त्रिशूली एकाएक महाकालको स्वरूपमा ब्युँझियो। केही क्षणअघिसम्म शान्त अनि सालिन बगिरहेको नदीलाई हेर्दाहेर्दै यस्तो लाग्यो—मानौँ उसले आफ्नो युगौँ पुरानो आत्मीयता र परिचय नै एकाएक बिर्सियो। पानीको रङ विषाक्त धमिलोमा बदलियो, बहावमा अस्वाभाविक विकरालता भरियो र नदीको सुसाइ विस्तारै यस्तो गगनभेदी गर्जनमा परिणत भयो, जसले सम्पूर्ण उपत्यकालाई नै स्तब्ध बनायो। त्यो प्रलयङ्कारी ध्वनि अहिले पनि मेरो मुटुमा ढुकढुक गरिरहेको छ।
त्यो दिन म त्रिशूलीनजिकै बट्टारमा थिएँ। बिहानी सामान्य नै थियो। मानिसहरू आफ्नै दैनिकीमा तल्लीन थिए। नदी पनि हामीले वर्षौँदेखि साक्षात् देख्दै आएको प्रिय सहयात्रीझैँ बगिरहेको थियो। तर अचानक माथिल्लो भेगबाट भयानक बाढी ओर्लिंदै गरेको खबर आयो। सूचना पाउनासाथ हाम्रा गोडा आफैँ नदीकिनारतिर मोडिए। के भइरहेछ भनेर सोच्ने र पर्खिने छुट हामीलाई समयले दिएको थिएन। त्रिशूलीको असामान्य चाल र मातिएको बहावले सङ्कट सन्निकट रहेको स्पष्ट सङ्केत दिइसकेको थियो। हामीसँग सम्भवतः केही मिनेट मात्र बाँकी थिए।
त्यही सङ्कटापन्न समयमा हामीले सकेसम्म धेरै मानिसलाई खबर गर्न प्राणपणले प्रयास गर्यौँ। नदीका पछाडि सजिएका घर, पसल र बस्तीका बासिन्दालाई तत्काल सुरक्षित उच्च स्थानतर्फ भाग्न आर्तनाद गर्यौँ।
एकाएक नदीमा भयानक जलप्रलय देखियो। मैले जीवनमा देखेको सबैभन्दा विभत्स र भयानक नदी दृश्य त्यही थियो। त्यो केवल पानीको बहाव मात्र थिएन, मानौँ सिङ्गो पहाड नै भत्किएर नदीको रूप लिई उर्लिएको थियो। धमिलो भेलसँगै विशाल ढुङ्गा, गेग्रान, उखेलिएका रूख र हिउँका डल्लाहरू तीव्र गतिमा बग्दै थिए।
त्रिशूलीको गर्जन यति विकराल थियो कि मानिसका चिच्याहट र आतङ्कका आवाजहरू त्यही चीत्कारभित्र बिलाए। हामीले हेर्दाहेर्दै नदीले आफ्ना सीमाहरू भत्काउन थाल्यो। वर्षौँको श्रम र पसिनाले ठडिएका घर, पसल, सडक र पुलहरू तासका पत्ताझैँ बग्दै एकैछिनमा विलीन भए।
त्यो दृश्यले मानिसले प्रकृतिमाथि गर्ने दम्भ कति तुच्छ र कमजोर रहेछ भन्ने निर्दयी सत्य छर्लङ्ग पारिदियो। हामी घर बनाउँछौँ, पहाडका छाती चिरेर सडक र पुल ठड्याउँछौँ, नदीमाथि बाँध बाँधेर आफूलाई सृष्टिको मालिक सम्झन्छौँ। तर प्रकृतिले आफ्नो असाधारण शक्ति देखाएको एउटै क्षण काफी हुँदो रहेछ—मानवनिर्मित भौतिक साम्राज्यलाई केही मिनेटमै भग्नावशेषमा परिणत गरिदिन।
तिब्बततर्फबाट सिर्जित भोटेकोशीको त्यो विपत्ति तल त्रिशूलीसम्म पुग्दा महाप्रलय बनिसकेको थियो। रसुवाको टिमुरे र स्याफ्रुबेसीदेखि नुवाकोटको त्रिशूली, ढुङ्गे र देवीघाटसम्म यसले विनाशको ताण्डव रच्यो। कतिपय स्थानमा बाढीले संरचना मात्र बगाएन, भूगोल र बस्तीको पुरानो नक्सा नै मेटिदियो। व्यापारिक केन्द्रहरू ध्वस्त भए, विद्यालय, होटल र निजी सम्पत्ति माटोमा मिले। चीनसँगको मुख्य व्यापारिक नाका र उत्तरी सीमासँगको सम्पर्क सूत्रसमेत छिन्नभिन्न भयो।
तर क्षतिको हिसाब केवल बगेका घर, भत्किएका पुल वा ध्वस्त सडकको मिटरमा मात्र गर्यौँ भने हामीले यो विपत्तिको वास्तविक छाती छाम्नै सक्दैनौँ। एउटा भत्किएको घरसँग एउटा परिवारको सपना र भविष्य जोडिएको हुन्छ। एउटा पसलसँग कसैको जीवनभरको रगत–पसिना गाँसिएको हुन्छ। एउटा ऐतिहासिक बजारसँग पुस्तौँको सामाजिक सम्बन्ध र स्मृति जोडिएको हुन्छ। त्यसैले यो विनाशलाई केवल भौतिक विनाशको दृष्टिले मात्र मापन गर्नु घोर अन्याय हुनेछ।
देवीघाट, त्रिशूली र बेत्रावतीजस्ता ऐतिहासिक स्थलहरूको महत्त्व भौतिक संरचनाभन्दा कैयौँ गुणा उच्च छ। यी नदीकिनारमा हाम्रा पुर्खाका सभ्यता र संस्कृति हुर्किएका हुन्। व्यापार, धर्म, परम्परा र स्थानीय पहिचान यिनै बस्तीहरूसँगै जीवन्त बनेका थिए। एउटा प्राचीन घर ढल्दा त्यससँगै एउटा परिवारको सिङ्गो इतिहास बग्छ, एउटा पुरानो बजार मेटिँदा समुदायको एउटा अमूल्य अध्याय समाप्त हुन्छ। त्यसैले यसलाई केवल भौतिक क्षतिको आँकडामा सीमित राख्नु भनेको हाम्रो इतिहास र संस्कृतिमाथि भएको गम्भीर बज्रपातलाई बिर्सनु हो।
वैज्ञानिक अध्ययनका प्रारम्भिक सङ्केतहरू झनै भयावह छन्। तिब्बततर्फको हिमाली भेगमा विशाल हिम–चट्टान वा हिमनदी भत्किनु, पानी र बरफको लेदोले नदी थुनिनु र त्यो अकस्मात् फुट्नाले भोटेकोशीमा असाधारण विनाशकारी बहाव सिर्जना भएको देखिन्छ। प्राविधिक अनुसन्धान जारी होला, तर सङ्केत प्रस्ट छ—यो सामान्य बर्खाको बाढी थिएन।
हिमाली उच्च भूभागमा घटेको असामान्य प्राकृतिक हलचलले तल्लो तटीय क्षेत्रलाई क्षणभरमै प्रताडित बनाएको यो एउटा उदाहरण मात्र हो। यस घटनाले जलवायु परिवर्तनको गम्भीर घण्टी पुनः हाम्रै ढोकामा ल्याएर बजाइदिएको छ। हिमालमा तापक्रम तीव्र गतिमा बढ्दैछ, हिमनदीहरू पग्लिँदैछन् र हिमतालहरू विस्फोटको सङ्घारमा पुग्दैछन्। बरफ र चट्टानबीचको प्राकृतिक सन्तुलन खल्बलिँदा हिमाली भूगोल दिनप्रतिदिन अस्थिर बन्दैछ।
यद्यपि, भोटेकोशीको यो घटना जलवायु परिवर्तनकै प्रत्यक्ष परिणाम हो भनेर किटान गर्न थप अध्ययन आवश्यक होला। तर विश्वव्यापी उष्णताले हाम्रा हिमालहरूको सुरक्षाचक्रमा गम्भीर असर पारिरहेको यथार्थलाई अब कसैले नकार्न सक्दैन। नेपालको सबैभन्दा ठूलो त्रासदी नै यही हो। पृथ्वीको तापक्रम बढाउन हाम्रो योगदान शून्यप्रायः छ, तर त्यसको घातक परिणाम भोग्न भने हामी अग्रपङ्क्तिमा उभिन बाध्य छौँ।
हिमाल हाम्रो गौरव र पहिचान हो, तर बदलिँदो जलवायुका कारण त्यही हिमाल आज ठूलो जोखिमको पुञ्ज बनिरहेको छ। त्यसैले जलवायु परिवर्तनसम्बन्धी हाम्रा बहसहरू अब अन्तर्राष्ट्रिय मञ्चमा भाषण छाँट्ने विषय मात्र बन्नु हुँदैन।
त्रिशूली करिडोरको यो विनाशले अर्को प्रखर प्रश्न खडा गरेको छ—विकासका योजना बनाउँदा हामीले प्राकृतिक जोखिमलाई कति गम्भीरतापूर्वक लियौँ?
नदीका प्राकृतिक बहाव क्षेत्र पछाडि पारेर बस्ती बसाइएका छन्। पहाडका छाती चिरेर जथाभावी सडक खनिएका छन्। संवेदनशील हिमाली नदीहरूमा अर्बौँका जलविद्युत् आयोजना बनाइएका छन्। यी विकासका आवश्यकता होलान्, तर विकासको गतिसँगै प्रकृतिप्रतिको दायित्व र जोखिम मूल्याङ्कन खोइ?
अब पुनर्निर्माणको नाममा बगेका संरचनाहरू उही जोखिमयुक्त स्थानमा जस्ताको तस्तै ठड्याउने मूर्खता दोहोरिनु हुँदैन। जहाँ नदीले आफ्नो उग्र स्वरूप देखाइसकेको छ, त्यहाँ भूगर्भीय अध्ययन नगरी पुनः बस्ती बसाल्नु गम्भीर गल्ती हुनेछ।
सडक, पुल, विद्यालय र अस्पतालहरू पुनर्निर्माण गर्दा आगामी सम्भावित विपत्तिको हिसाब गरिनुपर्छ। जलविद्युत् आयोजना बनाउँदा हिमपहिरो, हिमताल विस्फोटन र गेग्रान बहावको जोखिमलाई सुरुवातमै ध्यानमा राख्नैपर्छ।
यो विपत्तिले पूर्वसूचना प्रणालीको महत्त्वलाई जीवन र मरणको रेखाका रूपमा स्थापित गरिदिएको छ। बट्टारमा समयमै सूचना पाएका कारण हामीले सयौँ मानिसलाई सचेत गराउन सक्यौँ। त्यो समय अत्यन्त छोटो थियो, तर त्यही केही मिनेटले धेरै मानिसलाई मृत्युको मुखबाट जोगिने अवसर दियो। विद्यालयका सयौँ बालबालिकालाई सुरक्षित स्थानमा पुर्याउन सकिनुले प्रमाणित गर्छ—सटीक सूचना सही समयमा पुग्दा मानवीय क्षतिलाई ह्वात्तै घटाउन सकिन्छ।
त्यसैले अब पूर्वसूचना प्रणालीलाई कर्मकाण्डी काम मात्र होइन, ‘राष्ट्रिय सुरक्षा’ को रणनीतिक अङ्गका रूपमा विकास गरिनुपर्छ। हिमाली भूभागमा नदीको सतह, हिमताल र हिमनदीको सूक्ष्म निगरानी गर्न अत्याधुनिक प्रविधि जडान गरिनुपर्छ। विपत्ति आएपछि उद्धारका लागि हेलिकप्टर पठाउनु मात्र सफलता होइन, विपत्ति आउनुअघि नै मानिसलाई सुरक्षित राखिनु वास्तविक सफलता हो।
राहत र पुनःस्थापनाको परम्परागत सोचमा पनि आमूल परिवर्तन आवश्यक छ। पीडितलाई चाउचाउ, त्रिपाल र थोरै नगद बाँडेर दायित्व पूरा हुँदैन। घर गुमाएकालाई सुरक्षित आवास, व्यवसाय गुमाएकालाई पुनः उठ्ने पूँजी, खेतबारी गुमाएकालाई कृषि पुनःस्थापना र परिवार गुमाएकालाई गहिरो मनोसामाजिक परामर्श अनिवार्य छ।
बालबालिकालाई कापी–कलम दिएर विद्यालय पठाउनु मात्र पुग्दैन, उनीहरूको मानसपटलमा परेको मानसिक आघातलाई सम्बोधन गरिनुपर्छ।
हाम्रो ऊर्जा क्षेत्रमा परेको असर झनै गम्भीर छ। भोटेकोशी–त्रिशूली करिडोर नेपालको ऊर्जा मेरुदण्ड हो। भविष्यमा जलविद्युत् आयोजनाहरूको डिजाइन गर्दा बिजुलीको मेगावाटसँगै त्यसको ‘विपद् प्रतिरोधी क्षमता’लाई लगानीको मुख्य सर्त बनाउनैपर्छ।
त्यस दिनको भयानक दृश्यले मेरो चेतनामा एउटा गहिरो सत्य अमिट रूपमा कोरिदिएको छ—‘हामीले कहिल्यै प्रकृतिलाई जितेको भ्रम पाल्नु हुँदैन।’
हामीले प्राकृतिक नियमहरूलाई शिरोधार्य गरेर मात्र विकासको यात्रा तय गर्नुपर्छ। त्यो दिन हामीसँग सोच्ने र योजना बनाउने समय थिएन। खबर पाउनासाथ हामी केवल मानिस बचाउन दौडियौँ र केही मिनेटमै त्रिशूलीले आफ्नो विध्वंसलीला देखायो।
आज फर्केर हेर्दा लाग्छ—त्यतिबेला हामीसँग मिनेटको समय थिएन होला, तर यो राष्ट्रसँग अझै समय छ।
बाढीले बगाएका घरहरू फेरि ठड्याउन सकिएला। भत्किएका पुल र सडक पुनः बनाउन सकिएला। ध्वस्त जलविद्युत् आयोजना फेरि सञ्चालनमा आउलान्। तर बाढीले बगाएर लगेका आत्मीय मानिसका सासहरू कहिल्यै फर्किने छैनन्। पुस्तौँको स्मृति र समुदायको पुरानो जीवन्त स्वरूप जस्ताको तस्तै कहिल्यै फर्किने छैन।
त्यसैले आज हाम्रो जिम्मेवारी क्षतिको तथ्याङ्क सङ्कलनमा सीमित हुनु हुँदैन। भविष्यका सम्भावित महाविपत्तिबाट मानवजीवन जोगाउनु हाम्रो पहिलो दायित्व हुनुपर्छ।
त्यो दिन त्रिशूली नदी एकाएक अपरिचित बनेको थियो। तर आज समीक्षा गर्दा लाग्छ—नदी मात्र अपरिचित भएको थिएन, हामी आफैँ पनि प्रकृति र भूगोलप्रति कति बेखबर रहेछौँ भन्ने भयावह सत्य छर्लङ्ग भएको थियो।
त्यो बाढी केवल एउटा प्राकृतिक विपत्ति मात्र थिएन, त्यो मानवजातिको मिचाहा प्रवृत्तिमाथि प्रकृतिको गम्भीर चेतावनी थियो। अब हाम्रा विकासका पुराना अवधारणा र सोचहरू पनि समयानुकूल बदलिनैपर्छ।
हिमाल पग्लिएर तटीय क्षेत्र सोहोरेपछि मात्र जलवायु परिवर्तनको रोदन रुने होइन। मैले आफ्नै आँखाले भोगेको छु—बाढी आउन घण्टौँ लाग्दैन, कहिलेकाहीँ केही मिनेट नै काफी हुन्छ। तर त्यसले दिएको गहिरो घाउ र आघात निको हुन पुस्तौँ–पुस्तौँ लाग्न सक्छ।




