काठमाडौं । सरकारले अनशनरत डा. गोविन्द केसीसँग आज दिउँसो वार्ता गर्ने भएको छ । डा. केसी अनशन बसको २४ दिनसम्म मौन बसेको सरकारले बुधबार वार्ता टोली गठन गरेको थियो । तीन सदस्यीय सरकारी बर्ता टोली गठन भएपछि डा. केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बनाइएको छ ।
साढे १० बजेबाट शिक्षा मन्त्रालयमा वार्ताका सुरु भएको हो। वार्ताको पक्षमा नदेखिएको सरकारले प्रमुख प्रतिपक्षी दल, चिकित्सक संघ, राष्ट्रिय मानव अधिकार आयोग, समाजका अन्य अंग र सत्तारुढ दलकै नेताहरुको दबाबपछि बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।
सरकारको टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा सदस्य छन् । सरकारको तर्फबाट वार्ता समिति बनेको केही घन्टापछि डा. केसीको तर्फबाट पनि चार सदस्यीय वार्ता टोली बनाइएको थियो ।
केसीका तर्फबाट बनेको टोलीमा डा. जीवन क्षेत्रीको नेतृत्वमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।




