अर्थ

साउनमा बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर

काठमाडौँ ।चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख रुपैयाँ बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ बराबर राजस्व उठेको हो। चालु आवको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको दुई दशमलव १६ प्रतिशत र आम्दानी छ दशमलव ५९ प्रतिशत बराबर हो ।

एक महिनामा चालुतर्फ १२ अर्ब ३८ करोड २२ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ आठ अर्ब ५५ करोड ४८ लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४३ प्रतिशत बराबर छ। त्यस्तै, पुँजीगततर्फ वार्षिक लक्ष्यको पाँच दशमलव २५ प्रतिशत अर्थात् रु १९ अर्ब २७ करोड छ लाख बराबर खर्च भएको छ। चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख, पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन गरेको छ।

सरकारले चालु आर्थिक वर्षका लागि रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य छ । कर राजस्व रु १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व रु एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान रु ५२ अर्ब ३२ करोड ६५ लाख बराबर उठाउने लक्ष्य छ । चालु आर्थिक वर्षको पहिलो महिना सरकारले वैदेशिक अनुदान लिएको छैन । साउन महिनाको कुल संकलित राजस्वमध्ये कर राजस्व रु ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व रु १७ अर्ब ३३ करोड छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *