काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निर्माणलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
बुधबार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै श्रेष्ठले बाढीबाट क्षतिग्रस्त संरचनाको तत्काल पुनःस्थापना गर्दै दीर्घकालीन पुनर्निर्माणको योजना बनाएर अघि बढ्ने बताए ।
‘१० भदौको रसुवाको भोटेकोशी बाढीले राज्य र नेपाल विद्युत प्राधिकरणलाई ठूलो क्षति पुर्याएको छ । यसबाट उठ्नका लागि हामी तत्कालीन र दीर्घकालीन योजना बनाइरहेका छौँ,’ उनले भने ।
बाढीबाट क्षतिग्रस्त प्रसारण संरचना पुनःस्थापना गरी सञ्चालनमा ल्याउन सकिने जलविद्युत आयोजनालाई राष्ट्रिय प्रणालीमा जोड्ने कामलाई प्राथमिकता दिइने उनले बताए ।
‘अहिले चल्न सक्ने प्लान्टहरू चिलिमे हबमा मात्र १३५ मेगावाट रहेको छ । अन्य दुई–चार वटा हाइड्रोपावर प्लान्टलाई राष्ट्रिय प्रणालीमा जोड्ने नै हाम्रो सबैभन्दा पहिलो टार्गेट हुनेछ,’ उनले भने ।
बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनामा थुप्रिएको गेग्रान तथा भग्नावशेष हटाएर क्षतिको मूल्यांकन गरिने उनले बताए । त्यसपछि आयोजनाको पुनर्निर्माण योजना अघि बढाइने उनको भनाइ छ ।
‘हाइड्रोपावरमा भएको डेब्रिज सफा गर्ने, डेब्रिज सफा गरिसकेपछि त्यसको ड्यामेज एसेसमेन्ट गरेर पुनर्निर्माणको योजना अगाडि बढाउने भन्ने नै हाम्रो रणनीति हो,’ उनले भने ।
श्रेष्ठले हिउँदयाममा विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाको खोजी भइरहेको पनि बताए । उनका अनुसार हिउँदमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स गठन गरेर काम गरिरहेका छन् ।
‘हामीले हिउँदमा विद्युत् आपूर्ति सहज बनाउनका लागि विकल्पसमेत सोचिरहेका छौँ । यसका लागि ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले टास्क फोर्स नै गठन गरेको छ,’ उनले भने, ‘हामी जाडोयाममा विद्युत् आपूर्तिमा समस्या आउन दिँदैनौँ ।’
कार्यकारी निर्देशक श्रेष्ठले सुनकोशी–३ जलविद्युत आयोजनाको विस्तृत डिजाइन तथा इन्जिनियरिङ अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरिएको पनि बताए ।
‘मेरो पहिलो निर्णय सुनकोशी–३ जलविद्युत आयोजनाको डिटेल डिजाइन र यसको इन्जिनियरिङ स्टडीका लागि एउटा कमिटी गठन गर्ने भएको छ । यो कमिटी छिट्टै गठन गर्छौं,’ उनले भने ।
नागरिकलाई सहज र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको उनले बताए । ‘जनतालाई सेवा सुविधा र गुणस्तरीय बिजुली दिने कुरा नै मेरो प्राथमिकतामा रहन्छ,’ उनले भने ।
नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले बिहान पद तथा गोपनीयताको शपथ लिएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा उनलाई शपथ गराएका थिए ।




