काठमाडौं । आईसीसी विश्वकप छनोट २०२३ को प्लेअफमा नेपालले युएईविरुद्ध टस जितेर सुरुमा बलिङ गर्ने भएको छ ।
जिम्बाब्बेको हरारे टाकासिंगा स्पोर्ट्स क्लबको मैदानमा नेपालले बलिङ रोजेपछि यूएईले सुरुमा ब्याटिङको निम्तो पाएको छ ।
नेपाल र यूएईबीचको विजेताले सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि गत शुक्रबार भएको पहिलो प्लेअफमा अमेरिकालाई आयरल्यान्डले पराजित गरेको थियो ।
नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपाल जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।
नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । युएई समूह बी मा चारै खेलमा हारका साथ पुछारमा रहेर बाहिरिएको थियो । युएई श्रीलंकासँग १ सय ७५, ओमानसँग ५ विकेट, स्कटल्यान्डसँग १ सय ११ र आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएको थियो ।




