मुख्य समाचार

समाचार संग्रह : संकल्प खबर विशेष मुख्य १० समाचार

असोज २३ गते मंगलबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । मंगलबार तयार पारिएको मुख्य १० समाचारमा एसियाडमा सहभागी नेपाली टोली स्वदेश फर्कियो देखी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिद्वारा प्रतिवेदन पेश सम्मका समाचारलाई समेटिएको छ ।

हेर्नुहोस आजका मुख्य १० समाचार

एसियाडमा सहभागी नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं।चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी नेपाली टोली स्वदेश फर्किएको छ ।चीनबाट नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार विहान स्वदेश आइपुगेको हो । नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो । त्रिपरेश्वरस्थित राखेप परिसरमा पदक विजेता खेलाडीको सम्मान कार्यक्रम हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । यसपटक करातेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । अहिलेसम्म नेपालले एसियाडमा ३ रजत र २३ कास्य पदक जितेको छ । यसपटक एसियाडमा नेपालले २९ खेलमा २ सय ५३ खेलाडीले भाग लिएका थिए ।

सन् १९९८ पछि पहिलो पटक नेपालले व्यक्तिगतस्पर्धामा रजत पटक यसै पटक जितेको थियो । त्यति बेला तेक्वान्दोकी सविता राजभण्डारी रजत पदक जितेकी थिइन् । नेपालले १८औँ संस्करणमा प्याराग्लाइडिङको टिम इभेन्टमा रजत पदक जितेको छ । सन् २००६ पछि पहिलो पटक नेपालले एक भन्दा बढी पदक जितेको छ । सन् २००२ र २००६ मा नेपालले तेक्वान्दोमा समान ३ कास्य पदक जितेको थियो ।

हमासको आक्रमणमा मारिने विदेशीको संख्या ५० नाघ्यो

प्यालेस्टाइनी अतिबादी समुह र इजरायलका बिचमा युद्द जारी छ । गत शनिबार अचानक हमास समुहले इजारयाली भुमीमा अचानक र अप्रत्याशित आक्रामण गरे पछि सुरू भएको सो युद्दमा दुबै तर्फ गरी अहिलेसम्म करिब १५ सय मानिस मारिएका छन् । इजरायलले ‘हमासले सुरु गरेको युद्दको अन्त्य आफुले गर्ने’ जनाउने तथा हमासले भने गाजामा थप आक्रामण गरे आफुसँग बन्धक रहेका इजरायली अधिकारी तथा सर्बसाधारणलाई एक एक गरी हत्या गर्ने चेतावनी दिईरहे पछि सो युद्धमा मारिनेहरुको संख्या अझै बढन सक्ने देखिएको छ । यो युद्ध कहिल्यै अन्त्य हुनेछ ? भन्ने अहिले भन्न सकिने अवस्था छैन, दुवैतर्फका चेतावनी हेर्दा यो युद्ध अझै अघि बढने निश्चित जस्तै छ ।

यसै बिच सो युद्धमा परेर १० जना नेपालीले ज्यान गुमाईसकेका छन भने धेरैजना घाइते भएका छन । सो युद्धमा कतैपनि सहभागी नभएका ५० जना बिदेशीले पनि अनाहकमा ज्यान गुमाएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन । हमासको आक्रमणमा मारिने विदेशीको संख्या अहिलेसम्म करिब ५० पुगेको छ । यस अवधिमा करिब ८० जना या त हराइरहेका छन् वा बन्धक बनाएका छन् ।

एकसाथ एकै व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण गर्न सफल किष्ट शिक्षण अस्पताल


ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले नेपालमा पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण शल्यक्रिया गर्न सफल भएको छ । सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यले जानकारी दिए । एकै व्यक्तिको शरिरका महत्वपूर्ण अंग (कलेजो र मिर्गौला) दुवैको एक साथ प्रत्यारोपण शल्यक्रिया सफल गरेको नेपालको इतिहासमै पहिलो पटक डा. बज्राचार्यले बताए । ३५ वर्षीय श्रीमानले उनलाई कलेजो दिएका थिए भने ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेका थिए।

बिरामी महिलामा जन्मजात रोग (प्राइमरी हाइपरोक्सालुरिया) देखिएपछि कलेजोका कारणले दुवै मिर्गौला बिग्रिएका थिए । मिर्गौला बिग्रिएर उनले अस्पतालबाट डायलाइसिस सेवा लिइरहेकी थिइन् । कलेजोबाट निस्किएको विषाक्त रयासनका कारण मिर्गौला खराब भएको हुन पुगेको थियो । जसको कारण बिरामीको दुवै अंग एकैसाथ प्रत्यारोपण गर्नुपरेको अस्पतालले जनाएको छ । शल्यक्रिया गर्न १८ घण्टाभन्दा बढी समय लागेको र शल्यक्रिया गर्न १०० जना भन्दा बढी जनशक्ति परिचालन भएको बज्राचार्यले बताए । किष्ट शिक्षण अस्पतालमा ११५ जनाभन्दा धेरैको अंग प्रत्यारोपण शल्यक्रिया गरिसकेको छ ।

नयाँबसपार्कबाट २४ हजारभन्दा बढी यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो । पहिलो दिन सोमबारमात्र २४ हजार तीन सय ४० यात्रुले टिकट लिएको नयाँबसपार्कका सञ्चालक लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले जानकारी दिए । सोमबार अग्रिम टिकट लिनका लागि आइतबार रातिदेखि नै यात्रुहरु नयाँबसपार्कमा आएर लाइन लागेका थिए ।

नयाँबसपार्कबाट देशको ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन् । सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनलाई लक्ष्य गरी अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ । नयाँबसपार्क क्षेत्रमा चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले थप जनशक्ति परिचालन गरेको छ ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले यात्रुहरुको सुरक्षाका लागि ५० भन्दा बढी प्रहरी सादा पोसाकमा परिचालन गरिएको जानकारी दिए । उनले काठमाडौँ जिल्लाका लागि मात्रै विशेष सुरक्षा योजनाअन्तर्गत १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए ।

यस्तै विभिन्न प्रविधिको सहयोगमा आम नागरिकलाई सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न आवश्यक जनशक्तिसहित तयार रहेको प्रहरी वरिष्ठ उपरीक्षक खत्रीको भनाइ थियो । प्रहरीले चाडबाडमा बढी भीडभाड हुने स्थानमा बढीवान क्यामरा, गोप्रो क्यामरा र ड्रोनबाट समेत निगरानी गर्न लागेको छ ।

कति भयो यस वर्षको मनसुनी वर्षा ?

नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव पाँच प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ । नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् सुदर्शन हुमागाईंले आँकलन गरेअनुसार यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा भएको बताए ।

उनले सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि जोमसोममा दुई सय दस दशमलव सात मिलिमिटर वर्षा भएको छ, जुन सरदरको एक सय ३३ दशमलव पाँच प्रतिशत हो । त्यस्तै काठमाडौंमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ । जुन सरदरको एक सय नौ प्रतिशत हो । काठमाडौंमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ ।

त्यसैगरी ओखलढुङ्गामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्ष भएको छ, जुन सरदरको एक सय ७ प्रतिशत हो । यसपाली जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ । यस वर्ष छ सय ३७ दशमलब एक लिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलब आठ मिलिमिटर हो ।

जर्मनीसँग पनि श्रम सम्झौता, श्रमिकहरूले कुनै शुल्क तिर्नु नपर्ने

नेपालले जर्मनीसँग पनि श्रम सम्झौता गरेको छ। मंगलबार जर्मनसँग श्रम सम्झौता गरेको हो। यसअघि नेपालले रोमानियासँग श्रम सम्झौता गरेको थियो।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपेली देश रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको जनाएको छ। युरोपेली देश रोमानिया र जर्मनी जान नेपालीले लाखौँ रुपैयाँ तिरेर ठगीमा पर्ने गरेका छन् । सुरक्षित गन्तव्यको खोजी गर्ने क्रममा नेपालले श्रम सम्झौता गरेको हो ।

समझदारीअनुसार जर्मनी जाँदा श्रमिकहरूले कुनै पनि शुल्क तिर्नु नपर्ने श्रम मन्त्रालयले जनाएको छ । जर्मनीले अहिले कुन–कुन क्षेत्रमा नेपाली श्रमिक लैजाने भनेर तोकिसकेको भने छैन । जर्मनीमा निर्माण क्षेत्र, फ्याक्ट्रीलगायत क्षेत्रमा श्रमिक माग हुने गरेको छ। जर्मनी जान श्रमिकहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने छन्। जर्मनीमा श्रम सम्झौता नभए पनि विभिन्न बाटो हुँदै नेपालीहरू पुगेका छन्। नेपालीहरू भिजिट भिसा, अवैध बाटो हुँदै जर्मनी पुग्ने गरेका छन् । अबदेखि जर्मनीमा दक्षिण कोरिया जस्तै इपिएस प्रणालीअनुसार श्रमिकहरू जाने छन् । रोमानियामा भने मेनपावर कम्पनीले श्रमिक पठाउने भएका छन् ।

