काठमाडौं उपत्यकामा दुई वर्षअघि एउटा सटर र कोठा पाउन ६ महिना धुइँधुइत्ती खोज्नुपथ्र्यो । बाहिरी जिल्लाको अवस्था पनि त्यस्तै थियो । खाली सटर र कोठा पाउन पहिले नै बुकिङ गर्नुपथ्र्यो ।
कोठा पाउनेबित्तिकै बैना तिर्नुपर्ने हुन्थ्यो । खाली सटर २०–५० लाखमा बिक्री हुन्थ्यो । एउटा कोठाको ठाउँ हेरेर पाँच हजारदेखि २० हजार रुपैयाँ तिर्नुपथ्र्याे । फ्ल्याटको ठाउँ हेरेर २५ हजारदेखि लाखसम्म मासिक भाडा बुझाउनुपथ्र्यो । लाखौं रुपैयाँसम्म भाडा तिरेर सटर लिनेहरू पनि थिए । महाबौद्ध, इन्द्रचोकलगायत व्यापारिक एरियामा एउटा सटरको मासिक लाखौं रुपैयाँ भाडा तिर्नुपथ्र्यो ।
घरधनीहरूले प्रत्येक तीन महिनामा भाडा बढाउँथे । बढाएको भाडा तिर्न मानेनन् भने कोठाबाट निक्लिन लगाइहाल्थे । पुरानालाई निकालेर नयाँलाई दोब्बर भाडामा लगाउने गरिन्थ्यो । राज्यलाई घरबहाल कर नतिर्ने अनि बहालमा बस्नेसँग महँगो भाडा लिने । सेवासुविधा केही नदिने, भाडाचाँहि दोब्बर असुल्ने । दुई वर्षअघि व्यापार पनि मज्जाले चलेको थियो । आम्दानीको स्रोत पनि राम्रै थियो । काम पनि छ्याप्छ्याप्ती पाइथ्यो । कामदारहरूले तलब पाइरहेका थिए । पैसा भएपछि खर्च गर्न कुन ठूलो कुरा भयो र ? सबै कुरा राम्रै चलिरहेको थियो ।
सटर लिएर व्यापार व्यवसाय गर्नलाई हानाथाप हुन्थ्यो । तर, अहिले परिस्थिति ठ्याक्कै फेरिएको छ । बजारमा पूरै मन्दी छाएको छ । व्यापार व्यवसाय धमाधम बन्द हुँदै गइरहेको छ । रोजगारीको अभाव हुन थालिसकेको छ । हिजो भारी बोकेर पनि राम्रै आम्दानी गर्दै आएकाहरू काम नपाएर मर्कामा परेका छन् । अधिकांश बेरोजगार बनिसकेका छन् । आफ्नो व्यापार व्यवसाय ठप्प बनेको भन्दै साहुहरूले कामदारहरूलाई धमाधम जागिरबाट हटाउन थालेका छन् । सस्तोमा काम गर्छु भन्दा पनि काम पाउन सक्ने अवस्था छैन् । यहाँ बस्ने नसक्ने देखिएपछि अधिकांश आफ्नो जन्मथलो फर्किए ।
दिनमा लाखौंको व्यापार गर्ने साहुजीहरूलाई अहिले बोनी गर्न पनि महाभारत छ । कुनै दिन त बोनी नै हुँदैन । कुनै दिन एक दुई हजारको व्यापार हुन्छ । उनीहरूलाई व्यापारको अवस्था देखेरै दिक्क लागिसकेको छ । कतिपय व्यापारी त आफ्नो व्यापार व्यवसाय छोडेर विदेश पलायन भइसकेका छन् । हरेक चोक, गल्लीमा कोठा, सटर खाली भनेर लेखेको देखिन्छ । सामानसहित पसल बिक्रीमा भनेर पोस्टर टाँसेको पनि छ्याप्छ्याप्ती देखिन्छ । टु–लेट लेखेको पोस्टर टाँसेको घर त कति हो कति । पसलेहरू भन्छन्, ‘सामान किन्न पसलमा कोही छिर्दैनन् । मान्छेसँग पैसा छैन ।’
कसरी सटर भाडा तिर्ने ? गुजारा कसरी गर्ने ? भनेर चिन्तित छन्, व्यापारी । नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाइरहेको बताउँदै आएको छ । तर, त्यो पैसा बजारमा घुमिरहेको छ त ? यसबारे राष्ट्र बैंकले कुनै अध्ययन गरेको छैन । आमनागरिकले पैसा लुकाइसके तैपनि राष्ट्र बैंकलाई कुनै जानकारी नै छैन । बजारमा तरलताको अभाव छ । बैंकको पैसामा सीमित व्यक्तिले राज गरेका छन् । जसकारण बैंकहरू नै टाट पल्टिन बेर छैन । सहकारीको अवस्था त सबैलाई थाहा नै छ । रातारात सहकारी भागिरहेका छन् । बचतकर्ताहरूको बिचल्ली भएको छ ।
जनताले पटकपटक एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाउनुपर्छ भनेर माग गरिरहेका छन्, तर सरकारलाई चासो नै छैन । बजारमा किन मन्दी आयो ? व्यापार व्यवसाय किन सुक्यो ? बैंक तथा वित्तीय संस्था किन टाट पल्टियो ? यसबारे सरकारले अध्ययन गरेको देखिन्न । जग्गाको कित्ताकाट नहुँदा बजारमा मन्दी आयो भन्ने एउटा मानसिकता घरजग्गा दलालहरूले विकास गरिदिएका छन् ।
कित्ताकाट नहुँदा राजस्व उठेन, त्यसैले मन्दी आयो भनेर विश्लेषण गरिँदै आएको छ ।घरजग्गा दलालले कित्ताकाट खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, अर्थमन्त्री डा.प्रकाशशरण महतलाई दबाब दिइरहेका छन् । सरकारले उनीहरूको कुरा सुनेर जग्गाको कित्ताकाट खोल्यो । तर अझै बजारको मन्दी हटेको छैनअहिले लुगा पसलमा कोही छिर्दैं छिर्दैंन । ब्यूटीपार्लर व्यवसाय पनि सुकेको छ ।
मान्छे बाँच्ने प्रमुख आधार भनेको खाना हो । लुगा त पुरानै लगाए पनि भइहाल्यो । औषधि पसल र खाद्यान्न पसल अलिअलि चलेको छ । डेरी र माछामासु पसलले पनि केही हदसम्म आम्दानी गरिरहेका छन् । अन्य व्यापार व्यवसायको त कुरै नगरौं । सामान किन्ने मान्छे नभएर उनीहरू तनावमा छन् । सर्वसाधारणले जसरी हुन्छ, खर्च कटौती गर्दै लगिरहेका छन् । बाहिर खान जाने, घुम्न जाने, फजुल खर्च गर्ने क्रम रोकिएको छ । खाद्यान्नको मूल्य हप्तैपिच्छे बढिरहेको छ ।
एकातिर महँगी ह्वात्तै बढेको छ अर्कोतिर बेरोजगारी । बिहानबेलुका गुजारा गर्न नै धौं धौ परिसकेको अवस्था छ । देश निरन्तर व्यापार घाटामा गइरहेको छ । निर्यात ठप्प छ, आयात बढेको बढ्यै । चाहिँदै नचाहिने सामानसमेत आयात गरिएको छ । महँगामहँगा चकलेट किन चाहियो ? विदेशी रक्सी किन आयात गर्नुपर्यो ? तास किन ल्याउनुपर्यो ? खान नपाउने बेलामा महँगा गाडी किन चाहियो ? यस्ता कुरामा सरकारले प्रतिबन्ध लगाइदिनुपर्छ ।
सरकारले सामान्य कुरा पनि नबुझ्दा मुलुक विदेशी ऋणको दलदलमा फस्दै गइरहेको छ । नेपालको खाद्यान्न, तरकारी भारतमा निर्भर छ । भारत अब चामल निर्यात नगर्ने निष्कर्षमा पुगिसकेको छ । अब नेपाली जनताले के खान्छन् ? नेपालीहरू किनेर खान तयार छन्, तर गरेर खादैनन् । अब सरकारसँग दुइटै उपाय छ । पहिलो, जग्गाको कित्ताकाट रोकिदिने । खेतीयोग्य जमिनमा घर र बाटो बनाउन दिँदा आज मुलुक अरुमाथि भर पर्नुपर्ने अवस्था बन्यो । सरकारले बेलैमा ध्यान दिएको भए आज नेपाल अरुको गुलाम बन्नुपर्दैनथ्यो । दोस्रो, अब कुनै पनि जमिन बाँझो राख्न नदिन सरकारले नीति बनाउनुपर्छ ।
सबै जमिनमा अहिले नै खेती गर्न सुुरु गर्यो भने खाद्यान्न संकटबाट बच्ने आधार बन्ला । होइन भने भोलि यहाँ भोकमरी लाग्छ । जग्गा बेच्नेले पनि खानुपर्छ, जग्गा किनेर घर बनाउनेले पनि खानैपर्छ । सिमेन्ट, ढुंगा, गिट्टी चपाउने कुरा भएन । सरकार सबैतिरबाट घेराबन्दीमा परेको छ । देशलाई बलियो बनाउनभन्दा पनि सत्ता जोगाउनैतिरै सरकार केन्द्रीत बनेको देखियो ।




