काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि सरकारले त्यसको वस्तुगत छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गर्दै एक साताभित्र अनुसन्धान प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो। समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरी बलका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी सदस्य रहेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने समितिको सदस्य–सचिवको जिम्मेवारीमा छन्।
सरकारले समितिलाई घटनाको वस्तुगत अध्ययन गरी मृत्यु भएको घटनासम्म पुग्ने कारण, सुरक्षा व्यवस्थापनको अवस्था तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत र प्रशासनिक सुझावसहित प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको छ। देवानगञ्ज गाउँपालिका-३ कप्तानगन्जमा दुई समूहबीच उत्पन्न विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि सुरक्षा अवस्था बिग्रिएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेका थिए। सोही छलफलपछि घटनाको निष्पक्ष अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको हो।
सुरक्षा संवेदनशील घटनामा सरकारले छानबिन समिति गठन गर्नु सामान्य प्रशासनिक अभ्यास मानिन्छ। यस्ता समितिको प्रतिवेदनले घटनाको वास्तविक कारण पहिचान गर्नुका साथै सुरक्षा निकायको भूमिकाको मूल्याङ्कन, आवश्यक सुधारका सुझाव तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपायहरू सिफारिस गर्ने अपेक्षा गरिन्छ। सुनसरी घटनाबारे विभिन्न कोणबाट चासो बढिरहेका बेला अब समितिले तयार पार्ने प्रतिवेदनलाई आगामी निर्णय र सरकारी कदमको आधारका रूपमा हेरिएको छ।




