लम्की । विगतमा परम्परागत रूपमा धान र मकै लगाउने कृषक अहिले आलुलाई मुख्य बालीका रूपमा लगाउन थालेका छन् । परम्परागत रुपमा लगाइने मकै र धान खेतीबाट न्यून आम्दानी हुन थालेपछि उनीहरुले आलुलाई मुख्य बालीका रुपमा लिन थालेका हुन् । जिल्लाका कृषकका लागि आलु मुख्य आयस्रोतका रुपमा रहेको छ । आलु नगदे तरकारी बाली पनि हो । सिँचाइको सुविधा नहुँदा बाँझो रहने यहाँका खेतमा किसानले आलु रोप्न थालेका छन्।
कात्तिक, मङ्सिर महिनामा रोपिएको आलु अधिकांश किसानले माघ महिनादेखि फागनुसम्म खन्ने गर्दछन् तर, कैलालीको बनगाउँका कृषक आजभोलि आलु रोप्न थालेका छन् । कृषक बलीराम चौधरी आलु रोप्दै छन् । उनले डेढ बिघा क्षेत्रफलमा कार्डिनल र टिपीएस जातको आलु रोपिरहेका छन् । “कात्तिकमा लगाएको सबै आलु सडेर गयो, दुई बिघामा आलु रोपेका थिए, लगातारको पानीले नष्ट भयो”, उनी भन्छन् “लगानी र मेहनत दुवै नष्ट भयो । तरकारी के खाने रु त्यसैले अहिले फेरि आलु लगाउन थालेको हुँ ।”
बनगाउँकै अर्का कृषक खुशीराम चौधरी पनि एक बिघा क्षेत्रफलमा आलु रोप्दै छन् । अहिले रोपेको आलुमा सिजनल आलुभन्दा रोग, प्रकोपको कम हुने, लागत कम लाग्ने र उत्पादन राम्रो हुने उनी बताउँछन् । वर्षेनी २० क्विन्टलसम्म आलु बिक्री गर्ने खुशीरामले पनि यस वर्ष आलु घर भित्र्याए । “पानीले सबै आलु नष्ट गरिदियो । आलु रोप्ने सिजनमा मौज्दात राखेको आलुको बीउलाई अहिले फेरि रोप्न थालेका छौँ । खानलाई पनि आलु चाहियो नि”, उनी भन्छन् “कृषि विज्ञसंग सल्लाह गरेर आलु रोपिरहेका छौँ ।”
त्यस्तै, जानकी गाउँपालिका–१ धर्मापुरका विजय चौधरीसहित तीन जना कृषकले गर्मी सिजनमा आलुको उत्पादन राम्रो हुने अपेक्षासहित चार बिघा क्षेत्रफलमा अहिले आलु रोपिरहेका छन् । उनीहरुले समूहमा मिलेर खेती गर्न थालेका हुन् । यसरी रोपिएको आलु सिजनल आलु बराबरको उत्पादन हुने भएकाले अहिले आलु रोप्दा कुनै फरक नपर्ने टीकापुर नगरपालिका कृषि शाखाका प्रमुख तुल्सीराम सुवेदीले बताए ।
उनले गर्मी सिजनमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम भए आलु उत्पादनमा ह्रास आउने भएकाले अहिले रोपेर वैशाख मसान्तसम्म उत्पादन लिई सक्नुपर्ने बताए । सामायतया आलु रोपेको ७५ दिनमा उत्पादन लिन सकिने र न्यूनतम १२ देखि अधिकतम २२ डिग्री सेल्सियस तापक्रम आलु उत्पादनको लागि राम्रो मानिन्छ । अहिले रोपेको आलु गर्मी सिजनमा भएकाले अपेक्षित उत्पादन नहुने उनले बताए । कैलालीमा यस वर्ष आलु उत्पादनमा कमी आएको छ ।
लगातारको वर्षाका कारण कृषकले लगाएको आलुमा ५० प्रतिशत क्षति भएको कृषि शाखा टीकापुरले जनाएको छ । कृषकले आलुको विकल्प खोज्न अन्य तरकारी खेती गर्नतर्फ ध्यान दिनुपर्ने आवश्यकता भएको कृषि प्राविधिक बताउँछन् । बेमौसमी तरकारी बालीबाट राम्रो आम्दानीसँगै अन्य स्थानबाट आयात हुने तरकारीबाली न्यूनीकरणमा सहयोग पुग्ने भएकाले सम्बन्धित तहबाट कृषि कर्म गर्ने किसानलाई प्राविधिकसँगै अन्य सहयोग हुनु आवश्यक रहेको कृषकको माग छ ।
बर्खेको तुलनामा हिउँदे आलुको पोस्ट–हार्भेस्ट ९उत्पादनपछिको० क्षति किसान तहमा ज्यादै कम हुने भएकाले बढी फाइदा लिन सक्ने प्राविधिकको भनाइ छ । उन्नत जातको बीउ र प्रविधिले खेती गर्न सकेको खण्डमा ६० दिनमै बजारमा पु¥याउन सकिने भएकाले किसानले प्रमुख कृषि कर्मका रुपमा आलु खेतीलाई अंगालेका छन् ।
कैलालीमा आलुखेतीका लागि उर्वर मानिएका क्षेत्रहरुमा समेत पछिल्लो समय माटोको अवस्था खस्किएको, स्वस्थ आलु बीउको अभाव र हिउँदे आलु भण्डारणका क्रममा हुने पोस्ट हार्भेस्ट क्षतिको अवस्थालाई मुख्य चुनौतीका रुपमा लिएको छ । “आलु उत्पादनमा कूल लागतको ५० प्रतिशतभन्दा बढी लागत बीउ आलुले ओगट्छ । स्वस्थ बीउ आलु चयनमात्रले पनि कम्तीमा १५ प्रतिशत आलुको उत्पादन बढेको अनुसन्धानले देखाएको छ । यस्तै माटोको अवस्था सुधार हुँदा उत्पादन बढ्छ । यी कुराहरुलाई केन्द्रमा राखेर हामीले कार्य सञ्चालन गरिरहेका छौं”, कृषि शाखाका प्रमुख सुवेदीले भने ।
खाद्य बालीमध्ये आलुबालीले नेपालमा क्षेत्रफलको दृष्टिले पाँचौं, उत्पादनको दृष्टिले दोस्रो र उत्पादकत्वको हिसाबले पहिलो स्थान ओगटेको छ । तराई र मध्य पहाडमा आलुलाई प्रमुख तरकारी बालीको रुपमा लिइन्छ भने उच्च पहाडी क्षेत्रमा यसको उपभोग मुख्य खाद्यवस्तुको रुपमा रहेको बताइएको छ । रासस