परराष्ट्रमन्त्री साउदद्धारा इजरायलका विदेशमन्त्री एली कोहेनलाई नेपालीको शव नेपाल ल्याउन सहजीकरण गर्न आग्रह

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् । उनले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुराकानी गरेका हुन् । कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए महामहिमज्यू १० नेपालीको मृत्युको खबरले हामीहरुलाई स्तब्ध बनाएको छ। उहाँहरु विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो,’ कुराकानीका क्रममा साउदले भने , ‘अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत उहाँहरु इजरायल गएका थिए । दुःखद घटनाले गर्दा उनीहरुका घरपरिवारका सदस्यहरु दुःखी र चिन्तित छन्।’

परराष्ट्रमन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरे । ‘महामहिमज्यू, अब हामीले मृतकहरुको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ। थोरै ढिलाईले पनि घरपरिवारका सदस्यहरुमा झन पीडा थप्ने छ,’ उनले भने ‘तसर्थ शवहरु नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु। त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ।’

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल भ्रमणको निम्तामा नेपाल आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थागित भएको छ। उनको भ्रमण छिट्टै हुने सरकारले जानकारी गराएको छ। इजरायलको पछिल्लो घटनाले राष्ट्रसंघको ध्यान त्यता केन्द्रित गर्न परेको कारण आगामी असोज २६ मा हुने भनिएको उनको भ्रमण तत्कालका लागि रद्द गरिएको हो। महासचिव चीन भ्रमणमा जानु अघि नेपाल आएर यतैबाट चीन जाने तयारी थियो। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसङ्घ महासभामा सहभागी हुँदा नेपाल भ्रमणको निम्ता गरेका थिए।

कोशीमा कांग्रेसले फेरि पनि आफ्नै नेतृत्वमा सरकार बनाउने

नेपाली कांग्रेसले कोशी प्रदेशमा फेरि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकले कांग्रेसले कोशीमा पार्टीकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कोशीमा फेरि कांग्रेस नेतृत्वमै सरकार बनाउनुपर्ने विषयमा कुराकानी गर्ने भएका छन् । मओवादीले पनि सरकारको नेतृत्वमा दाबी गरेपछि कांग्रेसले छलफल गर्न लागेको हो ।

बैठकमा सभापति देउवाले पुनः कांग्रेसकै नेतृत्वमा कोशीमा गठबन्धन सरकार बनाउनुपर्ने धारणा राखेका थिए। अहिलेको गठबन्धनलाई कायम राख्दै थप दलहरूको समर्थन खोज्न पहल गर्नुपर्ने उनको भनाइ थियो ।

कोशीमा राप्रपालाई पनि सरकारमा सामेल गराउने प्रयासमा कांग्रेस लागेको छ । यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि भेटेर कुरा गर्ने तयारी छ। स्रोतका अनुसार कांग्रेस र राप्रपाबीच नेताहरूको व्यवस्थापन विषयमा भद्र सहमति हुने भएको छ । यदि सो सहमति भएमा राप्रपा सरकारमा सहभागी हुने नेताहरुको भनाइ छ ।

कोशीका मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख परशुराम खापुङले असोज २६ गते अपराह्न ५ बजेभित्र सरकार गठनका लागि समय दिएका छन्। अब जो सांसदले आफूलाई बहुमत रहेको देखाउन सक्ने छ, उही मुख्यमन्त्री हुनेछ । कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुईपटक र एमाले संसदीय दलका नेता हिक्मत कार्की पनि दुईपटक कोशीको मुख्यमन्त्री भइसकेका छन्। बहुमत पु¥याउन नसक्दा महिना दिन नपुग्दै उनीहरूको सरकार ढल्ने गरेको छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिद्वारा प्रतिवेदन पेश

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठन गरिएको उपसमितिले प्रतिवेदन पेश गरेको छ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धमा गठित उपसमितिले मंगलबार प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा थप ४ विषयमा छलफल गर्न आवश्यक रहेको उल्लेख छ । विधेयकमा सहमतिका लागि गत जेठ ५ गते उपसमितिको गठन भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *