राजनीति

बालेनप्रति कांग्रेस सभापति थापाको कटाक्ष , प्लेन ल्याण्ड भएन भने कोर्रा हान्ने होइन्, ल्याण्ड नहुनुका कारण खोज्नुपर्छ

काठमाडौं । चुनावी र्‍यालीहरूमा भाषणको तापक्रम बढ्दै जाँदा नेताहरूबीच शैली र व्याख्या समेत पनि सतहमा देखिन थालेको छ। जसका कारण नेपाली नागरिक तथा मतदातहरुलाई उम्मेदवारप्रतिको बुझाई र आइडोलोजी पनि बुझ्न सहज भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापाले शुक्रबार बुटवलमा आयोजित सभाबाट दिएको अभिव्यक्तिलाई धेरैले पूर्व मेयर बालेन्द्र शाह (बालेन) प्रति लक्षित सन्देशका रूपमा बुझेका छन्।

थापाले भने, “प्लेन ल्याण्ड भएन भने कोर्रा हान्ने होइन, किन ल्याण्ड भएन भन्ने कारण खोज्नुपर्छ।” उनको यो भनाइ विकास निर्माणमा देखिएको ढिलासुस्ती र त्यसप्रति आएका कडा प्रतिक्रियाको सन्दर्भमा आएको हो। केही दिनअघि धनगढीमा आयोजित सभामा बालेनले दुई वर्षमा बन्ने सडक २० वर्षसम्म नबन्ने अवस्थाप्रति असन्तोष जनाउँदै ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने शैलीमा कडा अभिव्यक्ति दिएका थिए। ‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नु पर्यो त्यो हो हाम्रो एजेन्डा, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ बाटो बन्नु पर्यो’, बालेनले भनेका थिए ।

त्यसपछि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उक्त अभिव्यक्तिलाई “असभ्य र गैरजिम्मेवार” भन्दै आपत्ति जनाए। महासंघले पत्रकार सम्मेलन गर्दै देशभरका ३० हजारभन्दा बढी निर्माण व्यवसायीको मानमर्दन भएको दाबी गर्दै सार्वजनिक आत्मालोचनाको माग गरेको छ। साथै, अमर्यादित भाषणबाजीबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको जनाएको छ। महासंघको तर्क छ—विकास निर्माणमा ढिलाइ हुनुका कारण केवल व्यक्ति होइनन्, विद्यमान ऐन–कानुन, प्रक्रिया, भुक्तानी ढाँचा र प्रशासनिक जटिलता पनि उत्तिकै जिम्मेवार छन्।

सभापति थापाले आफ्नो सम्बोधनमा कांग्रेसले सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता राख्ने दाबी गरे। “कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन,” भन्दै उनले घर–घरमा गएर ‘रुख’ चिन्हमा मतदान गर्न आग्रह गरे। उनले सामाजिक सञ्जालमा सीमित नबस्न नेता–कार्यकर्तालाई निर्देशन दिँदै संगठनकै शक्ति कांग्रेसको मुख्य आधार भएको बताए। “तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस्। तपाईंको मुख चलाउनुस्, संवाद गर्नुस्,” उनले भने।

थापाले नवयुवासँग संवाद गर्दा सुरुवातमा आलोचना वा गाली आउन सक्ने उल्लेख गर्दै धैर्यपूर्वक संवाद गर्न आग्रह गरे। कांग्रेसले विशेष महाधिवेशनबाट नयाँ संकल्पसहित अघि बढेको दाबी गर्दै उनले पाँच वर्षभित्र परिणाम दिने प्रतिज्ञा दोहोर्‍याए। साथै, उनले “उत्तेजनाको राजनीतिमा नबहकिन” चेतावनी दिए। सामाजिक सञ्जाल र युट्युब–फेसबुकबाट फैलिने भ्रमप्रति सतर्क रहन आग्रह गर्दै उनले मतदातालाई भावनात्मक भन्दा विवेकपूर्ण निर्णय गर्न आह्वान गरे।

बुटवलको यो सम्बोधनले स्पष्ट संकेत दिएको छ—आगामी चुनाव केवल एजेन्डाको प्रतिस्पर्धा होइन, राजनीतिक संस्कार र भाषाशैलीको पनि परीक्षा हो। एकातिर कडा र आक्रोशपूर्ण शैलीमार्फत त्वरित परिवर्तनको सन्देश छस अर्कोतिर प्रक्रियागत सुधार र सहकार्यको मार्ग। मतदाताले कुन दृष्टिकोण रोज्छन्—उत्तेजनाको ऊर्जा कि समाधानको संयम—त्यसको निर्णय अब मतपेटिकाले गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *