मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

चैत्र १८ गते आइतबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । आइतबार तयार पारिएको मुख्य १० समाचारमामा आगामी निर्वाचनमा बहुमत ल्याउने वातावरण सिर्जना गर्न महिलाहरुले सक्रियतापूर्ण भूमिका खेल्नुपर्छ : सभापति देउवा देखि सूर्यबहादुर थापा अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्तसम्मका समाचार समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

आगामी निर्वाचनमा बहुमत ल्याउने वातावरण सिर्जना गर्न महिलाहरुले सक्रियतापूर्ण भूमिका खेल्नुपर्छ : सभापति

देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउन सबै नेता तथा कार्यकर्ताहरुले सक्रियताका साथ काम गर्न आवश्यक रहेको बताए । नेपाली कांग्रेस देशकै सबैभन्दा ठूलो पाटी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउन सबैले एकजुट भएर काम गर्न आवश्यक रहेको उल्लेख गरे । आइतबार मंगलादेवी सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई सक्रियाताका साथ अघि बढाउन महिलाको सहभागीता आवश्यक रहेको बताए ।

सभापति देउवाले महिला सशक्तीकरणको कार्यक्रम कायम रहेकाले आगामी दिनमा महिलाको सक्रियता बढाउन आवश्यक रहेको उल्लेख गर्दै मंगलादेवी सिंहले महिला अधिकारका लागि आवाज उठाएकाले अहिले महिलाको सहभागीता हरेक क्षेत्रमा बढ्ने गरेको छ । हाम्रो संविधानले पछाडि परेका महिलाहरुलाई अधिकार प्रदान गरेको छ उनले भने,‘ महिला अधिकारका सवालमा हाम्रो संविधान संसारका संविधानभन्दा उत्कृष्ट छ । हाम्रो पार्टीको विधानमा पनि नेपालकै संविधानको अनुसरण गरेर समावेशी बनाएका छौँ । कांग्रेश समानुपाति ढङगबाट अगाडी बढेको छ । सभापति देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउने पाटीको रुपमा कांग्रेसलाई स्थापित गराउन सबैले सम्मानजनक सहभागीता र सक्रियता बढाउनुपर्ने आजको आवश्यकता भएको उल्लेख गरे ।

प्रदेश सरकार भागबन्डाका सम्मानजनक नभएकोप्रति माधवकुमार नेपालको असन्तुष्टि

प्रदेश सरकार भागबन्डाका विषयलाई लिएर एकिकृत समाजवादी पाटीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाउँदै आएका छन् । अध्यक्ष नेपाललले प्रदेश सरकार भागभण्डमा सम्मानजनक सहभागी जनाउनुपर्ने भन्दै कुनै एक प्रदेशको नेतृतव एकिकृत समाजवादीलाई हुनुपर्ने बताउँदै आएको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा पनि उक्त कुरा उठेपछि विनानिष्कर्ष बैठक सकिएको छ । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई एमाले र माओवादी केन्द्रले सत्ता प्राप्ति लागि टेको बनाएको भन्दै सहयोग गर्न नसक्ने बताएपछि बैठक विनानिष्कर्ष सकिएको हो ।

नेपालले सात प्रदेशमध्ये एक प्रदेशको नेतृत्व एकिकृत समाजवादी पाटीले पाउनुपर्ने माग राख्दै आएको छ । पाँच दलिय गठबन्धनमा नै वार्ता नमिलेकाले सत्ता प्राप्तिका लागि सत्ताको टेको आँफू नबन्ने अध्यक्ष नेपालको भनाइ छ ।
सबै राजनीतिक नियुक्तीमा सम्मानजनक सहभागिता हुनुपर्ने बताउँदै अध्यक्ष नेपालले माओवादी र नेकपा एमालेले यसअघि गरेका सम्झौताका विषयमा बहस गर्नु आवश्यक रहेको बताए ।

अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्षलाई बागमतीमा विश्वासको मत दिन समेत आग्रह गर्दै बागमतीसहित सबै ठाउँमा एकीकृत समाजवादीको पोजिसन क्लियर हुनुपर्ने अडान राखेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिलेसम्म प्रदेशको भागभण्डाका विषयमा कुनै सहमति भएको छैन् ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिने तयारी गरेपछि एकिकृत समाजवादी पाटीले बागमती प्रदेशमा आफ्नो नेतृत्वको सरकार हुनुपर्ने भन्दै अडान राखेपछि अहिले बागमती प्रदेशका मुख्यमन्त्री कट्टेल अन्योलमा परेका छन् । एकीकृत समाजवादीको प्रदेश संसदीय दलको बैठकले पनि यथास्थितिमा मुख्यमन्त्री जम्मकेट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । दलका नेता कृष्णप्रसाद शर्मा खनालले पाँच दलीय गठबन्धन राजनीतिक गठबन्धन नभएको भन्दै अहिलेकै अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकारात्मक नहुने बताएका छन् ।

चैत १५ गते हाम्रो नेपाली पार्टीलाई सत्ता गठबन्धनमा सामेल गराउँदा एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेका राजेन्द्रमान श्रेष्ठले हस्ताक्षर गरेका थिए । त्यतिबेला तीन दलबाट संसदीय दलका नेताको हस्ताक्षर रहँदा एकीकृत समाजवादीबाट भने मन्त्रीको मात्रै हस्ताक्षर हुनुले पनि समाजवादी गठबन्धनप्रति सकरात्मक नरहेको एकिकृत समाजवादीले बताउँदै आएको छ ।

विकल र सुनिललाई २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई अनुसन्धानका लागि थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आज नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई पक्राउ गरेको थियो । त्यसपछि फागुन २ गते पुनः उनीहरुमाथि १० दिन म्याद थप भएको थियो । विकलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता र सुनिलमाथि पेमेन्ट गेट-वे अनियमिततामा मुद्दा चलेको छ ।

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न बागमती कांग्रेसको निर्देशन

कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ। प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार काठमाडौंमा बसेको कार्यसम्पादन समिति बैठकले पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।

मुख्यमन्त्री जम्कट्टेलले १९ चैतमा प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यतालिका रहेको छ। २३ फागुनमा विश्वासको मत फिर्ता लिएर कांग्रेस सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले २२ चैतसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। प्रदेश सभामा ३७ सांसद रहेको कांग्रेस केन्द्रमा सत्तासमीकरण परिवर्तन भएपछि प्रतिपक्षमा पुगेको छ भने एमाले सरकारमा प्रवेश गरेको छ। यस्तै, हाम्रो नेपाली पार्टीका शैलेन्द्र बज्राचार्यले नयाँ गठबन्धनलाई समर्थन गर्दै मन्त्री बनेका छन्।

दुई विधेयक छलफलका लागि समितिमा पठाइयो

प्रतिनिधिसभाको आजको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले पेश गरेको ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीलेद्वारा पेश गरिएको ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव आजको बैठकबाट सर्वसम्मतिले पारित भएको हो ।

आजको बैठकमा अर्थमन्त्री पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ समेत प्रस्तुत गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवम् नियमन गर्न आवश्यक रहेकाले यो विधेयक ल्याइएको अर्थमन्त्री पुनको भनाइ छ ।

त्यस्तै, प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र विद्यमान कानुनमा उल्लेखित तीनवटै तहका सरकारको वित्तीय अधिकार क्षेत्र व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको बताए । नेपालको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनियता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न र बैंक तथा वित्तीय संस्थाहरुको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमनलगायत कार्यलाई व्यवस्थित गर्नका लागि पनि विद्यमान ऐन संशोधन गर्न लागिएको उनको भनाइ छ ।

विधेयकमा डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफै शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायतका महत्वपूर्ण व्यवस्थाहरु समेटेको छ । प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार बिहान ११ बजे बस्नेछ ।

गृहमन्त्री लामिछानेसँग धरान उपमहानगरपालिका प्रमुख साम्पाङको भेट

धरान उपमहानगरका मेयर हर्कराज राईले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । मन्त्री लामिछानेलाई भेट्न मेयर राई आज (आइतबार) सिंहदरबारस्थित् गृह मन्त्रालय पुगेका हुन् । उनीहरुबीच पछिल्लो समय राम्रो सम्बन्ध नभएको चर्चा छ । खासगरी मेयर राईले सामाजिक सञ्जालमार्फत रवि लामिछानेको बारेमा विभिन्न टिकाटिप्पणी गरेपछि उनीहरुबीच सम्बन्ध चिसिएको चर्चा छ । गृहमन्त्री लामिछाने र मेयर राईबीच आगामी बैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको बुझिएको छ । इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बुलाई उम्मेद्वार बनाएको छ । हिजोमात्रै रास्वपाले इलाममा उम्मेद्वारसहित आमसभा गरेको थियो । उता, हर्कले पनि इलामको उपनिर्वाचनमा स्वतन्त्र भन्दै डेकेन्द्र सिंह थेगिमलाई चुनावी मैदानमा उतारेका छन् ।

विद्यार्थीलाई राष्ट्रिय परिचय वितरण गर्ने विषयमा रास्वपाभित्र छलफल

 विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने विषयमा रास्वपाले पाटीभित्र छलफललाई अघि बढाएको छ ।
पार्टी र रास्वपाबाट मन्त्री बनेकाहरुको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको हो । रास्वापाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विद्यार्थीहरुलाई पनि राष्ट्रिय परिचय पत्र बाँड्ने तयारी गर्ने बारेमा छलफल भएको जानकारी दिए । विद्यार्थीको वास्तविक संख्या पत्ता लगाउन विद्यार्थीलाई अनिवार्य रुपमा परिचयपत्र वितरण गर्न आवश्यक रहेको रास्वपाले बताउँदै आएको छ ।

ढकालका अनुसार विद्यार्थीलाई परिचय पत्र विरतणका लागि गृह र शिक्षा मन्त्रालयले समन्वय गरेर अगाडी बढाउने कुरा भएको छ । बैठकमा श्रम मन्त्री डीपी अर्यालले श्रम स्विकृति एक घण्टाभित्र वितरण हुने गरी व्यवस्था मिलाइएको ढकालले जनाएका छन् । वैदेशिक रोजगार विभागले तीन शिफ्टमा प्रदान गर्ने व्यवस्था गरेको छ । विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राती ९ बजेदेखि बिहान ४ बजेसम्मको ३ सिफ्ट कायम गरेर सेवा थालिएको हो । रास्वपाले प्रत्येक आइतबार विहान आफ्ना चार मन्त्रीसँग छलफल गर्दै आएको छ । आजको छलफलमा पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछाने, शिक्षामन्त्री सुमना श्रेष्ठ, श्रम मन्त्री डीपी अर्याल उपस्थित थिए । चार मन्त्रीसँगको छलफलमा पार्टीबाट उपसभापति स्वणिर्म वाग्ले, महामन्त्री ढकाल र नेता शिशिर खनाल सहभागी हुँदै आएका छन् । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ आइतबारको बैठक अनुपस्थित भएका थिए ।

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए । पहिरोबारे डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।

प्रधानमन्त्री र प्रहरी प्रमुखले गृहमन्त्री लामिछानेलाई ‘क्लिन चिट’ दिन मिल्दैन : कांग्रेस

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछालाई सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री प्रचण्ड र प्रहरी प्रमूख बसन्त कुँवरले ‘क्लिन चिट’दिन नहुने बताएको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद सन्जय गौतमले लामिछानेलाई यसरी उन्मुक्ति दिनु सही नभएको बताए । नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न माग गर्दै आइरहेको छ । सांसद गौतमले अघिल्ला गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषीलाई उन्मुक्ति नदिने भन्दै अपराध गरेकोमा कारबाही हुने कुरा बताएको उल्लेख गर्दै त्यो व्यवहारमा लागू नभएको टिप्पणी गरे । अपराधमा जोडिएका व्यक्तीलाई महाराजाले जस्तो प्रधानमन्त्रीले हुकुम दिन नमिल्ने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै संसदीय छानबिन समिति नबने लामिछानेको विषयमा छानबिन हुन नसक्ने बताए । गोरखा मिडिया नेटर्वकका नाममा ८० करोडभन्दा बढी सहकारीको रकम जम्मा भएको छ । आज त्यो मिडिया सञ्चालनमा छैन । ९० हजार जनताले कसरी न्याय पाउने ? उनले सरकारलाई प्रश्न गरे । गृहमन्त्रीको नैतिकता स्वार्थ बाझिएको उल्लेख गर्दै कुनै पनि पदमा आरोपितले सफाइ नपाएसम्म पदमा बस्न उचित नहुने बताए । पूर्वअर्थमन्त्रीद्वय रामशरण महत र जर्नादन शर्मा तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको उदाहरण दिँदै लामिछानेलाई नैतिकताका धरातलमा उभिएर देश र जनताका बारेमा बोल्न समेत उनले आग्रह गरे । उनले उक्त विषयमा निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गरेर अनुसन्धानलाई अगाडी बढाउन अनिवार्य भएको बताए ।

महालेखापरीक्षकमा तोयम रायको नाम सिफारिस

 महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरेको हो । महालेखापरीक्षक एक वर्षदेखि रिक्त रहेको थियो । ७ जेठ २०८० मा महालेखापरीक्षक टंकमणि शर्माको कार्यकाल सकिएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन भएको हो । राजनीतिक दलहरूबीच संवैधानिक नियुक्तिमा सहमति नजुटेका कारण महालेखापरीक्षक नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको थिएन । संवैधानिक परिषद्‌को सचिवालयले २० साउन २०८० मा महालेखापरीक्षक नियुक्तिका लागि आवेदन मागेको थियो ।

सूर्यबहादुर थापा अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त

 अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त भएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । थापा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायमा अर्थशास्त्रका प्राध्यापक हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *