काठमाडौं । नेपाली कांग्रेसकी नेतृ बासना थापा पार्टीको १५औँ महाधिवेशनमा महिला खुला केन्द्रीय सदस्यतर्फ सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। संसदमा समसामयिक विषयमा सशक्त आवाज उठाउँदै आएकी थापाको यो सफलतालाई पार्टीभित्र महिला नेतृत्वको विस्तार र पुस्तान्तरणको महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ। निर्वाचन समितिका अनुसार थापाले पाँच हजार १९३ मत प्राप्त गरेकी छन्। महिला खुलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। अनुभवी नेतृहरूलाई पछि पार्दै सर्वाधिक मतसहित निर्वाचित भएपछि पार्टी संगठनमा उनको प्रभाव र जिम्मेवारी थपिएको छ।
दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापा कांग्रेस संसदीय दलकी प्रमुख सचेतकसमेत हुन्। उनले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्दै राजनीतिक, सामाजिक तथा समसामयिक मुद्दामा आफ्ना धारणा राख्दै आएकी छन्। १३औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेकी थापा १४औँ महाधिवेशनमा भने सफल हुन सकेकी थिइनन्। तर, जेनजी आन्दोलनपछि पार्टीभित्र देखिएको परिवर्तनको वातावरणमा उनले राजनीतिक सफलता हासिल गर्दै आएकी छन्। प्रतिनिधिसभा निर्वाचनमा विजय र त्यसपछि पार्टीको सर्वोच्च संगठनात्मक संरचनामा प्राप्त सफलताले उनको राजनीतिक यात्रालाई थप बलियो बनाएको छ।
थापाले कांग्रेसमा महिलाको सहभागिता केवल प्रतिनिधित्वमा सीमित नराखी निर्णय प्रक्रियामा समेत सुनिश्चित गर्नुपर्ने धारणा राख्दै आएकी छन्। महामन्त्री, उपसभापतिलगायत पार्टीका प्रमुख पदमा महिलाको अनिवार्य उपस्थिति हुनुपर्ने उनको जोड छ। महिलालाई निर्णायक तहबाट बाहिर राख्ने परम्पराको अन्त्य गर्नुपर्ने बताउँदै उनले नेतृत्वको जिम्मेवारी सम्हाल्न महिलाहरू सक्षम रहेको विश्वास व्यक्त गरेकी छन्। पार्टीको नेतृत्व संरचनामा महिलाको भूमिका विस्तार हुनुपर्ने उनको भनाइ छ।
महाधिवेशनबाट प्राप्त सफलतालाई व्यक्तिगत उपलब्धिभन्दा पनि कार्यकर्ता, युवा र महिलाको विश्वासका रूपमा लिएको थापाले बताएकी छन्। उनका अनुसार यो परिणामले पार्टीभित्र परिवर्तन र समावेशी नेतृत्वको अपेक्षा बढाएको छ। जेनजी आन्दोलनपछि नेपाली कांग्रेसप्रति युवा पुस्ताको चासो बढेको थापाको बुझाइ छ। १५औँ महाधिवेशनका क्रममा युवा प्रतिनिधिहरूसँग भएको अन्तरक्रियाले पनि पार्टीभित्र नयाँ पुस्ताको सहभागिता बढाउनुपर्ने आवश्यकतालाई उजागर गरेको उनले महसुस गरेकी छन्।
युवाको ऊर्जा र अग्रज नेताहरूको अनुभवलाई एकसाथ अघि बढाउन सके पार्टीलाई थप सुदृढ बनाउन सकिने उनको तर्क छ। युवालाई संगठनमा आबद्ध गराउने, उनीहरूका विचारलाई स्थान दिने र पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने विषयलाई उनले प्राथमिकतामा राखेकी छन्। थापाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकता कायम गर्नुपर्ने आवश्यकतासमेत औँल्याएकी छन्। उनका अनुसार कांग्रेसको संगठन बलियो बनाउन आपसी मतभेदलाई व्यवस्थापन गर्दै साझा उद्देश्यका साथ अघि बढ्नुपर्छ। पार्टीका विभिन्न तहमा समन्वय र सहकार्य बढाउनु अहिलेको प्रमुख आवश्यकता भएको उनको धारणा छ।
२०३७ सालमा काठमाडौं महानगरपालिका–९ मा जन्मिएकी थापा राजनीतिक परिवेशमा हुर्किएकी हुन्। उनका हजुरबुवा नरबहादुर थापा २०१५ सालको आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। भारतको भीमराव विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी थापा २०५९ सालमा विवाहपछि दैलेखको नारायण नगरपालिकामा बसोबास गर्न थालेकी हुन्। राजधानीबाट भौगोलिक रूपमा टाढा पुगे पनि उनले राजनीतिप्रतिको सक्रियता कायम राखिन्। पार्टी संगठन निर्माण र युवालाई राजनीतिको मूल प्रवाहमा जोड्ने अभियानमा उनी लामो समयदेखि संलग्न रहँदै आएकी छन्।
अध्ययन, संगठनात्मक अनुभव र संसदीय अभ्यासलाई राजनीतिको आधार बनाउँदै आएकी थापाले पार्टीका नीति तथा कार्यक्रमलाई समयअनुकूल बनाउनुपर्ने धारणा राख्दै आएकी छन्। पछिल्लो निर्वाचन परिणामले उनलाई संगठनभित्र आफ्नो विचार र एजेन्डा अघि बढाउने थप अवसर दिएको छ।
१५ सदस्यीय समूहमा नयाँ नेतृत्वको प्रतिनिधित्व
कांग्रेसको १५औँ महाधिवेशनमा महिला खुलातर्फ निर्वाचित हुने अन्य नेतृहरूमा उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, विनिता खड्का, अनिता देवकोटा, रीता सेन ओली, सृजना अधिकारी, मुना भुसाल, गीता सत्याल, कल्पना तिवारी, रीता थापा मगर, गंगा दाहाल र उमा दाहाल रहेका छन्। महिला खुला केन्द्रीय सदस्यमा सर्वाधिक मत प्राप्त गरेकी थापाको आगामी भूमिका अब पार्टीभित्रको सांगठनिक सुधार, महिला सशक्तीकरण र युवा सहभागिता विस्तारका मुद्दामा केन्द्रित हुने अपेक्षा गरिएको छ। उनले प्राप्त जनमतलाई चुनौतीपूर्ण जिम्मेवारीका रूपमा लिँदै कांग्रेसलाई एकताबद्ध, गतिशील र समावेशी बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।




