काठमाडौं । विश्व आदिवासी दिवसका अवसरमा काठमाडौंमा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचान प्रस्तुत गर्दै र्याली निकालेका छन्।भृकुटीमण्डपबाट सुरु भएको र्यालीमा सहभागीहरूले आ–आफ्ना मौलिक भेषभूषा, परम्परागत बाजागाजा तथा सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। लोकगीत र नृत्यसहित अघि बढेको र्याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै खुलामञ्च पुगेपछि मूल समारोहमा परिणत भएको थियो।
र्यालीमा नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत विभिन्न आदिवासी जनजाति समुदायले सहभागिता जनाएका थिए। सहभागी समुदायले आफ्नो मौलिक भाषा, संस्कार, संस्कृति र जीवनशैली झल्काउने प्रस्तुति दिएका थिए। काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट आएका हजारौँ आदिवासी जनजाति प्रतिनिधि, युवा, महिला, विद्यार्थी, कलाकार तथा सांस्कृतिक समूह र्यालीमा सहभागी भएका छन्। समारोहमा सरकारी अधिकारी, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, नागरिक समाज, मानवअधिकारकर्मी, कलाकार तथा सञ्चारकर्मीको पनि उपस्थिति रहेको छ।
दिवसका अवसरमा आदिवासी जनजातिको इतिहास, भाषा, संस्कृति, परम्परागत ज्ञान र प्राकृतिक स्रोतसँगको सम्बन्ध तथा अधिकारका विषयलाई थप प्राथमिकताका साथ उठाइएको छ। नेपाल आदिवासी जनजाति महासंघले संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयन, समावेशी प्रतिनिधित्व, मातृभाषामा शिक्षा, भूमि तथा प्राकृतिक स्रोतमा अधिकार र सांस्कृतिक सम्पदाको संरक्षणलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। विश्वभरका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूले भोग्दै आएका समस्या र चुनौतीबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ।




