देश

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि देशभर वडा अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज र भोलि देशभर वडा अधिवेशन हुँदैछ।

वडा अधिवेशनबाट वडा कार्यसमिति गठन गर्नुका साथै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्नेछन्।

कांग्रेसले देशभरका ६ हजार ७४३ वडामा अधिवेशन गर्दैछ। निर्वाचन समितिका अनुसार ४६० गाउँपालिकाका ३ हजार २१५, २७६ नगरपालिकाका ३ हजार १२०, ११ उपमहानगरपालिकाका २३४ र ६ महानगरपालिकाका १७४ वडामा अधिवेशन हुनेछ।

वडा कार्यसमितिमा कुल ८५ हजार ४३४ जना निर्वाचित हुनेछन्। जसमा ३३ हजार ७१५ पदाधिकारी र ५१ हजार ७१९ सदस्य रहनेछन्।

गाउँपालिकाका वडामा पाँच पदाधिकारी र सात सदस्य गरी प्रतिवडा १२ जनाका दरले ३८ हजार ५८० जना निर्वाचित हुनेछन्। नगरपालिकाका वडामा पाँच पदाधिकारी र आठ सदस्य गरी ४० हजार ५६० जना निर्वाचित हुनेछन्।

त्यस्तै, उपमहानगरपालिकाका वडामा पाँच पदाधिकारी र १० सदस्य गरी तीन हजार ५१० जना तथा महानगरपालिकाका वडामा पाँच पदाधिकारी र ११ सदस्य गरी दुई हजार ७८४ जना निर्वाचित हुनेछन्।

वडा अधिवेशनबाट क्रियाशील सदस्यताको सङ्ख्याका आधारमा एउटा वडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ।

भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाहेकका स्थानमा वडा अधिवेशन आज र भोलि सम्पन्न हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा भने स्थानीय अवस्था र कार्यकर्तासँगको समन्वयका आधारमा अधिवेशनको मिति तय गरिने समितिले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *