काठमाडौं । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सञ्चालक भविश्वर अर्याललाई जेल चलान गरिएको छ। बुधबार कास्की जिल्ला अदालतले सुनुवाइपछि पुर्पक्षका लागि थुनामा राख्न उनीहरुलाई आदेश दिएको स्रोतले जनाएको छ । न्यायाधीश वसन्तजंग थापाको एकल इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। गत भाद्र २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका उनीहरुले मंगलबार अदालतमा हाजिर भएका थिए ।
जेल चलान भएका गुरूङ प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट युवा संघ नेपालका केन्द्रीय उपमहासचिव रहेको खुलेको छ। सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेपछि पुर्पक्षका जेलमै छन् ।
पोखरामा गितेन्द्र (जीबी) राई अध्यक्ष रहेको समूहले खोलेको सूर्यदर्शन सहकारीमार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपश्चा जिबी राईसहित १९ मध्ये चार थुनामा पुगेका छन् भने अझै १५ जना फरार सुचिमा नै रहेका छन् । जिल्ला अदालत कास्कीमा दर्ता सहकारी ठगी मुद्दा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको छ।
छानविन प्रतिवेदनका अनुसार विगतमा संचालनमा रहेको र हाल बन्द भएको ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष रहेका जीबी राईले पोखराको सूर्यदर्शन सहकारीबाट १० करोड रुपैयाँ गैरकानुनी रूपमा लिएका थिए । उक्त सहकारी प्रकरण राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेको नाम समेत उक्त प्रकरणमा आएको तर उनले आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् । उक्त सहकारी प्रकरणमा समाचार प्रकारशन गर्ने कान्तिपुर र इ –कान्तिपुरको विरुद्धमा अदालतमा मुद्धा दर्ता गरेका छन् ।




