काठमाडौं । नेपालले आइतबार आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत पहिलो खेल जिम्बावेविरुद्ध खेल्दैछ ।
नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । हरारे स्पोर्ट्स क्लबमा जिम्बावेका कप्तान क्रेग इर्विनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले ब्याटिङलाई ध्यानमा राख्दै जिम्बावेविरुद्ध प्लेइङ ११ मैदान उतारेको छ । नेपाली टिममा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् ।
नेपालले दीपेन्द्रसिंह ऐरीलाई टोलीमा फर्काएको छ । दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रका अब्बल खेलाडी मानिन्छन् । जिम्बावेको पिचमा नेपालले दुई प्रमुख स्पिनर नखेलाउने निर्णय लिएको हो । त्यसैले ललितको ठाउँमा दीपेन्द्रलाई मौका दिएको हो । नेपालको १ देखि ११ नम्बरसम्मका सन्दीप लामिछानेसमेतले राम्रो ब्याटिङ गर्दछन् ।




