प्रविधि

टेलिकमको ‘डबल टु’ प्याकसहित विभिन्न योजना, २२ रुपैयाँमा नयाँ सिम

काठमाडौं । नेपाल टेलिकमले २२औँ वार्षिकोत्सवको अवसरमा विभिन्न आकर्षक अफर सार्वजनिक गरेको छ। कम्पनीले बिहीबारदेखि सात दिनसम्म लागू हुने गरी विशेष सब्सक्रिप्सन योजना ल्याएको हो।

टेलिकमका अनुसार ‘डबल टु’ प्याक अन्तर्गत जीएसएम पोस्टपेड तथा प्रिपेड ग्राहकहरूले माघ २२ देखि माघ २८ सम्म २२२ रुपैयाँमा २२ दिनको समयावधिसहित २२ जिबी डाटा प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी ‘डेली टु’ प्याक अन्तर्गत २२ रुपैयाँमा १ दिनको समयावधिका लागि २ जिबी डाटा उपलब्ध हुनेछ।

‘सेलिब्रेशन कम्बो प्याक’ अन्तर्गत २२२ रुपैयाँमै २२ दिनका लागि २२२ मिनेट सबै नेटवर्कमा कुरा गर्न मिल्ने भ्वाइस सेवा, ४ जिबी डाटा तथा २२२ वटा एसएमएस उपलब्ध गराइने टेलिकमले जनाएको छ।

कम्पनीले प्रिपेड सिम कार्डमा पनि विशेष छुट दिएको छ। हाल ९० रुपैयाँ पर्ने सिम कार्ड २२ रुपैयाँमै उपलब्ध गराइनेछ। यो योजना माघ २२ देखि फागुन १४ गतेसम्म देशभरका टेलिकम काउन्टरहरूबाट लागू हुनेछ।

एफटीटीएच सेवा नयाँ जडान गर्ने ग्राहकहरूका लागि ५०० रुपैयाँ लाग्ने जडान शुल्क माघ २२ देखि फागुन २२ गतेसम्म निःशुल्क गरिएको छ। विद्यार्थी अफरको समयावधि पनि २०८२ फागुन २२ सम्म थप गरिएको कम्पनीले जनाएको छ।

माघ २१ सम्म वार्षिक वा बहुवर्षीय एफटीटीएच डाटा सेवा प्रयोग गरिरहेका ग्राहकका मोबाइल नम्बरमा २२ जिबी मोबाइल डाटा बोनस प्रदान गरिनेछ। माघ २२ देखि २८ सम्म नयाँ जडान वा नवीकरण गर्ने ग्राहकहरूले पनि यो बोनस भोलिपल्टै प्राप्त गर्नेछन्।

यस अवधिमा १ महिना वा ३ महिनाको डाटा प्याकेज लिएका ग्राहकले वार्षिक वा बहुवर्षीय प्याकेजमा नवीकरण गरेमा २२ जिबी बोनस डाटा पाउनेछन्। डिमाण्ड पोर्टलमा माघ २८ सम्म दर्ता गराउने नयाँ ग्राहकहरू पनि यस योजनामा समावेश हुनेछन्। बोनस डाटाको समयावधि ७ दिनको रहनेछ।

यसैबीच, पुरानो बक्यौता असुली योजनाअन्तर्गत आर्थिक वर्ष २०७९/८० सम्मको बक्यौता माघ मसान्तसम्म भुक्तानी गरेमा लाग्ने जरिवाना २०८२ चैत मसान्तसम्मका लागि छुट दिइएको टेलिकमले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *