देश

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसका महाधिवेशन गतिविधि रोक्न शशांकको आग्रह

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीको वैधानिकता र नेतृत्वसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै महाधिवेशनसँग जोडिएका सबै गतिविधि रोक्न माग गरेका छन्।

कोइरालाले कांग्रेस केन्द्रीय कार्यसमितिलाई पत्र पठाउँदै सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरिसकेकाले विवादित विषय पुनः न्यायिक परीक्षणको प्रक्रियामा प्रवेश गरेको उल्लेख गरेका छन्।

उनका अनुसार अदालतबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनलगायत पार्टीका महत्वपूर्ण निर्णय अघि बढाउँदा थप कानुनी तथा राजनीतिक विवाद उत्पन्न हुन सक्छ। त्यसैले अदालतको अन्तिम निर्णय नआउँदासम्म यस्ता गतिविधि स्थगित गर्नुपर्ने उनको धारणा छ।

कोइरालाले पत्रमा पार्टीको वैधानिकता तथा तत्कालीन नेतृत्वको कानुनी हैसियतसम्बन्धी विषयसमेत पुनः परीक्षणको दायरामा आएकाले अदालतको फैसला पर्खनुपर्ने उल्लेख गरेका छन्।

उनले न्यायिक प्रक्रियाको अन्तिम टुंगो नलाग्दै पार्टीभित्र नयाँ विवाद सिर्जना हुने गरी महत्त्वपूर्ण निर्णय तथा गतिविधि अघि नबढाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

 

 

 

 

 

 

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *