देश

चार प्रतिवेदन पारित गर्दै कांग्रेसको बन्दसत्र, अपराह्न ४ बजेबाट सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रोकिएको बन्दसत्र बुधबार अपराह्न ४ बजेबाट सुरु हुने भएको छ । कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा। सुरेशराज आचार्यले अपराह्न ४ बजे बन्दसत्र सुरु हुने जानकारी दिएका हुन् ।

बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका गरी चारवटा प्रतिवेदन प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको छ । प्रतिवेदन पारित भएपछि महाधिवेशनको मुख्य कार्यभार नयाँ नेतृत्व चयनतर्फ केन्द्रित हुनेछ ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी छ । हाल भने केन्द्रीय कार्यसमितिका उम्मेदवारमाथि दाबी–विरोध गर्ने प्रक्रिया चलिरहेको छ ।

यस महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । त्यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने भएकाले निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार १९ पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ ।

सभापति पदमा वर्तमान सभापति गगनकुमार थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन् । विधानअनुसार वरिष्ठ उपसभापति एक, महिला क्लस्टरबाट एक र खुलातर्फ दुई गरी चार उपसभापति निर्वाचित हुनेछन् । वरिष्ठ उपसभापतिमा वर्तमान उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ भने महिला उपसभापतिमा वर्तमान उपसभापति पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ ।

यता उम्मेदवारहरूको दाबी–विरोध तथा उम्मेदवारी फिर्ता र सच्याउने प्रक्रिया पनि अघि बढिरहेको छ । निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेपछि मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूको संख्या यकिन हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *