असोज ८ गते सोमबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । सोमबार तयार पारिएको मुख्य १० समाचारमा महासमिति बैठक तयारीका लागि कांग्रेसद्धारा चार समिति गठनदेखी अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ दोषी ठहरसम्मका समाचारलाई समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
महासमिति बैठक तयारीका लागि कांग्रेसद्धारा चार समिति गठन
नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ। बिहिबारदेखी सोमबारसम्म बसेको कांग्रेस केन्द्रिय समितिको बैठकले महासमिति बैठकको लागि तयारी समिति गठन गरेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।
कांग्रेस स्रोतका अनुसार सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल आयोजक समिति र उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति गठन भएको छ । यस्तै महामन्त्री गगन थापाको नेतृत्वमा सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन भएको छ ।
महामन्त्री गगन थापाले महासमिति बैठकका लागि आवश्यकताअनुसार समिति थप घट गर्न मिल्ने अधिकार सभापतिलाई भएको बताए । महामन्त्री थापाका अनुुसार नेपाली कांग्रेसले यही असोज १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय गरेको छ । शुक्रबार बसेको कांग्रेस बैठकले विद्यालय शिक्षा विधेयकका वारेमा शिक्षा विधेयकमा संशोधन र परिमार्जन गर्ने प्रतिबद्धता जनाएको थियो ।
साउन पहिलो साता बसेको बैठकले सरकारलाई दिएको सुझाव कार्यान्वयन नभएकोबारे ध्यानाकर्षण गराउने निर्णय गरेको छ । संविधान कार्यान्वयनका सन्दर्भमा कानुन निर्माणमा अविलम्ब गर्ने कांग्रेस बैठकले ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यस्तै नेपाली कांग्रेसले प्रदेशहरुमा मन्त्रालय नबढाउन निर्देशन गर्ने निर्णय समेत गरेको छ ।
फार्मेसीका नाममा भइरहेका गैरकानूनी काम रोकिनु पर्छ ः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फार्मेसीका नाममा भइरहेका गैरकानूनी कामहरु बन्द हुनु पर्ने बताएका छन् । नेपाल फार्मेसी संघले विश्व फार्मेसी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले फार्मेसी नै नपढेका मानिसहरुले फार्मेसी चलाउने गरेको, दर्ता नै नगरि फार्मेसी चलाउने गरेको, नविकरण नै नगरि फार्मेसी चलाउने गरेको, अर्कैको सर्टिपिकेट राखेर फार्मेसी चलाउने जस्ता गैरकानूनी काम फार्मेसीको क्षेत्रमा भइरहेकाले यस्ता गतिविधि तत्कालै रोकिनु पर्ने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको नेतृत्वमा फार्मेसीहरुको अनुगमन तिव्र पारेको बताउदै मन्त्री बस्नेतले कानून विपरित सञ्चालित फार्मेसीहरुलाई सचेत गराउनेदेखि सिल गर्नेसम्मका कारवाही अगाडि बढाइएको जानकारी दिए । उनले भने, ‘फर्मासिस्टको तुलनामा फार्मेसीको संख्या बढी रहेको पाइएको छ । यो हुनु हुदैन ।
कानून बिपरित अर्कैको फोटो झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ । ’ देशमा फार्मेसी पढेकाले काम नपाएर बस्नु पर्ने तर नपढेकाहरुले अर्कैको फोटो झुन्ड्याएकै भरमा फार्मेसी चलाउने प्रवृति अन्त गर्नु पर्नेमा मन्त्री बस्नेतको जोड थियो । स्वास्थ्य क्षेत्र सुधारका लागि आफू दिनरात नभनि लागिपरेको दावी गर्दै मन्त्री बस्नेतले निजी अस्पतालहरुमा समेत विपन्नका लागि १० प्रतिसत शैया निस्शुल्क गर्न सक्नु, पावरका भरमा काजमा रहेका साडे ८ सय स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्न सक्नु र केन्द्रीय अस्पतालहरुका साडे ३ हजार जनरल शैया विपन्नका लागि निस्शुल्क गर्न सक्नु चानचुने कुरा नभएको बताए ।
सरकारमा बसेर देश संकटमा छ भन्न मिल्दैन ः महामन्त्री गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने दलको नाताले कांग्रेसले देश सङ्कटमा छ भन्न नसुहाउने टिप्पणी गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले नेतृत्व गर्ने अनि देश सङ्कटमा छ भन्ने ? भन्दै देश सङ्कटमा नभई कांग्रेसको जिम्मामा भएको बताए । थापाले भने ‘देश संकटमुक्त कहिले हुन्छ ? हाम्रो नेतृत्वमा संविधान बनायौ, हामी सबैभन्दा ठूलो दल भएका छौँ, ३३२ पालिका, सात प्रदेशमा हामी, मुख्यमन्त्री हाम्रो, प्रधानमन्त्री हाम्रो सबै हाम्रो हातमा हुने अनि हामीले देश सङ्कटमा छ भन्ने देश सङ्कटमा छैन्, हाम्रो जिम्मामा छ ।’
त्यस्तै उनले संघीयताको संरक्षणका लागि पार्टीले भूमिका खेल्नु पर्ने बताएका छन्। कांग्रेसले नै संघीयता संरक्षणको नेतृत्व गर्नु पर्ने उनको भनाई छ । ‘हामीलाई यो पाँच वर्षमा जनताकै तहबाट संघीयता चाहिन्छ भन्ने अवस्थामा पु¥याउनु छ । हामीले ध्यान दिनु पर्दैन । हामी नैतिक पक्ष रहेर शासनले पाएको जिम्मेवारी पूरा गरिम भने कुनै कुराले हामीलाई तल माथि गर्न सक्दैन । सबै कुराहरूबाट माथि उठ्न सक्ने ताकत नेपाली काङ्ग्रेस भित्रै छ,’ थापाले भने ।
अब आमाको नामबाटै नागरिकता लिन पाइने, बुबाको नाम आवश्यक नपर्ने
सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम उल्लेख गर्नुनपर्ने प्ररमादेश जारी गरेको छ ।सोमबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो परमादेश जारी गरेको हो । न्यायाधीशद्वयले गत साउन २३ मा न्यायाधीशले जारी गरेको परमादेशको पूर्णपाठ सोमबार सार्वजनिक भएको हो ।
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली राजपत्रमा सार्वजनिक ः गैरआवासीयलाई पनि नागरिकता
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित भएपछि गैर आवासीय नेपालीलाई पनि नागरिकताको प्रमाणपत्र वितरण गरिने भएको छ । नियमावली असोज ४ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था कार्यान्वयनमा आएको आज महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा गृह मन्त्रालयका नागरिकता तथा परिचयपत्र व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर कटुवालले जानकारी दिए ।
नागरिकतामा नेपाली नागरिकताको प्रमाणपत्र भनी लेख्ने गरिएकामा गैरआवासीय नेपालीलाई दिइने नागरिकतामा भने गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र भनी उल्लेख हुने व्यवस्था गरिएको छ । यस्तो नागरिकता लिनेलाई राजनीतिक अधिकार भने नहुने उनले स्पष्ट पारे ।
नियमावलीमा उल्लेख भएअनुसार गैरआवासीय नेपाली नागरिकता लिनेलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार भने हुनेछ तर उनीहरूका लागि शपथको पनि व्यवस्था पनि गरिएको शाखा प्रमुख कटुवालले जानकारी गराए । बाबु वा उनका परिवारले नागरिकताका लागि सनाखत गर्न नमानेमा जनप्रतिनिधिले सनाखत गरेका आधारमा पनि १६ वर्ष उमेर पुगेकालाई नागरिकता दिन सकिने व्यवस्था नियमावलीमा गरिएको छ । सरकारी मान्यताप्राप्त अनाथालायमा हुर्किएका बालबालिकालाई स्थानीय सरकारको सिफारिसका आधारमा नागरिकता दिन सकिने भएको छ ।
कोशीमा मन्त्रिपरिषद् विस्तार
कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज २ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका हुन् । जस अनुसार बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।
त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । ४ मन्त्री नियुक्त भएसँगै कोशी प्रदेश सरकार ९ सदस्यीय बनेको छ । भदौं २२ मा कार्की सर्वोच्चको परमादेशले मुख्यमन्त्री नियुक्त भएका थिए । नवनियुक्त मन्त्रीहरुको शपथ आजै हुनेछ ।
- शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध छ– रक्षामन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौतामा सरकार पूर्ण प्रतिबद्धता रहेको बताएका छन् ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति वैठकको सुरुमा बोल्दै उनले शिक्षकको आन्दोलन र सरकारसँग भएको सहमति तथा कामकारबाहीबारे जानकारी गराउदै संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र रही सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गर्ने बताए । नेपाल कांग्रेसका उपसभापति समेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले भने, “देशको संविधानसँग बाँझिने र अर्थतन्त्रले धान्न नसक्नेबाहेक माग सम्बोधन गर्न सकिन्छ भनेर मैले भनेको छु ।”
असन्तुष्ट शिक्षकले सुुरुमा कर्मचारीसँग वार्ता गर्दैनौँ भनेर अडान लिएको र पछि शिक्षामन्त्रीसँग पनि वार्ता गर्दैनौ भनेपछि उपप्रधानमन्त्रीको नेतृत्वमा वार्ता भएको बताए । “उनिहरुका असन्तुष्टी वार्तामार्फत सम्बोधन गर्दै उहाँहरुकै मागअनुसार टुङ्गो लगाएका छौँ । उक्त सम्झौताप्रति सरकार पूर्ण प्रतिबद्धता छ”, उनले भने । संसद्को मर्यादा, प्रक्रिया र परम्पराभित्र राखेर सरकार र संसद् मिलेर शिक्षकका सबै मागलाई सम्बोधन गर्ने उनको भनाइ छ ।
यस्तो छ बेइजिङमा भएको नेपाल–चीनबीच १२ बुँदे सम्झौताको सूची
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङ्बीच सोमबार विभिन्न १२ विषयमा सम्झौता, समझदारीपत्र तथा प्रोटोकलमा हस्ताक्षर भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबीच विज्ञान, प्रविधि र आविष्कारका विषयमा सम्झौता भएको छ । नेपालबाट शिक्षा सचिव सुरेश अधिकारी र उनका चिनियाँ समकक्षीबीच सम्झौता आदानप्रदान भएको हो ।
प्रकोपसम्बन्धी सामग्री तथा मानव स्रोत आदनप्रदानसम्बन्धी दुईवटा समझदारीपत्र आदानप्रदान भएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ सम्बन्धित अधिकारीबीच पत्र आदानप्रदान भएको हो । सन् २०१७ मा तयार भएको नेपालको उत्तरी क्षेत्रका लागि उत्पादन तथा लिभिङ मेटेरियलको प्रमाणपत्र पनि हस्तान्तरण भएको छ ।चीनको राष्ट्रिय विकास तथा सुधार आयोग तथा नेपालको राष्ट्रिय योजना आयोगबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीबीच आदानप्रदान भएको हो ।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबीच डिजिटलाइकोनोमीसम्बन्धी सहकार्य अभिवृद्धिबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको वन तथा वातावरण मन्त्रालयबीच हरित तथा न्यून कार्वन विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
दुई देशका कृषि मन्त्रालयबीच कृषि तथा पशुपंछी विकाससम्बन्धी सहयोगबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । कृषि सचिव रेवतीरमण पौडेल र चिनियाँ अधिकारीबीच समझदारीपत्र आदानप्रदान भएको हो । सन् १९८१ मा दुई देशबीच भएको नेपाल चीन व्यापार तथा भुक्तानीसम्बन्धी सम्झौता पुनरावलोकन र परिवर्तनका लागि गृहकार्य गर्ने संयुक्त प्राविधिक कार्यसमूह स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
एमालेको बागमती प्रदेश अधिवेशन रिमोटबाट दियो बालेर उदघाटन
नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेकपा एमाले बागमति अधिवेशन काठमाडौंमा ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर कार्यक्रम उदघाटन गरिएको हो । नेकपा एमालेले सोमबार उद्घाटनका लागि रत्नपार्कदेखी भृकुटीमण्डपसम्म ¥याली निकालेको थियो ।
काठमाडौं भृकुटी मण्डपमा सोमबारदेखी सुरु भएको एमाले बागमति प्रदेश अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु रहेका छन् । बागमती प्रदेशको नयाँ नेतृत्व चयन गरेर यसअघि ४४७ सदस्यीय रहेको बागमती प्रदेश कमिटीलाई अधिवेशनबाट ५ जना पदाधिकारीसहित २४० सदस्यीय बनाउने भएको छ । अध्यक्ष पदमा झण्डै आधा दर्जन बढी नेताले उमेदवारी दिइने भएका छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष केशव पाण्डे, कृष्ण दाहाल, कैलाश ढुंगेल, विजय सुवेदी, भूमि त्रिपाठी, खेम लोहनी, कृष्णभक्त पोखरेल लगायत आकांक्षी छन् ।
अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री श्रेष्ठ दोषी ठहर
अकुत सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन् । विशेष अदालतले आज (सोमबार) श्रेष्ठलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठकी श्रीमती र छोरा समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । श्रेष्ठ पूर्व सचिव समेत हुन् । उनी खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटन, शान्ति तथा खेलकुदमन्त्री बनेका थिए । २०२६ सालमा शिक्षकबाट सरकारी सेवा थालेका उनी २०३६ सालमा शाखा अधिकृत नियुक्त भएका थिए । उनले २०६४ सालमा सचिवबाट अवकाश पाएका हुन् ।




