काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन आज बुधबार विभिन्न महत्वपूर्ण राजनीतिक तथा निर्वाचनसम्बन्धी गतिविधि हुँदैछन् । काठमाडौँको खुलामञ्चमा जारी महाधिवेशनअन्तर्गत आज बन्द सत्रबाट पार्टीका विभिन्न प्रतिवेदन पारित गर्ने तथा निर्वाचन प्रक्रियालाई अघि बढाउने कार्यसूची छ । बुधबार बिहान साढे १० बजेका लागि बोलाइएको बन्द सत्र भने निर्धारित समयमा सुरु हुन सकेको छैन । महाधिवेशन प्रतिनिधिहरूले खाना खाइसकेपछि दिउँसो १२ बजेपछि बन्द सत्र सुरु गर्ने तयारी गरिएको छ ।
बन्द सत्रमा सभापति गगनकुमार थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव’, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी छ ।
प्रतिनिधिहरूले यसअघि सोमबारदेखि नै ती प्रतिवेदनमाथि धारणा राख्दै आएका छन् । छलफलमा सातै प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएका छन् ।यता महाधिवेशनको निर्वाचन प्रक्रिया पनि अघि बढेको छ । मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएपछि बुधबार उम्मेदवारमाथि दाबी–विरोध गर्ने प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दाबी–विरोध गर्न सकिने व्यवस्था गरिएको छ ।
दाबी–विरोधको प्रक्रिया सम्पन्न भएपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । यसअघि उम्मेदवारी दर्ता गरे पनि प्रारम्भिक सूचीमा नाम नदेखिएको भन्दै केही उम्मेदवारले गुनासो गरेका थिए । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले प्रक्रिया पूरा नभएको वा निर्धारित योग्यता नपुगेका कारण नाम छुटेको हुन सक्ने बताएका छन् ।
अन्तिम नामावली प्रकाशनपछि आजै उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउनेछन् । निर्वाचन कार्यतालिकाअनुसार बिहीबार बिहान ७ः३० बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
यसैबीच कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ भने अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा पनि प्रतिस्पर्धा देखिएको छ ।
खुला केन्द्रीय सदस्यतर्फ ४५ पदका लागि ९२ जनाले उम्मेदवारी दिएका छन् । महिला खुलातर्फ १५ पदका लागि ४२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, नेपाली जनसम्पर्क समितिको कोटाबाट सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
पेसागत तथा विषयगत क्लस्टरबाट पनि तीन पत्रकारले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । खुलातर्फ समीरजंग शाह र शिवप्रसाद लम्साल तथा महिला समूहबाट बाला अधिकारी प्रतिस्पर्धामा छन् ।
महाधिवेशनमा उम्मेदवारी दिएका नेताहरूले नेतृत्वमा पुस्तान्तरण, समावेशिता र खुला प्रतिस्पर्धालाई जोड दिएका छन् । उपसभापतिका उम्मेदवार रञ्जित कर्णले राजनीतिक दलको नेतृत्वमा युवा तथा विषय विज्ञको सहभागिता आवश्यक रहेको बताएका छन् । अर्की उपसभापति उम्मेदवार सीता गुरुङले महिलाहरू कोटामा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा आउनुपर्ने धारणा राखेकी छन् ।
यसरी कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन राजनीतिक प्रस्ताव तथा प्रतिवेदन पारित गर्ने बन्द सत्रसँगै नेतृत्व चयनको निर्वाचन प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ ।




