जनकपुरधाम। बारा जिल्लाको जीतपुरसिमराकी तीन वर्षीया गरिमा चौधरीको हत्या घटना सेलाउन नपाउँदै सप्तरीमा पनि तीन वर्षीया बालिका मृत फेला परेकी छन्। लगातार भएका यस्ता घटनाले मधेश प्रदेशमा बालिका सुरक्षाको अवस्था र राज्यको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ।
सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा स्थानीय इरफानकी तीन वर्षीया छोरी सानिया खातुन आइतबार मृत फेला परेकी हुन्। बिहान करिब ९ बजे घरबाट एकाएक हराएकी सानियाको खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा शव भेटिएको थियो।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको वास्तविक कारण र प्रकृति पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानबाट खुल्ने प्रहरीको भनाइ छ।
यसअघि जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेस्थित सुकुम्बासी बस्तीकी तीन वर्षीया गरिमा चौधरी आइतबारदेखि बेपत्ता भएकी थिइन्। तीन दिनपछि उनको शव नजिकैको सुनसान स्थानमा भेटिएको थियो। घटनाको अनुसन्धानका क्रममा खोजीमा सँगै रहेका दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
गरिमा चौधरीको घटनालाई लिएर मधेश प्रदेशका आठवटै जिल्लासहित संघीय राजधानी काठमाडौं तथा देशका विभिन्न स्थानमा प्रदर्शन भएका थिए। घटनामा लापरबाही गरेको आरोपमा प्रहरी अधिकारीलाई कारबाहीस्वरूप प्रधान कार्यालय तानिएको थियो।
आन्दोलन चर्किँदै गएपछि शनिबार राति गृहमन्त्री सुदन गुरुङसहित पाँच जना मन्त्रीको उपस्थितिमा गरिमाका आमाबुवासँग तीनबुँदे सहमति भएपछि आन्दोलन स्थगित गरिएको थियो।
तीन वर्षमा ३३१ बालिका बलात्कारका घटना
गरिमा र सानियाका घटना प्रतिनिधिमूलक मात्र भएको अधिकारकर्मी तथा सरोकारवालाहरू बताउँछन्। मधेश प्रदेशमा बालिका बलात्कार तथा यौनजन्य हिंसाको अवस्था गम्भीर देखिएको तथ्यांकले पनि देखाउँछ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तकअनुसार सन् २०२३ देखि २०२५ सम्म मधेश प्रदेशमा महिला तथा बालिकामाथि गरी ६३० बलात्कारका घटना अभिलेख भएका छन्। तीमध्ये ३३१ घटना बालिकासँग र २९९ घटना महिलासँग सम्बन्धित छन्।
तथ्यांकअनुसार बालिकातर्फ सन् २०२४ मा सबैभन्दा बढी १३० घटना अभिलेख भएका छन्। सन् २०२५ मा १०१ र सन् २०२३ मा १०० घटना भएका थिए।
महिलातर्फ भने सन् २०२५ मा १२३, सन् २०२४ मा ९७ र सन् २०२३ मा ७९ घटना अभिलेख गरिएको छ।
तीन वर्षको तथ्यांक हेर्दा मधेशका आठ जिल्लामध्ये बालिका बलात्कारका घटना सबैभन्दा बढी सर्लाहीमा ६७ वटा छन्। सप्तरीमा ५५, सिरहामा ५३, धनुषामा २७, महोत्तरीमा २६, रौतहटमा २८, बारामा ३५ र पर्सामा ४० वटा घटना अभिलेख भएका छन्।
महिलातर्फ भने धनुषामा सबैभन्दा बढी ९७ घटना भएका छन्। सिरहामा ४३, रौतहटमा ३२, सप्तरीमा २९, पर्सामा २७, महोत्तरीमा २५, सर्लाहीमा २४ र बारामा २२ वटा घटना अभिलेख भएका छन्।
किन बढिरहेका छन् बालिका बलात्कारका घटना ?
प्रहरी अधिकारी तथा अधिकारकर्मीहरूले बालिका बलात्कारका घटना बढ्नुका पछाडि सामाजिक सञ्जालको दुरुपयोग, कमजोर पारिवारिक निगरानी, नैतिक तथा यौन शिक्षाको अभाव, लागूऔषध र मदिरा सेवन तथा बालबालिकालाई प्रलोभनमा पार्ने प्रवृत्तिलगायतका कारण रहेको बताएका छन्।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार १३ वर्षभन्दा कम उमेरका बालिका यस्ता घटनाको बढी जोखिममा छन्। सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग सम्पर्क बढ्नु, प्रलोभनमा पर्नु तथा अभिभावकको निगरानी कमजोर हुनु जोखिमका प्रमुख कारणमध्ये रहेको उनीहरूको भनाइ छ।
लागूऔषध र मदिरा सेवन पनि यौन हिंसाका घटनासँग जोडिएको प्रहरीको भनाइ छ। त्यस्ता पदार्थ सेवनपछि अपराधिक गतिविधिमा संलग्न हुने र कमजोर तथा कम उमेरका बालिकालाई निशाना बनाउने प्रवृत्ति देखिएको उनीहरूले बताएका छन्।
मानवअधिकारकर्मी एवं अधिवक्ता रेखा झाले सामाजिक सञ्जालको दुरुपयोग, नैतिक तथा यौन शिक्षाको अभाव र अभिभावकत्वमा आएको कमजोरीका कारण बालिका हिंसाका घटना बढिरहेको बताइन्।
उनका अनुसार सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा सहज रूपमा उपलब्ध हुने यौन तथा हिंसात्मक सामग्रीले बालबालिकामा नकारात्मक प्रभाव पारिरहेको छ। यस्ता सामग्रीको नियमनसँगै बालबालिकालाई ‘गुड टच’ र ‘ब्याड टच’, उमेरअनुसारको यौन शिक्षा तथा असुरक्षित शारीरिक सम्पर्कका जोखिमबारे जानकारी दिनुपर्ने उनले बताइन्।
झाले अभिभावकले बालबालिकाको गतिविधि, संगत र सामाजिक सञ्जालको प्रयोगबारे पर्याप्त निगरानी गर्नुपर्नेमा जोड दिइन्। आधुनिक जीवनशैलीका कारण अभिभावक र बालबालिकाबीचको निगरानी तथा संवाद कमजोर हुँदै जानु पनि जोखिमको कारण बनेको उनको भनाइ छ।
उनले बालिका बलात्कार तथा बलात्कारपछि हत्याजस्ता गम्भीर घटनामा दोषीलाई उमेर र अपराधको प्रकृतिअनुसार कठोर कानुनी कारबाही हुने व्यवस्था आवश्यक रहेको बताइन्।
इन्सेकका मधेश प्रदेश प्रतिनिधि एवं मानवअधिकारकर्मी राजु पासवानले सामाजिक सञ्जालको दुरुपयोग, प्रलोभनमा पर्नु, बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताको प्रभावकारी कार्यान्वयन नहुनु तथा सामाजिक प्रतिष्ठाका कारण घटना लुकाउने प्रवृत्तिले पनि समस्या जटिल बनाएको बताए।
उनका अनुसार किशोरावस्थाका बालबालिका विभिन्न प्रलोभनमा पर्ने र सामाजिक सञ्जालमा उपलब्ध उत्तेजक सामग्रीको प्रभावमा पर्ने अवस्था बढेको छ। त्यसलाई नियन्त्रण गर्न सामाजिक सञ्जालको नियमन, बालमैत्री शिक्षा र प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको उनले बताए।
पासवानले उमेर नपुगेका बालबालिकाबीचको शारीरिक सम्पर्कलाई समेत कानुनले बलात्कारका रूपमा परिभाषित गर्ने अवस्थाका कारण कतिपय घटना तथ्यांकमा समेटिने गरेको बताए। यस्ता विषयमा बालबालिकाको उमेर, अवस्था र घटनाको प्रकृतिअनुसार न्यायिक तथा कानुनी दृष्टिकोण अपनाउनुपर्ने उनको धारणा छ।
बालिका सुरक्षाका लागि कानुन मात्र पर्याप्त नभई परिवार, विद्यालय, समुदाय, प्रहरी र राज्यका सबै संयन्त्र जिम्मेवार बन्नुपर्ने देखिएको छ। लगातार भइरहेका घटना र तथ्यांकले मधेशमा बालिका सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ।




