
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गरेका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले सिमेन्टमा अत्यधिक मूल्यवृद्धि हुँदा निर्माण कार्यमा समस्या आइरहेको बताए ।
उनले चार महिनाअघि ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भन्दा पनि बढी रहेको बताए । उनले सिमेन्टमा कार्टेलिङ र सिण्डिकेट भएको बताए ।
समेन्टमा भएको मूल्यवृद्धिका कारण नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने परिस्थिति रहेको गुनासो गरे । यसले निर्माण कार्यमा लागत मूल्य बढिरहेको बताए ।
उनले भने ‘अहिले यो सिमेन्टमा असाध्यै चर्को मूल्यवृद्धि भएको छ । यो भन्दा चार महिनाअघि साढे ४ सयमा पाउने सिमेन्ट अहिले ८ सय भएको छ । यसमा कार्टेलिङ भएको छ । सिण्डिकेट भएको छ । यो निर्माण सामग्रीमा र विशेष गरेर सिमेन्टमा भएको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा भन्दा पनि नेपाली उपभोक्ताले चर्को मूल्य हाल्नुपर्ने जुन स्थिति छ, यसले निर्माण कार्यमा लागत मूल्य बढिरहेको छ । एकातिर राज्यले पुँजीगत खर्च बढाउन सकिरहेको छैन ।
अर्कोतिर भएका विकास निर्माणका काममा पनि यस खालको मूल्यवृद्धिले लागत मूल्य बढ्ने र राज्यलाई बढी व्ययभार बढ्ने स्थिति भएको कारणले सरकारले छिटो भन्दा छिटो यसको समाधान गर्नुपर्छ । सार्वजनिक लेखा समितिले पनि छलफल गरेर सरकारलाई निर्देशन दिएको छ । त्यसको कार्यान्वयन गरी सिमेन्टको मूल्य घटाउन सरकारको तर्फबाट पहल होस् ।’
सांसद सार्कीले मूल्यवृद्धिले लागत मूल्य बढ्ने र राज्यलाई बढी व्ययभार बढ्ने स्थिति रहेको बताए ।