काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गर्न थप समय दिइएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी फिर्ता, नाम सच्याउने तथा उम्मेदवारमाथि दाबी विरोध गर्न तोकिएको समय दुई घण्टा थप गरेको हो ।
समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यसअघि बिहान १० बजेदेखि १२ बजेसम्म निर्धारण गरिएको समयलाई बढाएर दिउँसो २ बजेसम्म पुर्याइएको जनाएको छ । निर्वाचन समितिका अनुसार प्रकाशित उम्मेदवारको नामावलीमा आफ्नो नाम सच्याउनुपर्ने भए, उम्मेदवारी फिर्ता लिनुपर्ने भए वा उम्मेदवारी दर्ता गरे पनि नामावलीमा नाम समावेश नभएको विषयमा दाबी गर्नुपर्ने भए दिउँसो २ बजेसम्म सम्पर्क गर्न सकिनेछ ।
समितिले सम्बन्धित सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । समय थप भएसँगै उम्मेदवारी फिर्ता र दाबी विरोधपछि कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अन्तिम उम्मेदवार सूची तय हुने भएको छ ।





