साउन २३ गते मंगलबार संकल्प खबरले दिनभरि देशभरमा भएका १० मुख्य समाचार तयार पारेको छ । दिनभरि घटेका घटनालाई एक साथ हेर्न मिल्ने गरि संकल्प विशेषलाई ध्यान दिदैँ मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो ।
हेर्नुहोस संकल्प खबरका १० मुख्य
जेनेभा पुगेपछि माधव नेपालले भने –ललिता निवास प्रकरणमा मैले गल्ती गरेको छैन
काठमाडौं । स्विटजरल्यान्डको जेनेभामा पार्टी प्रवासी एकता मञ्चले आयोजना गर्ने कार्यक्रममा भाग लिन युरोप भ्रमणमा सोमबार गएका एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अहिले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै पनि गल्ति नभएकाले नडाराउने बताएका छन् ।
त्यसैले कुनै पनि व्यक्तिलाई उन्मुक्ति दिने होइन, छानविन गर्ने, बदमासी गरेको भए दण्ड गर्ने । मैले गरेको छैन भन्ने मलाई पूरै विश्वास छ । मैले कुनै राष्ट्रका विरुद्धमा, राष्ट्रिय सम्पत्तिको विरुद्धमा, भ्रष्टाचारको पक्षमा मुछिने कुनै पनि काम गरेको छैन ।
सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने प्रकरणमा नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीमाथि पनि अनुसन्धान सुरु गर्न आदेश दिएपछि माधव कुमार नेपालले आफ्नो गल्ति नभएको बताउँदै आएका छन्
एक क्विन्टल सुनबारे गृहमन्त्रीले भने : अनुसन्धान निकायबाट काम नभएन छानबिन समिति गठन गरौँ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केही दिनदेखि सरकारको विरुद्धमा उठेका प्रश्नहरूको जवाफ दिन पाउँदा खुसीलागेको बताएका छन् ।मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले आफूलाई संसदमा बोल्न दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई धन्यवाद दिँदै आफ्नो भनाइ सुरु गरेका थिए ।संसदमा बोल्दै मन्त्री श्रेष्ठले देशलाई समृद्धिमा लैजानका लागि प्रमुख काम सुशासन भएको बताए । ‘सुशासन, समृद्धि र सामाजिक न्याय देश विकास गर्न पहिलो काम हो,’ उनले भने ।
यस क्रममा उनले तथ्य प्रमाणका आधारमा दोषीलाई कारबाही गर्ने बताउँदै यसबारे प्रश्न नगर्न आग्रह गरे । ‘ललिता निवास जग्गा प्रकरणमा किन अदालतको आदेश पर्खेको भन्नु भएको छ,’ उनले प्रश्न गरे, ‘यसले त अनुसन्धान गर्न थप फराकिलो दायरा दिएको हैन र ?’ यस्तै, उनले पहिलेका सरकारमाथि प्रश्न गर्दै सीआईबीलाई अनुसन्धान गरेर पहिला आफ्नो टेबलमा ल्याएर मात्रै काम गर्न आदेश दिने गरेको थियो र ? भन्दै प्रतिप्रश्न गरे ।यस क्रममा उनले साउन २ गते राजस्व अनुसन्धान विभागले समातेको एक क्विन्टल सुनबारे जवाफ दिएका थिए । उनले सुन प्रकरण जस्ता घटनाले देशलाई लज्जाबोध बनाएकाले यसबारे सिंगो देश अनुसन्धानमा लाग्ने बताए ।
साइबर सुरक्षा नीति–२०८० स्वीकृत, यी हुन मन्त्रिपरिषदका निर्णयहरु
सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको छ मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो ।
त्यस्तै मन्त्रिपरिषद बैठकले ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यस्तै बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वकृति दिने निर्णय पनि गरेको छ ।
मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
नेपाल सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ५ रुपैंया दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिइन् । उनले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने र बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वकृति दिने निर्णय भएको पनि जानकारी दिइन् । मन्त्री शर्माले बैठकका अन्य निर्णय नियमित पत्रकार सम्मेलनमार्फत् जानकारी गराइने बताइन् ।
प्रतिपक्षको अवरोधपछि संसद् बैठक स्थगित, बुधबार बस्ने
प्रमुख प्रतिपक्ष नेकपा एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग लिएर संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद् बैठक भोलि बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरेका छन ।सभामुख घिमिरेले आजको बैठकको कार्यसूची हटाएपछि सत्ता पक्षका सांसदले उठेर विरोध जनाए । त्यसपछि घिमिरेले बैठक स्थगित गरेका हुन् ।
सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट चित्तबुझ्दो जवाफ नआएको एमालेले जनाएको छ ।एमालेले आफ्ना माग राखे पनि संसदको नियमित कार्यसूची हटाएर जनताको आवाजलाई बोल्न नदिएको भन्दै सत्ता पक्षका सांसदहरूले आपत्ति जनाए ।१३ दिनपछि प्रतिनिधिसभाको बैठक सुचारु भएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन तयार भएपछि एमाले लचक भएको हो । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमाले सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बन बताएका थिए । अहिले रायमाझी भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका छन् ।
राष्ट्रपति पौडेल र इयूका राजदूत डेप्रेजबीच भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छन ।मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।
कांग्रेस महामन्त्री शर्माले भने –को सत्तापक्ष को प्रतिपक्ष बिर्सिएर अनुसन्धानमा सहयोग गरौँ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले को सत्तापक्ष को प्रतिपक्ष बिर्सिएर अनुसन्धानमा सहयोग गर्न प्रतिपक्षलाई आग्रह गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यसअघि सरकारले थालेका अनुसन्धान निचोडमा नपुगे पनि अब त्यसो नहुने विश्वासका साथ थालिएको अनुसन्धान पूरा हुन दिनु पर्ने बताए ।
‘अनुसन्धान गर्ने विषयमा सम्बन्धित निकायले अनुसन्धान गर्न सुरु गरेको छ, जुन विषयको अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘त्यो विषयमा संयमता अपनाऔँ, हामीले धैर्याता गरौँ, राज्यका निकायहरूलाई सहयोग गरौँ, को सत्तामा छौँ को प्रतिपक्षमा छौँ त्यो बिर्सिएर जाऔँ ।’
नारायणगढ – मुग्लिन सडक सञ्चालनमा
अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आज बिहान ५ः २० बजे खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ः२० बजेबाट सडकखण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको हो ।
इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा पहिरो खसेसँगै सडकमा सवारी आवतजावत अवरुद्ध भएको थियो । बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्णरुपमा सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पहिरो पन्छ्याएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । यस सडकखण्डमा पटक पटक पहिरो खस्दै आएको छ ।
महाविर पुनलाई गृह मन्त्रालयको चेतावनी
गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनलाई विभूषण लिलामी नगर्न चेतावनी दिएको छ ।
मंगलबार मन्त्रालयको विभूषण तथा सभा समारोह प्रबन्ध शाखाले पुनलाई पत्र पठाएर विभूषण लिलामीमा नराख्न चेतावनी दिएको हो ।केही समय अघि पुनले सामाजिक सञ्जालमार्फत मानपदवी कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामी गर्ने बताएका थिए । गृह मन्त्रालयले विभुषण कसैलाई बिक्री गरेमा वा बन्धकी राखेमा सरकारले विभुषण रद्द गर्नसक्ने र सर्वसाधारणको जानकारीका लागि सूचना जारी गर्नसक्ने उल्लेख गरेको छ ।
रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका(२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।
मंगलबार दिउँसो १ बजेपछि ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब १५०मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएको हो ।स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक बालक भने भेटिएका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।घटनास्थलमा घाइते र मृत्यु भएकाहरुको उद्धार जारी छ । घटनास्थलमा उद्धारका लागि प्रहरीसहित स्थानीय खटिएका छन् । मृतकको पहिचान हुन बाँकी छ ।चालकसहित घाइतेलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
निजी विद्यालय २८साउनदेखि अनिश्चितकालिन बन्द गर्ने घोषणा
निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित ‘विद्यालय शिक्षा ऐन–२०८०’ विधेयकविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै विधेयकमा समावेश गरिएका कतिपय विषयमा असहमति जनाउँदै आन्दोलनको घोषणा गरेका हुन् ।आन्दोलनका कार्यक्रम अन्तर्गत साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गरिने प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिए । प्रस्तावित विधेयकमा ५ वर्षभित्र शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था राखिएको छ ।
उक्त विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आन्दोलन थालेका हुन् । विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिवद्ता जनाए आन्दोलनको कार्यक्रम फिर्ता लिन सकिने उनीहरुको भनाई छ ।
पछिल्लो २४ घण्टामा देशभरी भारी वर्षा, कुन ठाउँमा कति वर्षा ?
वर्षायाम सुरु भएसंगै गएरातिदेखी देशैभर भारी वर्षा भएको छ । अविरल भारी वर्षाका कारण देशभरमा विभिन्न ठाउँमा ठाउँमा सडक अवरुद्ध बनेका छन् भने घर डुबानमा पर्नुका साथै पहिरोमा परि केही मानिसहरुसमेत बेपत्तामा परेका छन्। मनसुन सक्रिय भएका कारण देशभर वर्षा हुने क्रम जारी छ। मंगलबार भएको अभिरल वर्षका कारण हिमाली, पहाडी ,तराई तथा शहरीक्षेत्रमा डुबानले वस्ती प्रभावित पारेको थियो । अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वानुमान महाशाखाको गएरातिदेखी बिहान ९ बजेसम्मको तथ्याङ्क अनुसार २४ घण्टामा सबैभन्दा धेरै वर्षा धनुषामा भएको छ । धनुषामा २९१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार २४ घण्टामा २ सय मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।
सोही अवधिमा महाशाखाले वर्षामापन केन्द्र राखेका तथ्याङ्क अनुसार सिमरा र वीरेन्द्रनगर (सुर्खेत) मा धेरै भारी वर्षा भएको छ भने जनकपुर (धनुषा), काठमाडौं (काठमाडौं), पोखरा (कास्की) र भैरहवा (रुपन्देही) मा भारी वर्षा भएको छ।
महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार सिमरामा १२५.७ मिलिमिटर र वीरेन्द्रनगरमा ११७ं० मिलिमिटर वर्षा भएको छ। यस्तै जनकपुरमा ९०.६, पोखरामा ६६.२ मिलिमिटर, काठमाडौंमा ६४.३ मिलिमिटर र भैरहवामा ६२.६ मिलिमिटर वर्षा भएको थियो ।




