राजनीति

महामन्त्री थापा र शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि विधान विपरीत गतिविधिमा संलग्न नहुन पार्टीको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीभित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको छ। एकातिर उनीहरूले आफ्नो कदमलाई ‘विधानसम्मत र बाध्यकारी’ भन्दै ठहर गरेका छन् भने अर्कोतिर कांग्रेस केन्द्रीय कार्यालयले यसलाई स्पष्ट रूपमा ‘विधानविपरीत गतिविधि’ ठहर गर्दै कडा चेतावनी दिएको छ।

महामन्त्रीद्वयले धारा १७ (२) को व्यवस्था उद्धृत गर्दै २ हजार ४८८ जना (५४.५८ प्रतिशत) महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरिएको र केन्द्रले तीन महिनाभित्र महाधिवेशन नबोलाउँदा प्रक्रिया स्वतः क्रियाशील भएको दाबी गरेका छन्। उनीहरूका अनुसार पुस २७ र २८ गते भृकुटीमण्डपमा तय गरिएको विशेष महाधिवेशन कानुनी, राजनीतिक र नैतिक रूपमा अपरिहार्य भइसकेको छ।

तर यही बिन्दुमा कांग्रेसभित्र गम्भीर प्रश्न उठेको छ— के विधानले ‘स्वतः क्रियाशील महाधिवेशन’ को अवधारणा स्वीकार गरेको छ, कि यो महामन्त्रीद्वयको आफ्नै व्याख्या हो?

कांग्रेस केन्द्रीय कार्यसमितिको स्पष्ट अडान भने फरक छ। केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा मंसिर १५ गते नै १५औँ नियमित महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा पारित भइसकेकाले सोही अवधिमा माग गरिएको विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भइसकेको दाबी गरिएको छ। अझ महत्वपूर्ण कुरा, विज्ञप्तिमा कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत पदाधिकारीलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारिएको छ।

यसले महामन्त्रीद्वयको कदमलाई केवल राजनीतिक असहमति होइन, संस्थागत सीमारेखामाथिको चुनौतीका रूपमा चित्रित गरेको छ। पार्टी नेतृत्वको दृष्टिमा यो आह्वान विधानको पालना नभई विधानकै उल्लङ्घन हो। विश्लेषकहरूका अनुसार गगन–विश्वको वक्तव्यमा देखिएको तर्क मूलतः ‘नैतिक वैधता’ मा आधारित छ, जबकि संस्थापन पक्ष ‘संवैधानिक अधिकार’ को व्याख्यामा अडिग छ। यही द्वन्द्वले कांग्रेसभित्र विधि र व्यक्तिको भूमिकाबीचको पुरानो तनावलाई पुनः सतहमा ल्याएको छ।

अर्को गम्भीर पक्ष समयको पनि हो। पार्टी एकातिर फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा छ— समानुपातिक सूची दर्ता भइसकेको छ, राष्ट्रियसभा सदस्यको मनोनयन सम्पन्न भएको छ— यही संवेदनशील घडीमा विशेष महाधिवेशनको आह्वान हुनु नेतृत्वको प्राथमिकतामाथि नै प्रश्न उठाउने कारण बनेको छ। महामन्त्री थापा र शर्माले पार्टी गरेका निर्णयका विषयमा बारम्बार विवाद झिकेर मनपरी ढङ्गबाट अघि बढेका छन् । सो विषयमा अहिले चौतर्फी आलोचना भइसकेको छ ।

