काठमाडौँ। प्रजातान्त्रिक आन्दोलनका अगुवाहरूले आगामी प्रतिनिधिसभा निर्वाचनअघि नेपाली कांग्रेसले १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। प्रजातान्त्रिक विचार समाजले आज आयोजित समसामयिक विषयक अन्तरक्रियामा वक्ताहरुले पार्टीभित्रको नेतृत्व, विधि र संगठनात्मक तयारीलाई चुस्त बनाउन महाधिवेशन अपरिहार्य भएको बताएका हुन्।
समाजका निवर्तमान अध्यक्ष डा. केदारनरसिंह केसीले राष्ट्र, राष्ट्रियता र अखण्डताको संरक्षणमा प्रजातान्त्रिक विचार समाज निरन्तर अग्रमोर्चामा रहेको बताउँदै पछिल्ला निर्णयहरूले आवधिक निर्वाचनप्रतिको औपचारिक प्रतिबद्धता कमजोर देखिएको टिप्पणी गरे।
वरिष्ठ पत्रकार तारानाथ दाहालले जेनजी आन्दोलनलाई नेपालको प्रजातान्त्रिक इतिहासको महत्वपूर्ण अध्यायका रूपमा स्मरण गर्दै यो आन्दोलनले देखाएको बाटोअनुसार राजनीतिक दलहरूले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। निर्वाचन सफल बनाउन सरकारका साथै राजनीतिक दलहरूको संयुक्त जिम्मेवारी रहेको उनको भनाइ थियो।
समाजका संस्थापक सदस्य श्रीहरि अर्यालले कांग्रेसले मुलुकको नेतृत्व गर्ने दाबीलाई पुष्ट गर्न संगठनात्मक विधान र आन्तरिक प्रक्रियालाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए। उनले महाधिवेशन सम्पन्न नगरी निर्वाचनमा जानु पार्टीका लागि चुनौतीपूर्ण हुने बताए।
वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले संविधानभित्रै समाधान खोज्दै राजनीतिक स्थायित्वतर्फ अघि बढ्नुपर्ने बताए। संविधान संशोधनका विषयमा दलहरूले अदालतको शरण लिनसक्ने र त्यसको प्रभाव संसद् पुनःस्थापनासँग पनि जोडिन सक्ने उनको तर्क थियो। उनले कांग्रेसले नेतृत्व परिवर्तनसहित निर्वाचनमा जानुपर्ने धारणा राखे।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पार्टीले बौद्धिक समाजसँगको संवादलाई उपेक्षा गर्न थालेको उल्लेख गर्दै भदौ २३–२४ का घटनालाई पार्टीले गम्भीर रूपमा मूल्याङ्कन गर्नुपर्ने बताए। अनुहार मात्र होइन, प्रवृत्तिको सुधार आवश्यक रहेको उनको भनाइ थियो।
पूर्वउपप्रधान नियोजनकर्ता डा. जगदीशचन्द्र पोखरेलले राजनीति प्रविधिबाट निर्देशित हुन थालेको विश्लेषण गर्दै त्यसमा अभ्यस्त नभएका नेतृत्वलाई पुरानो पुस्ताका रूपमा लिइनुपर्ने बताए।
शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले राजनीतिक दलहरूले विश्वसनीय विकल्प दिन नसक्दा जेनजी आन्दोलन उत्पन्न भएको बताए। संसद् पुनःस्थापनाभन्दा निर्वाचन मार्ग अपनाउनुपर्ने र दलहरूले नयाँ कार्यक्रम तथा नयाँ अनुहारसहित मतदातासामु जानुपर्ने उनले सुझाए।
राजनीतिक विश्लेषक विनोद भट्टराईले इच्छाशक्ति भए कांग्रेसले समयमै महाधिवेशन सम्पन्न गर्न सक्ने बताए। अहिलेको नेतृत्वलाई निरन्तरता दिँदा सुखद् परिणाम आउने सम्भावना न्यून रहेको उनले टिप्पणी गरे।
समाजका पूर्वअध्यक्ष जीवराज कोइरालाले जटिल राजनीतिक मोडमा पुगेको देशलाई स्थिरतामा ल्याउन कांग्रेसले महाधिवेशनपछि मात्रै निर्वाचनमा होमिनुपर्ने धारणा राखे। पत्रकार तेजप्रसाद पण्डित र अन्य वक्ताले पनि आन्दोलनको भावना अनुरूप पार्टीले उचित दिशा लिनुपर्ने सुझाव दिए।
अन्त्यमा, समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेकाले चुनावी वातावरण निर्माण, संक्रमणकालीन राजनीतिक संवेदनशीलता र दलहरूको भूमिकाबारे समाजले निरन्तर छलफल गर्दै आएको जानकारी दिए।




