काठमाडौँ । डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिँदै आएको ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मा एक आकर्षक तथा उपयोगी फिचर थप गरेको छ । बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम रकम लोड गर्ने सुविधा उपलब्ध गराएको हो ।
यो नयाँ सुविधासँगै अब ग्लोबल आइएमई बैंकका ग्राहकहरूले अन्तर्राष्ट्रिय अनलाइन किनमेल, विभिन्न सेवाहरूको सदस्यता शुल्क भुक्तानी जस्ता कार्यका लागि आवश्यक अमेरिकी डलर आफ्नै मोबाइलबाट तुरुन्तै कार्डमा लोड गर्न सक्ने भएका छन् । भिसा ब्रान्डको यो कार्ड अन्तर्राष्ट्रिय कारोबारका लागि मान्य हुने बैंकले जनाएको छ ।
रियल टाइम लोड सुविधा उपलब्ध भएसँगै डलर कार्डमा रकम जम्मा गर्न बैंकको शाखा कार्यालयसम्म पुग्नुपर्ने झन्झट पूर्ण रूपमा अन्त्य भएको छ । मोबाइल एपबाटै तत्काल रकम लोड गर्न सकिने भएकाले अनलाइन किनमेल, अन्तर्राष्ट्रिय सब्स्क्रिप्सनहरू र अन्य डिजिटल सेवाहरूको भुक्तानी अझ सहज र सरल हुने भएको छ । यसले ग्राहकहरूको समय, ऊर्जा र लागतमा बचत गर्नुका साथै विश्वव्यापी अनलाइन कारोबारमा सहज पहुँच प्रदान गर्ने बैंकको विश्वास छ ।
बैंकका अनुसार भर्चुअल डलर कार्ड जारी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ भने कार्डको वार्षिक नवीकरण शुल्क तीन सय रुपैयाँ तोकिएको छ । तर, मोबाइल बैंकिङमार्फत डलर कार्डमा टप-अप गर्दा भने कुनै अतिरिक्त शुल्क लाग्ने छैन । ई-कम डलर कार्डमार्फत वार्षिक अधिकतम ५ सय अमेरिकी डलरसम्मको कारोबार गर्न सकिनेछ। यो सेवा लिन इच्छुक ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एप प्रयोग गरी सजिलै अनलाइन आवेदन दिन सक्नेछन् ।
‘ग्लोबल स्मार्ट प्लस’ एपले बैंकिङ सेवालाई छिटो, सुरक्षित र प्रयोगमैत्री बनाउँदै आएको छ। यस एपमार्फत खाताको व्यवस्थापन, रकम ट्रान्सफर, बिल भुक्तानी, क्यूआर पेमेन्ट, वालेट लोडलगायतका विभिन्न सेवाहरू सहज रूपमा उपलब्ध छन्। अब यसमा थपिएको रियल टाइम डलर कार्ड टप-अप सुविधा विशेष आकर्षणको रूपमा रहने बैंकको दृढ विश्वास छ ।
उल्लेखनीय छ, ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई महत्वपूर्ण विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भइसकेको छ। साथै, बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरक-फरक विधामा सम्मानित हुँदै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई विविध बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि सहज रूपमा उपलब्ध गराउँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य विभिन्न देशहरूबाट विप्रेषण भित्र्याउने कार्य गर्दै आएको छ ।




