राजनीति

पत्रकार महासंघको सदस्यता नभएकालाई प्रशंसापत्र वितरण, समाजवादी प्रेस संगठनमा विवाद

 

काठमाडौं ।समाजवादी प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा अनौठो घटना देखा पर्यो। भेलामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले पत्रकार महासंघको निर्वाचनमा निर्वाचित प्रतिनिधिहरूलाई प्रशंसापत्र वितरण गरिरहेका थिए। कार्यक्रम सञ्चालन गर्दै कार्यबहाक महासचिव प्रेम गौतमले निर्वाचित प्रतिनिधिको नाम वाचन गरिरहेका थिए।

त्यही क्रममा समाजवादी प्रेस संगठन नेपालका बैतडी जिल्ला अध्यक्ष चन्द्र मुस्कान जोशीको नाम पनि वाचन गरियो। जोशी तुरुन्तै मञ्चमा पुगे, दोसल्ला ओढे र प्रशंसापत्र ग्रहण गरे। तर आश्चर्यको विषय के थियो भने न त उनी पत्रकार महासंघ बैतडीको साधारण सदस्य थिए, न त महासंघको निर्वाचनमा उम्मेदवार नै। पत्रकार महासंघको विधानअनुसार साधारण सदस्य नभएको व्यक्ति उम्मेदवार हुन सक्दैन।

जोशीको नाम प्रशंसापत्रमा कसरी आयो भन्ने बुझ्ने क्रममा नयाँ रहस्य खुलेको छ। पत्रकार महासंघ बैतडीका पूर्व सभापति, समाजवादी प्रेस संगठन नेपालका भूगोलतर्फ केन्द्रीय उपाध्यक्ष नरेन्द्र भट्टले आफ्ना निकटका जोशीलाई प्रशंसापत्र थमाउने व्यवस्था मिलाएको स्रोतले बताएको छ।

संगठनलाई भ्रममा राखेर भट्टले नाता सम्बन्धकै आधारमा जोशीलाई प्रशंसापत्र दिन लगाएको भन्दै संगठनभित्र आलोचना भएको छ। संगठनका वर्तमान सचिव अनिल शाहीलाई दबाब दिएर यो कार्य गराइएको दाबी गरिएको छ। स्रोतका अनुसार शाहीले जोशीलाई फोन गरेर ‘तपाईं निर्वाचित हुनुहुन्छ कि होइन?’ भनेर सोध्दा, जोशीले ‘हो, म निर्वाचित हुँ’ भन्ने जवाफ दिएका थिए। त्यसपछि उनको प्रशंसापत्र छापिएको थियो।

प्रशंसापत्र छपाइको जिम्मा संगठनका उपमहासचिव प्रतिज्ञा बुढामगरलाई दिइएको थियो। तर भट्ट भने कार्यक्रमको अन्तिम समयमा मात्रै हलमा प्रवेश गरेका थिए।

कार्यक्रमको मिडिया तथा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भइरहेको थियो, जसका कारण यो विषय सार्वजनिक भयो। उता जोशीले भने आफूलाई बदनाम गर्न नियोजित रूपमा यो कार्य गरिएको दाबी गरेका छन्।

भेला फागुन ४ गते काठमाडौंको केएम बैंक्वेट, कोटेश्वरमा आयोजना गरिएको थियो।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *