राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड को–अपरेटिभको वर्षौंदेखि चल्दै आएको ठगीधन्दा खुलस्त भएको छ । सिन्सियरमा बचत भएका बचतकर्ता कतै आफ्नो रकम डुब्ने त होइन्? भनेर पिरोलिएका छन् । यद्यपि, सिन्सियरले पीडित बनाएकाहरु खुसी भएका छन् । सिन्सियरले हजारौंलाई पीडित बनाएको थियो । ढिलो भएपनि सिन्सियरको कालो कर्तुत बाहिर आएकोमा अधिकांश हर्षित देखिन्छन् । दुई करोड बजारी मूल्याकंनको घरजग्गा रोक्का राखेर सिन्सियरले एक करोड रुपैयाँ कर्जा दिन्छ ।
त्यो एक करोड कर्जा दिएकोबापत १० लाख रुपैयाँ घुस खाने, सेयर भिडाउने र दुई प्रतिशत सेवाशुल्क लिने । ऋण लिएकाले तीन किस्ता नतिर्नेबित्तिकै दुई करोडको घरजग्गा खाइदिन्छन् । दुई करोडको धितो राखेर एक करोड लियो, ऋणीले । तर, १० लाख रुपैयाँ घुस दिँदा जम्मा ९० लाख रुपैयाँ हात पर्छ । तीन किस्ता नतिर्नेबित्तिकै सिन्सियरले दुई करोडको धितो पचाइदिन्छ । सोही धितो अर्कोलाई बेच्ने र नाफा खाने । ऋणी परिवर्तन गरेर सेवाशुल्क र घुस खाने ।
घरजग्गा लिलाम गरेपछि सिन्सियरले आफ्नो पैसा कटाएर बढी भएको फिर्ता दिँदैन् । ऋणी त सडक छाप नै भइहाल्यो । अर्कोले पनि तिर्न सकेन् भने उसको अवस्था पनि त्यस्तै हुन्छ । सेयर, ट्याक्सीलगायत अन्य धितोमा घुस खाएर कर्जा दिने गरेका छन् । घुस नदिने, बढी सेवाशुल्क र महँगो ब्याज नतिर्नेलाई सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मिरा कर्माचार्यले ऋण नै दिँदैनन् । पढेलेखेका, बाठाटाठा र आफन्तहरु बलियो भएमा कर्जा पाँइदैन् ।
कर्जा दिने बेलामा उसको ‘ब्याकग्राउण्ड’ हेर्ने गर्दछन् । भोलि आफूलाई अप्ठ्यारो पार्नेलाई यिनीहरु कर्जा दिँदैनन् । अशिक्षित, आर्थिक अवस्था कमजोर भएका, आपतविपतमा परेका र पछाडि कुनै ठूलो व्यक्तिको आड नभएकालाई सिन्सियरले कर्जा दिन्छ । सिन्सियरका तीन हर्ताकर्ताको योजना एउटै छ,‘भोलि जसको धितो सजिलै पचाउन सकिन्छ त्यसलाई ऋण दिने । बोल्न नसक्नेलाई कर्जा दिने । नातेदारको अवस्था के कस्तो छ ? भोलि आफूलाई अप्ठ्यारोमा पार्छ कि पार्दैन् ?’, यो हेरेर सिन्सियरले ऋण दिन्छ ।
सिन्सियरबाट ऋण लिन ऋणी नपढेको, आवाज उठाउन नसक्ने खालको हुनुपर्छ । तर, धितो चाँहि टन्नै हुनुपर्छ । सिन्सियरले अहिलेसम्म यसरी नै लुट्दै आएको छ । करोडपतिको धितो खाइदिएर सडकपति बनाइदियो । त्यही धितो अर्कोलाई ऋणी परिवर्तन गरेर सिन्सियरले उसलाई पनि विस्थापित गरिदियो । ५० लाखको जग्गामा घुस खाएर ३० लाख दिन्छ । तीन किस्ता नपाउनेबित्तिकै त्यो जग्गाको ऋणी ट्रान्सफर गरिदिने । तर, ऋणीले नवीकरण गरिदिनु म तिर्छु, आफ्नो जेथो निखान्छुभन्दा पाँउदैनन् ।
किस्ता तिर्ने म्याद पनि पाँउदैनन्, ऋणीले । अर्कोलाई ६० लाखमा भिडाउने त्यहाँ पनि घुस र सेवाशुल्क खाने । ऋणीहरुलाई फसाएर सिन्सियरका हर्ताकर्ताले अंकुत सम्पत्ति कमाएको छ । २०५७ मंसिर २९ गते सहकारी विभागबाट सिन्सियर दर्ता भयो । सिन्सियर दर्ता हुने बेलामा राजेश बजार प्रतिनिधि थिए । उनी पसलमा पैसा उठाउन जान्ँथे । व्यापारीहरुले पाँच लाख रुपैयाँ गनेर लैजान राजेशको हातमा दिन्थे । उनले त्यहाँ गन्दागन्दै भुल्लाइदिन्थे र पैसा झ्वाम्म पारिदिन्थे ।
१० लाख पैसा लिन गएका उनले ९ लाख ९८ हजार बनाइदिन्थे । दुई हजार आफ्नो खल्तीमा हाल्थे । विगतदेखि नै उनले यसरी नै व्यापारीको आँखामा धुलो झोक्दै आएका थिए । शुरुका दिनदेखि नै उनले व्यापारीलाई झुक्काउन सिके । पछि सिन्सियरले उनलाई बजार प्रतिनिधिबाट हटाएर यातायात कार्यालय, मालपोत कार्यालय जाने जिम्मा दिए । जग्गा रोक्का राख्न मालपोत र गाडी रोक्का राख्न यातायात कार्यालय जानुपर्थ्यो । त्यहाँ जाँदाजाँदै उनले जग्गा दलालीदेखि लिएर ठूल्ठूला व्यापारीहरु चिने । अनि उनले घुस खान शुरु गरे । सिन्सियरको सञ्चालक समिति र सेयरहोल्डरमा अन्य थुप्रै काठमाडौंबासी थिए । तर, राजेन्द्र र राजेशको कर्तुत थाहा पाएपछि उनीबाट त्यहाँबाट निक्लिए । कुनैले बैंक त कुनैले फाइनान्स सञ्चालनमा ल्याए । उनीहरु निस्किएपछि राजेशले कार्यकारी सञ्चालक पाए । त्यसपछि यी दुईले मिरालाई कर्जा अधिकृतको रुपमा ल्याए । राजेन्द्रभक्तको नातेदारमध्येमा पर्छिन्, मिरा । १५ वर्षअघि मिरा बालाजुको एउटा निजी अस्पतालमा काम गर्थिन् ।
राजेन्द्रभक्तले अस्पतालको जागिर छुट्टाएर शुरुमै कर्जा अधिकृतको जिम्मेवारी दिए । मिराले त्यो जिम्मेवारी पाउनेबित्तिकै अन्य दुईलाई घुस खान सहज भयो । मिराले घुसको कुरा मिलाउने अनि तीनै हर्ताकर्ताले बाँडेर खाने । साना व्यापारीसंग घुस, सेवाशुल्क र ब्याजको कुरा मिलाउने जिम्मा मिराले पाएकी थिइन् । करोडौं कर्जा चाहिएकोसंग राजेशले नै ‘डिलिङ’ गर्थे । राजेन्द्रभक्तचाँहि थाहा नपाएजसरी बस्ने अनि दुई जनाले ल्याएको पैसा बाँडीचुँडी खाने ।
जनताको पैसा कर्जा दिएर सिन्सियरले ऋणीलाई ऋण दिएर चुलुम्मै पारे । कमाउनेमा यिनीहरु पर्यो तर हजारौंको बिल्लीबाठ भयो । संस्था त नाफामा गयो । तर, त्यो नाफा पछाडिको रहस्य अन्यलाई के थाहा ? ऋण तिर्ने अवधि तीनदेखि पाँच वर्षको हुन्छ । कागजातमा तोकिएको अवधिलाई लत्याएर विभिन्न बहानाबाजी गरेर उनीहरुले पाँच–५ महिनामै ऋण उठाइसक्छन् । ऋणीले किस्ता तिर्ने समय नै पाँउदैन् । २०५७ सालअघि राजेशको पुख्यौली सम्पत्ति कति थियो ? बेच्दा गरी जम्माजम्मी २० लाख रुपैयाँ आँउथ्यो । तर, अहिले उनको सम्पत्ति कति छ ? उनले सिन्सियरमै बसेर ६० देखि ७० करोड रुपैयाँ कमाएका छन् ।
राजेशलाई चिन्ने अधिकांश उनको सम्पत्ति देखेर आश्चर्यचकित पर्छन् । उनले यत्रो पैसा कसरी कमाए ? लुकेको छैन् । उनले घुस खाएरै यत्रो सम्पत्ति जोडे । मिराले सिन्सियरमा जागिर खाएको १४ पुगेर १५ वर्ष लाग्यो । एउटा कर्जा अधिकृतको हैसियतमा बसेकी उनको सम्पत्ति पाँचदेखि सात करोडको छ । घुस खाएर उनले यत्रो सम्पत्ति जोडिन् । घरजग्गा धितो राखेर सिन्सियरबाट ऋण लिएकाहरुको घरजग्गा राजेन्द्रभक्त आफैंले राखेका छन् । आफूलाई चित्त बुझेको, मनपरेको र भोलि बेच्दा धेरै मूल्य आउने घरजग्गा अझैपनि उनको मातहतमै छ ।
यसरी नै राजेन्द्रभक्तले धेरै ठाँउमा घरजग्गा जोडेका छन् । उनको सम्पत्ति गनि र भनिसाध्य छैन् । उनको जन्मथलो काठमाडौंको इन्द्रचोक हो । उनी जन्मेको, हुर्केको, पढेको सबै त्यहीबाट हो । सिन्सियर दर्ता गर्नुअघि उनी पूरानै घरमा बस्थे । वालुवाटारको जग्गा धितो राखेर ऋण लिएको व्यक्तिले ऋण तिर्न नसकेपछि छोडिदिए । पछि त्यही जग्गामा घर बनाएर उनी वालुवाटार सरे । सिन्सियरको कालो कर्तुत बाहिर आएपछि बचतकर्ता जागरुक भइसकेका छन् ।
योसंगै सिन्सियरका तीन हर्ताकर्ता आफ्नो सम्पत्ति लुकाउनतर्फ लागेका छन् । घुस खाएर यिनीहरुले जति पनि सम्पत्ति कमाएका छन्, त्यो आफ्नो आफन्तको नाममा नामसारी गर्न यिनीहरुलाई हतारो भएको छ । घुस खाएको पैसा बचाउन र आफू राज्यको आँखाबाट जोगिनका लागि यिनीहरु सम्पत्ति नामसारी गर्न तम्तयार भएका छन् । राजेन्द्रभक्त, राजेश र मिरालाई दौडधुप भएको छ । यस्तै खराब नियत भएका व्यक्तिहरुका कारण सहकारी क्षेत्र बदनाम भएको छ ।
सहकारीका सञ्चालकले घुस खाएर, बढी सेवाशुल्क लिएर मँहगो ब्याजमा कर्जा दिँदा सर्वसाधारणहरु ज्युँदै जल्नुपर्ने अवस्था सिर्जना भएको छ । सहकारीले जसरी भएपनि आफ्नो ऋण त उठाइहाल्छ तर त्यसले पनि नपुगेर ऋणीहरुलाई मानसिक तनाव दिन्छन् । वित्तीय संस्थाबाट ऋण लिएरहरु धमाधम आत्महत्या गर्दैछन् । कि भाग्नुपर्ने, कि पेट्रोल खन्याएर आफ्नै शरीर आगो लगाउनुपर्ने कि झुण्डिनुपर्ने । सिन्सियरका कारणले पनि अधिकांश ऋणीको अवस्था यस्तै बनेको छ ।
बचतकर्तालाई मान्छे हेरेर सातदेखि १२ प्रतिशत ब्याज दिने । अलिक बाठाटाठा छन्, बोल्न सक्छन् भने १२ प्रतिशत ब्याज दिन्छ । सीधासाधीले सात प्रतिशतमै चित्त बुझाउनुपर्छ । कुनैलाई तीन महिनामा ब्याज दिन्छु भन्ने कुनैलाई ६ महिनामा । त्यही पैसा घुस खाएर २२ देखि ४८ प्रतिशतमा कर्जा लगानी गर्ने । बचतकर्ता होस् या ऋणी दुई जनालाई राखेर कहिल्यै कुरा गर्दैनन् । एउटाले कति ब्याज पाएको छ, अर्कोलाई थाहा हुँदैन् । कहिल्यै भेट्न दिँदैनन् ।
बचतकर्ता डुबे, ऋणी सुकुम्बासी बने । बचतकर्ताले थोरै ब्याज पाए, ऋणी त्यही ब्याजको भार थेग्न नसकेर विस्थापन हुनुपर्यो । सरकारले सिन्सियरका तीन हर्ताकर्ताको सम्पत्ति छानबिन गर्नुपर्छ । शुद्धिकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सहकारी विभाग र महानगरपालिकाले यिनीहरुले यत्रो सम्पत्ति कसरी जोडे ? यो खोजतलास गर्नुपर्छ । सिन्सियरबाट पीडित बनेकाजत्ति सबैको माग हो यो । हिजो जतिको उठीबास लागेको छ तिनले न्याय पाउनुपर्छ । सिन्सियरजस्ता सहकारीका कारण समग्र क्षेत्र नै बेइज्जत बनेको छ ।
अनुसा थापा
भक्तपुर




