भोजपुर । राम्रो कमाईको मीठो सपना बोकेर आमचोक गाउँपालिका–९ दुम्माना आमबोटका रोशन मगरले वैदेशिक रोजगारीका लागि २०७१ सालतिर कतार पुगे । उनले त्यहाँ मार्बल बनाउने काम गरे । उनको काम धेरै गाह्रो थियो । काम गाह्रो र त्यसमा श्रम अनुसारको कमाई नभएपछि २ वर्ष बित्न नपाउँदै उनी घर फर्किए । विदेशबाट फर्केर उनले आफ्नै गाउँमा खेतीपाती र कुखुरापालन व्यवसाय शुरु गरे ।
कृषि र पशुपालनलाई व्यावसायिकीकरण गर्न तम्सिएका मगर अहिले त्यही व्यवसायमा उदाहरणीय युवा बन्न सफल भएका छन् । गिरीराज जातका ३५० वटा कुखुराबाट सञ्चालन गरेकाे कुखुरा फार्मले उनलाई मनग्य आम्दानी दिएको छ । उनले ती फार्मबाट निस्किएको मलको सदुपयोग गर्न ३६ रोपनी जग्गा भाडामा लिएर आलु, प्याज, खुर्सानी जस्ता तरकारीबाली पनि लगाएका छन् । अहिले उनले मासिक ४० हजारसम्म आम्दानी गर्छन् ।
कृषिसम्बन्धी तालीम लिएका मगरले कुखुराका लागि चाहिने सम्पूर्ण भ्याक्सिन लगाउने, कुखुराको चल्ला उत्पादन गर्ने, बीउबिजन उत्पादनसमेत आफैँले गर्दै आएका छन् । उत्पादन गरेको तरकारी र कुखुराले सिङ्गो गाउँपालिका क्षेत्रका बजार धानिरहेको उनको भनाइ छ । उनले भने “हामी युवा ठूलो सपना बोकेर विदेश जान्छौँ, तर त्यहाँको दुःखको विषयमा पुगेपछि मात्र थाहा हुन्छ, मैले पनि धेरै दुःख भोगे तर अहिले आफ्नै ठाउँमा राम्रो आम्दानी गरिरहेको छु ।”
स्वदेशमै व्यवसाय गरेर राम्रो आम्दानीको स्रोत बनाएका उनले गाउँका अन्य कृषकलाई पनि उत्पे्ररित गरेका छन् । विदेशमा गर्ने मिहिनेत आफ्नै ठाउँमा गरे भिरपाखामा पनि सुन फलाउन सकिने उनको भनाइ छ । “हाम्रै ठाउँमा राम्रो आम्दानी गर्न सकिन्छ, भिरपाखा नै मिहिनेत गरे विदेश जानु पर्दैन, अहिले मैले व्यवसाय गरेको देखेर धेरै युवा साथीहरुले फर्म दर्ता गरेर काम शुरु गर्ने सोचमा छन्”, मगरले भने ।
मगरले गाउँका अन्य किसानलाई कुखुरापालनसम्बन्धी तालीम र काम पनि सिकाउँदै आएका छन् । आफ्नो टोललाई नै कृषिको नमूना क्षेत्र बनाउने लक्ष्यले काम गरिरहेको भए पनि राज्य तथा सरोकारवाला सरकारी निकायले सहयोग नगरेको उनको गुनासो छ ।
त्यस्तै व्यावसायिक तरकारी खेतीमा लागेर भोजपुर नगरपालिका–७ का जीतकुमार राईले पनि निकै राम्रो आम्दानी गरिहेका छन् । वैदेशिक रोजगारीका लागि साढे ५ वर्ष कतारमा बिताएका राई अहिले आफ्नै ठाउँमा व्यवसायमा लागेर सबैका बीच उदाहरणीय बनेको छ ।
कतारमा कडा परिश्रम गरेर पनि राम्रो आम्दानी गर्न नसकेको वताउने राईले अहिले भने तरकारी खेतीबाट वार्षिक रु ६ देखि सात लाखसम्म आम्दानी लिने गरेको जानकारी दिए । उनले भने “कतारको तातो घाममा करीब ६ वर्ष बिताए तर खास कमाउन सकिनँ, अहिले यही तरकारी खेतीमा लागेर वार्षिक रु सात लाखसम्म आम्दानी गरिहेको छु ।”
राईले आफ्नो पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहनु भएको छ । उनले सिजनअनुसार काउली, बन्दा, टमाटर, खुर्सानी, साग, सिमीलगायतको खेती गरिरहेका छन् । तर बजारको राम्रो व्यवस्था नहुँदा भने बिक्री वितरणमा समस्या हुने गरेको उनको दुःखेसो छ । राईले भने “बजारको राम्रो व्यवस्था नहँुदा भने निकै समस्या छ, हाम्रो बजारको माग करीब २०० किलो छ, मैले बढी उत्पादन गर्दा बिक्री वितरणमा भने समस्या हुन्छ, बजारको व्यवस्थामा सरकारले ध्यान दिए, म जस्ता कृषकलाई सहज हुने थियो ।”
जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारी गएर आएपछि धेरै युवाले यस्ता खालको पेशा अँगाल्ने गरेका छन् र उनीहरुले राम्रै आम्दानी पनि गरिरहेका छन् । तर प्राविधिक ज्ञान, राम्रो बीउबिजन नपाउँदा भने निकै समस्या हुने गरेको उनीहरुको कथन छ । रासस




