काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारी र व्यावसायिक गतिविधिको बढ्दो प्रभावलाई एउटै मञ्चमा प्रस्तुत गर्दै काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा सुरु भएको एक्स्पोमा सवारीसाधनको प्रदर्शनसँगै राज्यको कर नीति, सडक सुरक्षा, पूर्वाधार र लगानी वातावरणबारे बहससमेत सतहमा आएको छ ।
एक्स्पोको उद्घाटन नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्य ले संयुक्त रूपमा गरेका छन् । साउन ३१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा चारपाङ्ग्रे, दुईपाङ्ग्रे तथा व्यावसायिक सवारीका ५५ भन्दा बढी ब्रान्ड सहभागी छन् । आयोजकका अनुसार ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन हुँदैछन् । एक्स्पो बाहिरबाट हेर्दा नयाँ गाडी र प्रविधिको प्रदर्शनीजस्तो देखिए पनि यसको उद्घाटन समारोहमा उठेका विषयले नेपालको अटो क्षेत्र अहिले केवल उपभोगको बजार नभएर अर्थतन्त्र, रोजगारी, राजस्व, वातावरण र यातायात सुरक्षासँग जोडिएको बहुआयामिक क्षेत्र बनेको देखाएको छ ।
नाइमा अध्यक्ष वैद्यले नेपालको नीतिनिर्माण तहमा मोबिलिटी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताइन् । उनका अनुसार सवारीसाधनलाई केवल विलासिताको वस्तु वा कर उठाउने माध्यमका रूपमा हेर्दा यातायात क्षेत्रको वास्तविक योगदान ओझेलमा पर्छ । मोबिलिटीले शिक्षा, स्वास्थ्य, रोजगारी, बजार तथा अत्यावश्यक सेवामा नागरिकको पहुँच विस्तार गर्ने भएकाले यसलाई राष्ट्रिय विकासको अभिन्न अंगका रूपमा लिनुपर्ने उनको तर्क छ ।
नेपालको अटो बजार विद्युतीय तथा हाइब्रिड प्रविधितर्फ तीव्र गतिमा अघि बढिरहेको भन्दै उनले सरकारले हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीतिसँगै उद्योगी–व्यवसायीसँग पर्याप्त छलफल गरेर नीति बनाउनुपर्ने बताइन् । विशेषगरी नीतिगत स्थिरता, नेपालमै सवारी एसेम्बल गर्ने वातावरण, सहायक अटो पार्ट्स उद्योगको विकास, ब्याट्री पुनःप्रयोग तथा रिसाइक्लिङ नीति र इथानोल ब्लेन्डिङजस्ता विषयमा स्पष्ट सरकारी पहल आवश्यक रहेको उनको भनाइ छ ।
उद्घाटन समारोहमा निजी क्षेत्रका प्रतिनिधिहरूले नेपालको अटोमोबाइल क्षेत्रमाथि राज्यको कर तथा नीतिगत व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे । अञ्जन श्रेष्ठ ले नेपालमा सवारीसाधनमा लाग्ने कर तथा भन्सार दर अत्यधिक रहेको दाबी गर्दै सरकारको ध्यान राजस्व संकलनमा मात्र केन्द्रित भएको गुनासो गरे । उनले काठमाडौं उपत्यकामा वर्षौंदेखि सवारीसाधनको चाप बढ्दै गए पनि सडक विस्तार, वैकल्पिक मार्ग र फ्लाइओभर निर्माणलगायतका पूर्वाधार विकास अपेक्षाकृत सुस्त रहेको बताए ।
यसले नेपालको अटो क्षेत्रको एउटा मूल विरोधाभास उजागर गर्छ—सवारीसाधनबाट राज्यले ठूलो राजस्व उठाइरहेको छ, तर त्यसअनुसारको सडक पूर्वाधार र यातायात व्यवस्थापनमा लगानी पर्याप्त देखिँदैन । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे ले अटोमोबाइल क्षेत्रलाई समग्र अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताए । निर्माण, पूर्वाधार, ऊर्जा, पर्यटन तथा वित्तीय क्षेत्रसँग अटो व्यवसायको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै उनले आर्थिक गतिविधि विस्तारका लागि पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल ले भने सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रावधानका कारण अटो बजारमा सिर्जना