ प्रतिशत महिला र दश प्रतिशत दलितको प्रतिनिधित्व अनिवार्य गरिएको उनले जानकारी दिए ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा माओवादीका दुई हजार २९१ जना नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउनेछन् । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासहित मुलुकभर माओवादीको वडा अधिवेशन आयोजना गरिएको हो ।
माओवादीले देशभर शनिबार एकैसाथ आयोजना गरेको वडा अधिवेशनको अवसर पारेर जिल्लाका विभिन्न ठाउँबाट अन्य पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश समेत गराएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा जनता समाजवादी पार्टी नेपालका वडाध्यक्ष वुद्धिराज राईसहित १४ जना र नेकपा एमालेका कमला बुढाथोकीसहित २३ जनालाई प्रवेश गराइएको युवा नेता मिलनचन्द्र राईले जानकारी दिए ।
माओवादी केन्द्रले यही मङ्सिर ११ गते पालिका, २५ गते प्रदेश तथा पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ । जिल्लामा पाँच हजार ९९५ जना सङ्गठित सदस्य र साढे पाँच हजारभन्दा बढी साधारण सदस्य रहेको जिल्ला संयोजक पृथ्वीले जानकारी दिए ।




