धनगढी । लामो समयदेखि बजेटविहीन अवस्थाबाट गुज्रिरहेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले सरकारको वार्षिक बजेट सार्वजनिक गरेका हुन् । बजेट प्रस्तुत भएसँगै प्रदेशमा रोकिएका आर्थिक गतिविधि तथा विकास निर्माणका काम अघि बढ्ने अपेक्षा गरिएको छ ।
प्रदेश सरकारले बजेटको स्रोतका रूपमा आन्तरिक राजस्व, संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट र अघिल्लो बजेटबाट बचत हुने रकमलाई समेटेको छ ।
बजेटअनुसार आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटतर्फ १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ र संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटबाट खर्च नभई बचत हुने अनुमानित ९ अर्ब ६५ करोड रुपैयाँलाई पनि बजेटको स्रोतमा समावेश गरेको छ ।
संघीय सरकारबाट प्राप्त हुने अन्य अनुदानतर्फ सशर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
लामो समयदेखि बजेटको अभावमा अन्योलमा परेको प्रदेश सरकारलाई नयाँ बजेटले प्रशासनिक कामकाज, सेवा प्रवाह र विकास आयोजनालाई गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




