अर्थ

सहकारी पीडितको ७७ करोड २४ लाख बचत सरकारले फिर्ता गरेको प्रधानमन्त्री दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता गरेको दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद जीवन परियारको प्रश्नमा यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डका अनुसार सहकारी संस्थाका बचतकर्ताहरूबाट ५९ हजार ५ सय ८७ माग दाबीको निवेदन परेको छ । सोही आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार ७८० को दायित्व एकिन गरी यसमध्ये हालसम्म ७७ करोड २४ लाख ४६ हजार ४५८ वचत रकम पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको हो ।

‘हालसम्म २० सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समिति मार्फत बचत फिर्ताको प्रक्रिया अगाडि बढाइएको छ। तीन समस्याग्रस्त सहकारीको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी गरी बचत भुक्तानी गर्ने कार्य सम्पन्न भएको बताउँदै उनले नेपाल राष्ट्र बैंक समेतको संलग्नतामा सहकारी बैंक लगायत ठूला कारोबार गर्ने ९ संस्थाको अनुगमन कार्यसम्पन्न भइ वित्तीय अवस्था मजबुत पारी सुशासन र प्रभावकारी सञ्चालनको लागि निर्देशन समेत दिएको प्रधानमन्त्ती प्रचण्डको भनाइ छ ।

‘नेपाल राष्ट्र बैंक समेतको संलग्नतामा सहकारी बैंक लगायत ठूला कारोबार गर्ने ९ संस्थाको अनुगमन कार्यसम्पन्न भइ वित्तीय अवस्था मजबुत पारी सुशासन र प्रभावकारी सञ्चालनको लागि निदेर्शन दिएको छ। छुट्टै नियमक निकाय स्थापना गर्ने,सहकारी कर्जा सुरक्षण कोष स्थापना गर्ने छुट्टै कानूनी प्रक्रिया अगाडि बढाइएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसका लागि बजेट समेत सुनिश्चित गरिएको छ। प्रदेश तथा स्थानीय सरकारहरुसँग सहकारी समस्या समाधानको लागि विषयगत समिति गठन गरिएको छ।’

प्रधानमन्त्तीेले सहकारी नीतिको परिमार्जित मस्यौदा तयार भएको र सहकारी ऐनमा समेत संशोधनको तयारी गरेको बताए । ‘ठूलो कारोबार गर्ने सहकारीहरूलाई नियमन र सुपरीवेक्षण गर्न प्राधिकरण गठनका लागि कानूनको मस्यौदा भइरहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *