
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वार्थ समूहलाई पोस्नलाई सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘माघ ८ गते संसद्को बैठक आह्वान गरिएको छ । ६ दिनअघि दर्जनौँ ऐन संशोधनका लागि ५ वटा अध्यादेश ल्याइएको छ । पछिल्लो ३५ वर्षमा कांग्रेसले १२ पटक र एमालेले ७ पटक प्रधानमन्त्री चलाएको देखिन्छ । ३५ वर्ष प्रधानमन्त्री चलाएपछि ६ दिन देशको विकास ढिलो हुने भो भनेर अध्यादेश ल्याएको हो ? ६ दिन अगाडि अध्यादेश ल्याएर चमत्कार गर्न खोज्नु भएको हो ?,’ प्रचण्डले भने ।
रातारात चोरबाटोबाट अध्यादेश ल्याउनु सरकारको नियत सही नभएको उल्लेख गर्दै उनले भने, ‘अरु बेला संसदमा दुई तिहाइको घमण्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासन चाहिँ अध्यादेशहरूबाट चलाउने ? यो सार्वभौम संसद्को अपमान र अवहेलना हो। यो केवल हामी विपक्षसँग सरकारको डर मात्र होइन, आफूलाई समर्थन गरेका सत्तापक्षका माननीयहरूमाथि समेत सरकारको अविश्वास हो ।’
यी अध्यादेशहरू विकासका लागि हुन्थे भने संसद्ीय समितिमा रहेका विधेयकमा खुला छलफलसँग सरकार किन डरायो भन्ने प्रश्न गर्दै उनले सोधे–‘संसद्मा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ? सरकार र संसद्ले चाहँदा फास्ट ट्रयाकबाट विषयगत समिति, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दश दिनमै पनि विधेयक पारित गर्न सकिन्छ जबकि प्रतिस्थापन विधेयकले ६० दिनको लामो प्रकृया पार गर्नुपर्छ । देश र जनताका लागि सोचेको भए तपाईहरू संसद्सँग डराउनु हुने थिएन । स्वार्थ समूहहरूलाई पोस्नुपर्ने भएकैले तपाईहरूले अध्यादेशको चोरबाटो समाउनु भयो । कार्यपालिकाले नै सबै गर्ने भए किन चाहियो त व्यवस्थापिका ?’