भएको त्रासबारे प्रश्न उठाए । कानुन कार्यान्वयनका क्रममा व्यावहारिक समस्या समाधान गर्न नसकिए आर्थिक गतिविधि प्रभावित हुन सक्ने उनको चेतावनी थियो । एक्स्पोको उद्घाटन कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मोबिलिटी क्षेत्रको अर्को गम्भीर पक्ष—सडक सुरक्षा—लाई केन्द्रमा ल्याए । उनका अनुसार गत आर्थिक वर्षमा सडक दुर्घटनामा २ हजार ७०७ जनाले ज्यान गुमाएका छन् भने ४७ हजार ५५३ जना घाइते भएका छन् । दैनिक औसतमा सात जनाको मृत्यु र १३० जना घाइते हुने अवस्था रहेको उनले बताए ।
दुर्घटनाका लागि चालकलाई मात्र दोष दिने प्रवृत्ति परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । सडकको डिजाइन, लेन व्यवस्थापन, स्लोप, खाल्डाखुल्डी तथा अन्य इन्जिनियरिङ कमजोरीले पनि दुर्घटना बढाइरहेको भन्दै उनले सडक सुरक्षालाई सवारीसाधनसँगै पूर्वाधारको विषयका रूपमा लिनुपर्ने बताए । उनले सवारी बिक्रीपछि उपलब्ध हुने सेवा, पार्किङ व्यवस्थापन र ट्राफिक नियम पालनमा पनि सुधार आवश्यक रहेको बताए ।
यसपटकको एक्स्पोमा विद्युतीय सवारीसाधन विशेष आकर्षण बनेका छन् । चारपाङ्ग्रे सवारीतर्फ हुन्डाई, टाटा, टोयोटा, महिन्द्रा, किया, निसान, बीवाईडी, एमजी, सिट्रोन, आइकार, डेन्जा, जिकर, लीपमोटर, वुलिङलगायतका ब्रान्ड सहभागी छन् । दुईपाङ्ग्रेमा बजाज, होन्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकीसँगै एथर, याडिया, एनआईयू, अल्ट्राभ्वाइलेट, सीएफ मोटो, ट्रायम्फलगायतका ब्रान्ड प्रदर्शनीमा छन् । व्यावसायिक सवारीतर्फ पनि विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डले सहभागिता जनाएका छन् । यसले नेपालको सवारी बजारमा परम्परागत इन्धनमा आधारित सवारीसाधनसँगै विद्युतीय सवारीको प्रतिस्पर्धा तीव्र बन्दै गएको संकेत गर्छ ।
चाडपर्वको पूर्वसन्ध्यामा आयोजना भएको एक्स्पोमा कम्पनीहरूले ग्राहक आकर्षित गर्न नगद छुट, एक्सचेन्ज बोनस तथा विभिन्न अफर सार्वजनिक गरेका छन् । सवारी खरिदलाई सहज बनाउन बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले एक्स्पो परिसरबाटै फाइनान्सिङ तथा बीमासम्बन्धी सेवा उपलब्ध गराइरहेका छन् । यसले एक्स्पोलाई केवल नयाँ मोडल हेर्ने थलोभन्दा पनि तत्काल खरिद निर्णय गर्न सकिने व्यावसायिक प्लेटफर्मका रूपमा विकास गर्ने आयोजकको रणनीति देखिन्छ । नेपालको अटोमोबाइल बजार विस्तार हुँदै गए पनि यस क्षेत्रसँग जोडिएका नीतिगत प्रश्न भने अझै समाधान हुन बाँकी छन् । उच्च कर, सडक पूर्वाधारको अभाव, ट्राफिक व्यवस्थापन, दुर्घटना, वातावरणीय प्रभाव, विद्युतीय सवारीका लागि चार्जिङ पूर्वाधार तथा ब्याट्री व्यवस्थापनजस्ता विषयमा दीर्घकालीन नीति आवश्यक देखिन्छ ।
अटो व्यवसायीहरू सरकारबाट स्थिर र अनुमानयोग्य नीति चाहन्छन् भने सरकारका लागि राजस्व पनि महत्वपूर्ण स्रोत हो । यही दुई पक्षबीचको सन्तुलन नेपालको अटो क्षेत्रको आगामी दिशाका लागि निर्णायक बन्न सक्छ । भृकुटीमण्डपमा देखिएको चम्किलो सवारी प्रदर्शनीले बजारको आकर्षण त देखाउँछ, तर उद्घाटन समारोहमा उठेका प्रश्नले नेपालको मोबिलिटी क्षेत्र अझै विकासको संक्रमणकालमै रहेको संकेत गर्छ । एक्स्पोमा नयाँ गाडी कति बिक्री हुन्छन् भन्नेभन्दा पनि त्यसले सरकारलाई कर, पूर्वाधार, सडक सुरक्षा र विद्युतीय सवारीसम्बन्धी नीतिमा कति गम्भीर बनाउँछ भन्ने पक्ष नेपालको अटो क्षेत्रका लागि दीर्घकालीन रूपमा बढी महत्वपूर्ण देखिन्छ ।




