विश्व

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दाबी गर्दै त्यसको जवाफी कारबाहीस्वरूप अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको छ । पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तारारले ती स्थान ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्यस्थल भएको दाबी गर्नुभएको छ ।

तारारले पाकिस्तानले आफ्नो सार्वभौम अधिकार रक्षाका लागि ‘सटीक, नियन्त्रित र अनुपातिक’ कारबाही गरेको बताउनुभयो । उहाँका अनुसार आक्रमण पाकिस्तानमाथि भएको भनिएको ड्रोन आक्रमणसँग सम्बन्धित पहिचान गरिएका सैन्य लक्ष्यमा मात्र केन्द्रित थियो । पाकिस्तानले बुधबार अफगानिस्तानबाट आएका आठ ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको र ती सबैलाई खसालेको जनाएको थियो ।

अफगानिस्तानले भने पाकिस्तानी हवाई आक्रमणको विरोध गर्दै उचित जवाफ दिने चेतावनी दिएको छ । अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले कुनार र पक्तिका प्रान्तमा पाकिस्तानी आक्रमणबाट नागरिक हताहत भएको दाबी गर्नुभएको छ । उहाँका अनुसार कुनारमा एक महिलासहित तीन सर्वसाधारणको मृत्यु तथा चार जना घाइते भएका थिए भने पक्तिकामा घर र स्थानीय पसलमा क्षति पुगेको थियो ।

संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन (युएनएएमए) का अनुसार अप्रिलदेखि जुन २०२६ सम्म सीमापार सशस्त्र हिंसाबाट ३९९ सर्वसाधारण प्रभावित भएका छन् । तीमध्ये ५७ जनाको मृत्यु र ३४२ जना घाइते भएका छन् । प्रभावित हुनेमा ४० महिला र ११२ बालबालिका छन् । युएनएएमएले हवाई आक्रमण र स्थल सैन्य गतिविधिलाई प्रमुख कारणका रूपमा उल्लेख गरेको छ ।

यसअघि जुन २८ मा पक्तिया, पक्तिका र कुनारमा भएका हवाई आक्रमणमा कम्तीमा २८ सर्वसाधारण मारिएको र ४९ जना घाइते भएको युएनएएमएले जनाएको थियो । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले ती प्रान्तमा आफ्ना सुरक्षा बलले कारबाही गरेको पुष्टि गरेको थियो ।

सीमापार आतङ्कवादी गतिविधि, ड्रोन आक्रमण र सैन्य कारबाहीलाई लिएर पाकिस्तान र अफगानिस्तानबीच पछिल्ला दिनमा तनाव बढ्दै गएको छ । दुवै पक्षले एकअर्कामाथि आरोप लगाउँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *