अर्थ

अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : दुई वर्षमा तीन अर्ब बचत

काठमाडौँ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर २०७६ भदौदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सुरु गरेको हो ।

दुई वर्षको अवधिमा पाइपलाइनबाट एक अर्ब ६१ करोड लिटर डिजेल आयात गरिएको छ । आर्थिक वर्ष २०७६/७७ मा ४८ करोड ८५ लाख लिटर, आव २०७७/७८ मा एक अर्ब ३१ तथा चालू आवको हालसम्ममा १२ करोड ४४ लाख डिजेल आयात भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिएका छन् । निगमले सोही पाइपलाइनबाट दैनिक एक लाख ५० हजार किलोलिटर डिजेल आयात गर्दै आएको छ ।

पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्न थालेपछि ढुवानीबापत रु तीन अर्ब २३ करोड २२ लाख १६ हजार बचत भएको पौडेलले बताए । पेट्रोलियम पदार्थको ढुवानी भाडा र प्राविधिक नोक्सानी कम हुँदा निगमले सो बराबरको बचत गर्न सकेको उनले बताए । परियोजना सञ्चालनमा आएपछि उपभोक्तामा पेट्रोलियम पदार्थ अभाव हुँदैन भन्ने अनुभूति भएको, ढुवानीकर्ताले खेप्नुपर्ने सास्ती हटेको र परियोजना समयमा सम्पन्न गरेर जी–टू–जी मोडलको सफल परियोजनाको रुपमा एउटा उदाहरण बन्न सफल भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाले निगमको प्राविधिक रुपान्तरणको प्रतिनिधित्व गरेको पौडेलको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *