काठमाडौं । शुक्रबारदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्।
६५ वर्षीय सिंहको शव तौलिहवा–गोरुसिङ्गे सडकखण्डअन्तर्गतको जंगलमा आइतबार फेला परेको कपिलवस्तु प्रहरीले जनाएको छ। उनको खोजीका लागि प्रहरीले तालिमप्राप्त कुकुर, ड्रोनलगायत प्रविधिको प्रयोग गरेको थियो भने स्थानीयवासीसमेत ठूलो संख्यामा परिचालन भएका थिए।
कपिलवस्तु प्रहरीका निमित्त सूचना अधिकारी दीपक कुँवरका अनुसार शुक्रबारदेखि हराएका सिंहको खोजीमा सम्भावित सबै उपाय अपनाइएको थियो। शनिबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको केनाइन शाखाबाट ट्र्याकिङ डगसहितको प्राविधिक टोली ल्याएर जंगल क्षेत्रमा खोजी गरिएको थियो।
प्रहरीका अनुसार सिंह शुक्रबार दिउँसो कपिलवस्तु नगरपालिका–३ स्थित घरबाट मोटरसाइकलमा बाहिरिएका थिए। करिब साढे ३ बजेतिर उनले आफू निकटका व्यक्तिलाई मोबाइलमार्फत ‘जंगलमा बाटो बिर्सिएँ’ भन्ने जानकारी गराएका थिए।
त्यसपछि आफन्त र स्थानीयको टोलीले खोजी सुरु गरेको थियो। खोजीका क्रममा पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगलमा सिंहले प्रयोग गर्ने लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिएको अवस्थामा फेला परेको थियो।
मोटरसाइकल भेटिएको क्षेत्र आसपासमा दुई दिनदेखि व्यापक खोजी गरिए पनि सिंह फेला परेका थिएनन्। आइतबार सोही जंगल क्षेत्रमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।




