काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धी बैंक तथा वित्तीय संस्थालाई नयाँ व्यवस्था गरेको छ । बैंकले बुधबार भर्चुअल पत्रकार सम्मेल गर्दै बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको हो ।
यस मार्गदर्शन अनुसार राष्ट्र बैंकले सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँचवटा किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी मार्गदर्शन संशोधन भएको छ । १ करोड रुपैयाँसम्मको चालु पुँजी कर्जा लिँदा भने मार्गदर्शनमा भएको व्यवस्था लागु हुने छैन । यसअघि यो ५० लाख रुपैयाँमा सीमित थियो।
यस मार्गदर्शन अनुसार फर्म, संस्था, कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने २ करोडसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबारको अधिकतम २५ प्रतिशत रकम कुल चालूपुँजी कर्जा सीमा कायम गर्नुपर्ने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।
यस्तो कर्जाको अवधि एक वर्ष वा सोभन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने उनले जानकारी दिए । त्यस्तै, २ करोडमाथिको हकमा राष्ट्र बैंकले वार्षिक कारोबारको २५ प्रतिशतसम्म मात्र दिन सकिने व्यवस्था गरेको छ । यस्तो ऋणको अवधि बढीमा एक वर्षको हुनेछ ।
चालु पुँजी प्रयोजनको आवधिक कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा पाँच वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा तीन वर्षको लेखापरीक्षण भएको विवरणको विश्लेषण गरी कर्जा दिन सकिने बैंकले जनाएको छ ।
त्यसैगरी व्यावसायिक कारोबार सुरु भएको तीन वर्षभन्दा कम अवधि भएका वा नयाँ कम्पनीको हकमा कर्जाको सीमा निर्धारण गर्दा कम्तीमा पाँच वर्षको अनुमानित वित्तीय विवरण र कम्तीमा तीन वर्षको लेखापरीक्षण भएको हुनुपर्नेछ ।
त्यसका आधारमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालूपुँजी कर्जा सम्बन्धी नीति बमोजिम सीमा निर्धारण गर्ने प्रवक्ता भट्टले जानकारी दिए ।