विशेष महाधिवेशन पार्टीको आधिकारीकता भन्दा माथि उठेर दुई महामन्त्रीहरुको नेतृत्वमा भएको गतिविधिले पार्टीमाथि हमला गर्ने संकेत देखिएको छ । हिजो पार्टीका कार्यालयमा पूर्व उपसभापति,बरिष्ठ तथा केन्द्रिय सदस्यमाथि गगन थापा र विश्वप्रकाश शर्मा जेनजी निकट र विशेष महाधिवेशनपक्षधरले आक्रमण गरेका थिए । त्यसपछि गगन थापाविरुद्ध कोटेश्वरमा नै राँगो जुलुस निकाल्दै नेता तथा कार्यकताहरुले नारा जुलुस गरेका थिए । निधिले सो विषयमा कांग्रेसको विरोधमा उर्तिएका आन्दोलनकारीहरु परिचालन गरेर आफू र पाटीमाथी गरिएको हमलाप्रति कडा आपति जनाएका थिए । यस्तै सो घटनाप्रति कांग्रेसका नेता तथा कार्यकर्ताहरुले समेत कडा आपत्ति जनाएका थिए । पार्टी केन्द्रिय कार्यालयमा पदर्शनकारीहरुले बुढा नेताहरुमाथि पुनः हमला गरेर पार्टीबाट लखेट्ने चेतावनी दिएपछि अब कांग्रेसले पार्टीको विद्यान विपरित अघि बढ्ने र पार्टीमाथि हमला गर्नेमाथि अनुशासनको कारबाही गर्ने संकेत देखिएको छ ।

महामन्त्री थापा र शर्मा लगायत निकटतमहरु संस्थापनपक्षलाई शून्य पार्न दबाबको राजनीतिमा लागेपछि पार्टी फुटाउन लागि परेको थापा र शर्मामाथि आरोप लागेको छ । तर आज विशेष महाधिवेशनका लागि गरिएको पत्रकार सम्मेलनमा र चन्द्र भण्डारी र सुनिल शर्मालाई साथमा लिएर महामन्त्री थापाले पार्टी कुनै हालतमा नफुटाउने तर पार्टी फुट्ने अवस्थामा पुगे आफुले विष पिएर भए पनि पार्टी जोगाउने बाचा गरे । विशेष महाधिवेशनपक्ष र थापा र शर्माको पर्दापछि कांग्रेसलाई टुक्रा पार्ने रणनीतिकासाथ जेनजी अभियान्ता र वैकल्पिक मानिएका शक्तिहरुसमेत रहेको चर्चा हुँदै आएको छ ।

केन्द्रीय कार्यालयले स्पष्ट शब्दमा चेतावनी दिँदै भनेको छ— व्यक्तिगत रूपमा आह्वान गरिएका कुनै पनि महाधिवेशन वा गतिविधि पार्टी विधान विपरीत हुनेछन् र त्यस्ता गतिविधिमा संलग्न नहुन सबै तहका नेता–कार्यकर्तालाई आग्रह गरिएको छ। यो चेतावनी सामान्य अपिलभन्दा बढी, संभावित अनुशासनात्मक संकेतका रूपमा पनि हेरिएको छ।

गगन–विश्वको विशेष महाधिवेशन आह्वानले कांग्रेसभित्र सुधार र परिवर्तनको बहसभन्दा बढी संस्थागत अधिकार, नेतृत्वको वैधता र विधानको अन्तिम व्याख्या कसले गर्ने भन्ने प्रश्नलाई केन्द्रीय बनाएको छ। यो बहसले पार्टीलाई नयाँ ऊर्जा दिने कि थप विभाजनतर्फ धकेल्ने— त्यसको उत्तर अब केवल महाधिवेशनको मितिले होइन, कांग्रेसले विधि र संस्थालाई कसरी परिभाषित गर्छ भन्ने कुराले दिनेछ।

गगन-विश्वले गरे कांग्रेस विशेष महाधिवेशन आह्वान

पार्टी विधान विपरीत गतिविधिमा संलग्न नहुन सदस्यहरुलाई कांग्रेसको चेतावनी

कांग्रेस संस्थापन पक्ष निर्वाचनपछि मात्र महाधिवेशन गर्ने अडानमा,विशेष महाधिवशेन पक्षधरकाे पुस अन्तिम साता महाधिवेशन !

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *