काठमाडौं । पठाओ नेपाल प्रालिले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि प्रयोग गर्दै आएको पठाओ अंकित कपडामा रोक लगाउने निर्णय गरेको छ।
कोरोनाको समयमा सरकारले जारी गरेको सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओले राइडर र सेवाग्राहीको स्वास्थ्य सावधानीलाई मध्यनजर गर्दै राइडरलाई राइडको समयमा अनिवार्य गराएको ‘प्रेटेक्टिभ गेयर’ (ज्याकेट र ट्राउजर सहितको कपडा) तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो।
पछिल्लो समयमा पठाओ सेवालाई थप ब्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार अफलाइन राइडको विकृति निरुत्साहित पार्न यस्तो निर्णय भएको पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए। उनले राइड सेवा भने निर्वाध चल्ने बताएका छन्। सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारबाही हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने उनको भनाइ छ।
सोमबार राजधानीमा पठाओ राइडर र ट्याक्सी चालकबीच झगडा भएपछि प्रहरीले यसको व्यवस्थापनमा चासो दिएको हो।
ट्याक्सि चालकहरुले पठाओलाई प्रतिस्पर्धी मान्दै त्यसको विरोध गर्दै आएका छन्।





