काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष महाधिवेशनअन्तर्गत भोलि हुने बन्द सत्रमा उपस्थित भई सम्बोधन गर्न पार्टी सभापतिलाई आग्रह गरेका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले सभापतिको उपस्थितिले पार्टीलाई एकताबद्ध बनाउन सघाउ पुग्ने बताए।
कार्यक्रममा बोल्दै कांग्रेस नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीभित्र देखिएका सबैखाले समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।
पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले विशेष महाधिवेशनले पार्टी विधानअनुसार चल्नुपर्ने स्पष्ट सन्देश दिएको उल्लेख गर्दै पार्टीभित्र अरूको कुरा सुन्न नचाहने प्रवृत्तिलाई यसले परास्त गरेको धारणा राखे।
नेता डा. चन्द्र भण्डारीले देश र जनताको सम्मान गर्दै युवा पुस्ताले उठाएका माग र मुद्दालाई सम्बोधन गर्न पार्टी नेतृत्व अग्रसर हुनुपर्ने बताए।
त्यसैगरी, नेता विनोद चौधरीले नेपाली जनता राजनीतिक स्थिरतासँगै आर्थिक क्रान्तिको अपेक्षामा रहेकाले ती मागहरूलाई कांग्रेसले गम्भीरतापूर्वक सुनेर सम्बोधन गर्नुपर्ने बताए।
नेता देवराज चालिसले विशेष महाधिवेशन पार्टीको आन्तरिक जीवनमा मात्र सीमित नरही जेनजी आन्दोलन र समग्र मुलुकको रूपान्तरणसँग जोडिएको उल्लेख गरे।
नेता केदार कार्कीले लोकतन्त्रको लाभ नेतृत्व वर्गले मात्रै लिँदा जनताको आवाज नसुनिएको भन्दै जेनजी पुस्ताले उठाएको विद्रोहको भावनालाई लोकतान्त्रिक पार्टी र अनुभवी नेताहरूले सम्बोधन गर्न सक्नुपर्ने धारणा व्यक्त गरे।




