कर्णाली प्रदेश

कर्णालीमा मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार शाहीलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

शाहीले सरकार गठनका लागि नेकपा एमालेका ९ र नेकपाका १४ गरी २३ जना प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका थिए। कर्णालीमा सरकार गठनका लागि आवश्यक २१ सांसदको समर्थनभन्दा बढी संख्या जुटाएपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

यसअघि एमालेका यामलाल कँडेलले गत शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको थियो। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १३, सभामुखसहित एमालेका १० तथा राप्रपा र एक स्वतन्त्र सांसद रहेका छन्।

मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। उनको नियुक्तिसँगै कर्णाली प्रदेशले आफ्नो पाँचौं मुख्यमन्त्री पाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *